विकास खर्च एक दशक यताकै कम, ५० प्रतिशत पुग्न मुस्कील

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा ५० प्रतिशत पनि पूँजीगत खर्च गर्न नसक्ने भएको छ । विना अध्ययन आयोजनाको छनोट,असक्षम संरचना र खर्च प्रणालीले विगतकै प्रवृत्ति दोहोरीने भएको हो ।

 

अर्थमन्त्री जनार्दन शर्माले हरेक महिना १० प्रतिशत पूँजीगत बजेट खर्च गर्ने बताउँदै आएपनि आर्थिक वर्षको अन्त्यसम्म ४० प्रतिशत पनि हुनसकेको छैन् ।

 

ठेकेदारहरुले निमार्ण होलिडे मनाएर संरचना निमार्णको काम केही समय ठप्प राखे भने बजेट होलीडे इतिहासमा पहिलो पटक यसै वर्ष भयो । जसको कारण चालु आवमा पछिल्लो एक दशक यताकै सबैभन्दा कम विकास खर्च हुने देखिन्छ ।

 

चालु खर्च र वित्तीय व्यवस्थापन बजेटको तुलनामा विकास खर्च न्यून छ्ट्याइने र त्यसमा पनि आधा मात्र खर्च गर्ने सरकारी प्रवृत्तिले विकासका आयोजनाहरुको लागत मात्र बढाएको छैन समय पनि बर्बाद गरेको कयौं उदाहरणहरु छन् ।

 

संवैधानिक त्रुटी भनेर विगतमा झारा टार्ने गरिएपनि संविधान बने यता विकास खर्च गर्ने अवस्था झनै झांगिएको छ । विकासको जग मानिने पूर्वाधार आयोजनाका लागि विनियोजन गरेको बजेट खर्च गर्न नसक्दा नागरिकले सास्ती त भोगेका छन नै विकासको आकांक्षा मृगतृष्णा बनेको छ ।

 

चालु वर्षको अन्तिम महिनासम्म सरकारले १ खर्ब ४६ अर्ब ३८ करोड रुपैयाँ मात्र कुल विकास खर्च गरेको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार सोमबारसम्म ३८.७२ प्रतिशत बजेट खर्च गरेको हो ।

 

सरकारले चालु वर्षमा ३ खर्ब ७८ अर्ब रुपैयाँ विनियोजन गरेको थियो । यस अवधिमा वित्तीय व्यवस्थापन खर्च ४८.२४ प्र्रतिशत भएको छ भने चालु खर्च ७९.७२ प्रतिशत भएको छ ।

 

सरकारले खर्च गर्न नसकिने भएपछि बजेटको आकार बारम्बार घटाएको थियो । आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्य मार्फत यस अवधिमा १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात ८८.६ प्रतिशत खर्च हुने संशोधित अनुमान गरेको छ ।

 

दैनिक अर्ब बढी खर्च हुँदै

 

सरकारले असार लागेसँगै बजेट खर्चमा पनि तिव्रता दिएको छ । हाल दैनिक १ अर्ब १० करोड रुपैयाँ बराबर रकम खर्च भइरहेको महालेखा नियन्त्रकको तथ्यांक छ ।

 

आर्थिक वर्षको सुरुमा योजना छनोट, खरिद प्रक्रियामा अल्झाइन्छ भने असारमा आएर बजेट खोलामा बगाइन्छ । जसले पूर्वाधारमा रुपान्त्रण ल्याउने ठूलो रकम प्रतिफल शून्य मात्र बनेको छैन खेर पनि गइरहेको छ ।

 

असारे भेलसँगै बजेट खर्च गर्ने सरकारी संयन्त्रको काम हालसम्म निरन्तर छ । लागत सुनिश्चिता विना राजनीतिक लिगेसीको भरमा योजना छनोट गर्दा विकास खर्च हुन नसकेको र भएपनि आयोजना दिगो नहुने अर्थविज्ञहरु बताउँछन् ।

 

सार्वजनिक खरिद नियमावलीमा भएको त्रुटी, सरकारी संयन्त्रहरुको संरचना र विकासको प्रवृत्तिले यस्तो समस्या आइरहेको उनीहरुको भनाइ छ । समयमै पूँजीगत खर्च गर्न नसक्नु भनेको आयोजनाको निमार्णमा ढिलाइ भइरहेको छ भन्ने हो,जसले योजनाको लागतमा व्यापक वृद्धि र विकासमा समय खेर जाने गरेको छ ।

 

पहिलो तीन महिनामा १० प्रतिशत खर्च गर्न नसकिरहेको अवस्थामा हाल दिनकै अर्ब रुपैयाँ निकासा भइरहेको छ । यस वर्षको बजेट असार मसान्तभित्र सक्नुपर्छ भन्ने सरकारी मान्यताका कारण आयोजनाहरुले अन्तिममा आएर तिव्रता पाउँछन् ।

 

यद्यपी, कतिपय यसअघि निमार्ण सम्पन्न भएका आयोजनाहरुको बाँकी रकम भुक्तानी अन्तिममा हुने भएकाले खर्चको रफ्तार धेरै देखिने गरेको छ ।

 

लक्ष्य भेट्टाउन दैनिक १२ अर्ब बढी खर्च गर्नुपर्ने

 

चालु आवको अब १९ दिन मात्र बाँकी छ । यस अवधिमा पूँजीगत खर्च गर्न बाँकी रकम भने २ खर्ब ३१ अर्ब ७१ करोड रुपैयाँ छ । सरकारले लिएको लक्ष्य भेट्टाउन अब दैनिक १२ अर्ब १९ करोड रुपैयाँ खर्चको आवश्यकता पर्छ ।

 

यद्यपी, अर्थमन्त्रालयमा अधिकारी र मन्त्रीले नै विकास खर्चको लक्ष्य भेटाउन नसकिने स्विकार गरिसकेका छन् । सुरआती अवस्थामा विकास खर्च गर्ने चर्का भाषण गरेपनि वास्तविकता भने निकै फरक देखिएको छ ।

 

एक दशकको अवधिमा पहिलो पटक ५० प्रतिशत खर्च हुन पनि मुस्कील देखिएको छ । हरेक आव सुरुहुन डेढ महिनाअघि संसदमा बजेट प्रस्तुत गुर्नुपर्ने संवैधानिक व्यवस्था गरिएको थियो ।

 

तर, त्यो व्यवस्था पनि प्रभावकारी नभएको त्यस यताका आर्थिक वर्षहरुमा भइरहेको विकास खर्चको अवस्थाले देखाउँछ । पछिल्लो एक दशकका कुनै पनि आवमा सतप्रतिशत पूँजीगत खर्च हुनसकेको छैन् ।

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक Read Previous

१५ अर्बको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

खाद्यन्न भण्डारण गर्ने १०० गोदाम बन्दै, यी हुन् छनोट भएका स्थान Read Next

खाद्यन्न भण्डारण गर्ने १०० गोदाम बन्दै, यी हुन् छनोट भएका स्थान