अर्थतन्त्रको संरचनाः बजेटभन्दा ठूलो व्यापार घाटा

काठमाडौं । चालु आर्थिक वर्षको सुरुदेखि ओरालो लागेका अर्थतन्त्रका सूचकहरु वर्षको अन्त्यसम्म सकारात्मक बन्न सकेका छैनन् । कोभिड महामारी मत्थरपछि आयात वृद्धि र अन्तर्राष्ट्रिय प्रभावका कारण अर्थतन्त्रमा सुधार आउन नसकेको हो ।

 

बढ्दो व्यापार घाटा र घट्दो विनिमय संचितिको दबाबमा रहेको अर्थतन्त्रमा आर्थिक वृद्धिमा सुस्तता आएको छ नै मूलुकको बजेटलाई पनि असन्तुलित व्यापारले उछिन्ने देखिएको छ ।

 

सरकारले सार्वजनिक गर्ने मूलुकको एक वर्षको आय÷व्ययको तुलनामा व्यापार घाटाको आकार ठूलो हुने भएको हो । चालु आवको लागि तत्कालीन अर्थमन्त्री विष्णु पैडेलले अध्यादेश मार्फत १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँ बजेट विनियोजन गरेका थिए ।

 

सरकार परिवर्तनसँगै प्रतिस्थापन विध्येक मार्फत अर्थमन्त्री जनार्दन शर्माले १४ अर्ब ७४ करोड रुपैयाँले बजेटको आकार घटाएर १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँ विनियोजन गरेका थिए ।

 

उक्त लक्ष्य हासिल नहुनेभएपछि अर्धवार्षिक समिक्षा मार्फत मन्त्री शर्माले फेरि बजेटको आकार घटाए । उक्त समीक्षा मार्फत चालु आर्थिक वर्ष २०७८÷७९को बजेटको आकार ८६ अर्ब ५५ करोड घटाएर १५ खर्ब ४६ अर्ब २८ करोड रुपैयाँमा सिमित राखिएको थियो ।

 

उक्त रकम पनि खर्च गर्न नसकिने देखिएपछि सरकारले आर्थिक वर्ष २०७९÷८० को बजेट वक्तव्य मार्फत १४ खर्ब ४७ अर्ब ५१ करोड अर्थात ८८.६ प्रतिशत खर्च हुने संशोधित अनुमान गरेको छ ।

 

अहिले सरकारले खर्च गर्न सकिने अनुमान गरेको बजेटलाई आधार मान्ने हो भने नेपालको व्यापार घाटाको आकार त्यो भन्दा १ अर्ब बढी पुगिसकेको छ । चालु आव सकिन अझै एक महिना बाँकी छ । यस अवधिमा अझै थप एकदेखि डेढखर्ब व्यापार घाटा बढ्ने आकलन गरिएको छ ।

 

११ महिनामा नेपालको व्यापार घाटा १५ खर्ब ७७ अर्ब ३८ करोड रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांक छ । गत वर्षको तुलनामा २५ प्रतिशतले व्यापार घाटा बढेको छ । समिक्षा अवधिमा नेपालको व्यापार घाटा १२ खर्ब ६२ अर्ब रुपैयाँ पुगेको थियो ।

 

वस्तु आयातको तुलनामा नगन्य निर्यातले अर्थतन्त्रको बाह्य क्षेत्रको स्थायीत्वमा दबाब परेको नेपाल राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् । जसको कारण विदेशी विनिमय संचितिमा थपिएको चुनौती हालसम्म कायम रहेको छ ।

 

जेठ मसान्तसम्म कुल वैदेशिक व्यापार १७ खर्ब ७३ अर्ब रुपैयाँ मध्ये १ खर्ब ८५ अर्ब रुपैयाँ बराबरको मात्र वस्तु निर्यात गरिएको छ । भुक्तानी सन्तुलनको दबाब कम गर्न सरकारले आयातमा कडाइ गरेपनि बढ्दो व्यापार घाटा र परनिर्भरताको बिच त्यो निश्प्रभावी भएको छ ।

 

राष्ट्र्र बैंकका अनुसार चालु वर्षको वैशाख मसान्तसम्म चालु खाता ५४७ अर्ब ३६ करोडले घाटामा रहेको छ भने शोधनान्तर स्थिति २८८ अर्ब ५० करोडले घाटामा छ । अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति ७ अर्ब ७५ करोडले बचतमा रहेको थियो ।

 

वैशाख मसान्तमा विनिमय संचिति ९ अर्ब २८ करोड रुपैयाँ छ । जसले ७.३४ महिनाको वस्तु र ६.५७ महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने राष्ट्र्र बैंकको दाबी छ ।

 

अर्थतन्त्रमा कस्तो असर ?

 

वस्तुहरुको उपभोग बढेअनुसार स्वदेशी उत्पादन गर्न नसक्दा अन्य देशहरुबाट आयात गरेर आपूर्ति गर्ने गरिन्छ । जसले स्वदेशमा भएको मूद्रा मात्र बाहिरीरहेको छैन रोजगारीका लागि श्रम शक्ति पनि विदेशी रहेको छ ।

 

यसले  आन्तरीक उत्पादन कमजोर बनाएर परनिर्भरता त बढाएको छ नै विकासका पूर्वाधारहरुमा खर्च गर्नुपर्ने रकम उपभोगमै गएको छ । जसले प्रतिव्यक्ति आय र आर्थिक वृद्धिमा संकूचन ल्याउने विज्ञहरु बताउँछन् ।

 

पूँजीगत खर्च कुल बजेटको एकतिहाइ पनि मुस्कीलले विनियोजन गर्ने र त्यसमा पनि ८० प्रतिशतभन्दा बढी खर्च गर्न नसक्ने संरचना भएको अर्थतन्त्रमा परनिर्भरताले झनै समस्या ल्याउने देखिन्छ ।

 

महालेखा नियन्त्रकको कार्यालयका अनुसार चालु आवको आइतबारसम्म विकास खर्च ३८.४२ प्रतिशत मात्र भएको छ । यस वर्ष उक्त विनियोजित रकम ५० प्रतिशतसमेत नपुग्ने भएको छ ।

 

उत्पादनमूलक क्षेत्रमा लगानी गरेर रोजगारी सिर्जना गर्नुका साथै आर्थिक वृद्धिमा खर्च हुनुपर्ने रकम वस्तु आयात र उपभोगमै लगाएपछि समग्र वित्तीय प्रणालीमै समस्या आइरहेको छ ।

 

बजेटको तुलनामा व्यापार घाटा

 

आयातमूखी अर्थसंरचनाका कारण नेपालको बजेट भन्दा व्यापार घाटा बढी हुने गरेको विगतका तथ्यांकहरुले पनि देखाउँछ । लामो समयदेखिको व्यापार असन्तुलनले अर्थतन्त्र खल्बल्याएको छ भने रेमिट्यान्स र दातृनिकायको मूख हेर्नुपर्ने बाध्यता बढाएको छ ।

 

पछिल्लो एक दशककै तथ्यांक हेर्ने हो भने पनि नेपालको व्यापार घाटा र बजेटको ग्राफसंगै अघि बढेको पाइन्छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७३÷७४ मा नेपालको कुल व्यापार घाटा ९ खर्ब १७ अर्ब पुगेको थियो भने बजेटको आकार १० खर्ब ४८ अर्ब रुपैयाँ थियो ।

 

आव २०७४÷७५ मा ११ खर्ब ६३ अर्ब रुपैयाँ वार्षिक व्यापार घाटा हुँदा १२ खर्ब ७८ अर्ब रुपैयाँ आय व्ययको अनुमान थियो । यसैगरी, २०७५÷७६ मा बजेटको आकारभन्दा बढी व्यापार घाटा भएको तथ्यांक छ ।

 

त्यस अवधिमा १३ खर्ब २१ अर्ब रुपैयाँ बराबरको व्यापार घाटा नेपालले भागेको थियो भने बजेटको आकार १३ खर्ब १५ अर्ब थियो ।
आव २०७६÷७७ मा १० खर्ब ९९ अर्ब व्यापार घाटा पुगेको थियो भने १५ खर्ब ३२ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको थियो ।

नेप्सेमा उछाल, २० भन्दाबढी कम्पनीको मूल्यमा सकारात्मक सर्किट Read Previous

नेप्सेमा उछाल, २० भन्दाबढी कम्पनीको मूल्यमा सकारात्मक सर्किट

पर्यटकीय सवारी साधनका लागि बसपार्क नहुँदा सडकमै पार्किङ Read Next

पर्यटकीय सवारी साधनका लागि बसपार्क नहुँदा सडकमै पार्किङ