काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा देशभर १०० वटा खाद्यन्न भण्डारणको लागि गोदाम घर निर्माण गर्ने भएको छ । देशभर उत्पादन हुने खाद्य वस्तु भण्डारणका लागि ‘खाद्य गोदाम घर’ निमार्णको लक्ष्य लिएको हो ।
उक्त संरचना निमार्ण गर्न ४५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । भण्डारण गोदाम बनाउनका लागि स्थान छनोट प्रक्रिया भइरहेको कृषि तथा पशुपन्छि विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार हालसम्म १६ स्थान छनोट भइसकेका छन् । सो गोदाम सहकारी मोडलमा निमार्ण गरीने मन्त्रालयका प्रवक्ता प्रकाशकुमार संजेल बताउँछन् ।
उनका अनुसार सरकारले संघ÷संस्था र कम्पनीहरुसँग मिलेर गोदाम निर्माण गर्ने भएको हो ।
यसरी निर्माण गर्दा सरकारले लागतको ५० प्रतिशत अनुदान दिन्छ भने ५० प्रतिशत लगानी सम्बन्धीत संस्थाले गर्नुपर्ने हुन्छ । ‘गोदाम निर्माणका लागि स्थान छनोटको काम भइरहेको छ, १६ वटा छनोट भइसके, बाँकी क्रमश छनोट हुँदै जानेछ, सँगसँगै निर्माण पनि सुरु गर्नेछौँ,’ संजेलले चाणक्य पोष्टसँग भने ।
कहाँ बन्दै छन ठूला गोदाम घर ?
सरकारले ठूला साना गरी हाल १६ स्थानमा गोदाम घरका लागि स्थान छनोट गरेको जनाएको छ । सुरुमा बारा, झापा, रौतहट, नुवाकोट लगायतका विभिन्न स्थानमा गोदामघर बनाउने तयारीका साथ कृषि मन्त्रालयले प्रकृया अघि बढाएको प्रबक्ता संजेलले बताए ।
बाराको सिम्रौनगढमा २ हजार मेट्रिकटन भण्डारण क्षमताको खाद्य गोदाम घर बन्दै छ । ५ करोड ३१ लाख ९३ हजार लागत अनुमान गरिएको यस गोदामका २ करोड ६५ लाख ९६ हजार रुपैयाँ सरकारले र बाँकी रकम निर्माण संस्था आफैले बेहोर्ने छ ।
यस्तै रौतहटको चन्द्रपुरमा ५ हजार मेट्रिकटन भण्डारण क्षमता भएको खाद्य गोदाम घर निर्माण गरिने भएको छ । कुल ५ करोड ८६ लाख १२ हजार रुपैयाँ लागत अनुमान गरिएको यस गोदाम ५० प्रतिशत निर्माण कम्पनीले बेर्होदा २ करोड ९३ लाख ६ हजार रुपैयाँ लागत पर्छ ।
रौतहटको समनपुरमा ३ हजार मेट्रिकटन क्षमता भएका खाद्य गोदाम घर बनाउने तयारी रहेको छ । उक्त गोदाम ७ करोड ८५ लाख ६ हजार रुपैयाँ लगानी अनुमान गरिएको छ । उक्त निर्माणका लागि ५० प्रतिशत अनुदान बाहेक निर्माण कम्पनीले ३ करोड ९२ लाख ५३ हजार रुपैयाँ लगानी गर्नुपर्ने हुन्छ ।
रौतहटको चन्द्रपुरमा १ हजार मेट्रिकटन क्षमता भएको गोदाम घर १ करोड रुपैयाँ लागतमा निर्माण गर्ने तयारी भएको छ । नुवाकोटको लिखु गाउपालिकामा १ हजार मेट्रिकटन क्षमता भएको खाद्य गोदाम २ करोड ६५ लाख ९६ हजार रुपैयाँ लागतमा बन्ने अनुमान गरिएको छ ।
यस्तै, झापाको गौरादहमा २ हजार २०० मेट्रिक, अर्जुनधारामा थ्रेसिङफ्लोर भवनमा ५ हजार मेट्रिकटन क्षमताको भण्डारण बनाउन लागिएको छ । झापाकै मेचीनगरमा १ हजार मेट्रिकटन क्षमताको खाद्य गोदाम घर २ करोड ३६ लाख रुपैयाँ लगानीमा बनाउन लागिएको हो ।
साना गोदाम घर
सरकारले देशका ८ स्थानमा साना गोदामघर बनाउनका लागि स्थान छनोट गरेको छ । उक्त स्थानहरुमा १०० मेट्रिकटनदेखि ५०० मेट्रिकटन क्षमताका गोदाम घर बनाउने तयारी भएको हो ।
सप्तरीको कल्याणपुरमा ४०० मेट्रिकटन क्षमताको गोदाम निर्माण गर्न १ करोड ३३ लाख २ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यो खाद्य गोदाम निर्माणका लागि निर्माण व्यवसायीले ६६ लाख ५१ हजार रुपैयाँ लगानी गर्नेछन् ।
कपिलवस्तुको मायादेवी गाउँपालीकामा १०० मेट्रिकटनको खाद्य गोदाम घर बनाइने भएको छ । उक्त गोदाम निर्माणका लागि ४० लाख रुपैयाँ लागत अनुमान गरिएको छ ।
सर्लाहीको बरहथनामा खाद्य गोदाम घर बनाउनका लागि ८३ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । स्याङजामा २०० मेट्रिकटन क्षमता भएको गोदाम बनाउन १ करोड ४७ लाख रुपैयाँ विनियोजन गरेको छ ।
त्यस्तै बर्दियाको जयनगरमा एक करोड लागतमा १०० मेट्रिकट क्षमताको खाद्य गोदाम बनाइने भएको छ । चितवनको खैरेनीमा २१० मेट्रिकटन क्षमताको खाद्य गोदाम निर्माणका लागि १ करोड ११ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
यस्तै सरकारले रौतहटमा साना किसान कृषि सहकारी संस्थासँग सहकार्य गरेर चन्द्रपुरमा ३४० मेट्रिकटन खाद्य गोदाम घर सञ्चालन गर्ने भएको छ ।
उक्त गोदामघरका लागि १ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
रौतहटकै जुडिबेलामा १०० मेट्रिकटन क्षमताको खाद्य गोदाम घर निर्माण गरिने भएको छ । उक्त गोदाम निर्माणका लागि ९० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।