पुरानो शैलीमा घर निर्माण गर्नेलाई ३५ प्रतिशत अनुदान दिदै भक्तपुर नगरपालीका

भक्तपुर । भक्तपुर नगरपालीकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । नगर प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बाह्रौं नगरसभाको बैठकमा उपप्रमुख रजनी जोशीले २०७९/८० को अनुमानित आय-व्यय बजेट प्रस्तुत गरेकी हुन् ।

 

भक्तपुर नगरपालिकाले आ.व. २०७९/८० का लागि २ अर्ब १८ करोड ४२ लाख ४२ हजार को बजेट प्रस्तुत गरेको हो । बजेटमा पुरानो नगर क्षेत्रमा परम्परागत शैलीमा घर निर्माण गर्ने घरधनीहरूलाई मोहडाका लागि इँटा, काठ र झिंगटीमा लाग्ने कुल लागत रकमको ३५ प्रतिशत अनुदान दिन ५० लाख रुपैयाँ विनियोजन गरिएको छ । साथै, ख्वप टेलिभिजन संचालनकोे लागि १ करोड रुपैयाँ बजेट छुट्टाइएको छ ।

 

ख्वपः अस्पताल भवन यसै आर्थिक वर्षमा निर्माणको काम पूरा गरी सुविधा सम्पन्न ‘जनताको अस्पताल’ संचालन गर्न ८ करोड रुपैयाँ विनियोजन गरेको छ । देको–मिवा–इतापाके जग्गा एकीकरण आयोजना समयमै सम्पन्न गर्न २० करोड रुपैयाँ, अँचा पोखरी परिसरमा आदर निकेतन संचालन गर्न ५० लाख रुपैयाँ, शहीद स्मृति खेल मैदानमा कभर्ड हल निर्माणको लागि १ करोड रुपैयाँ, महेश्वरी खेलमैदानको लागि १ करोड रुपैयाँ, बेखाल कभर्ड हल निर्माण सम्पन्न गर्न ३ करोड रुपैयाँ र खेलकुद पूर्वाधार, प्रशिक्षण तथा प्रतियोगिता सञ्चालन गर्न ६ करोड १ लाख रुपैयाँ विनियोजन गरेको छ ।

 

यस्तै बाराही पुल यसै वर्ष सम्पन्न गर्ने गरी ३ करोड, नगरमा खानेपानी फिल्ट्रेसन, ट्यांकी निर्माण तथा खानेपानी पाइप सुधार कार्यका लागि लिवाली आवास योजना र कमल विनायक आवास योजनामा खानेपानी व्यवस्था गर्न ५० लाख रुपैयाँ, नगरबासीहरुलाई खानेपानी सुविधा उपलब्ध गराउन १ करोड २५ लाख र नगरपालिकाभित्र सञ्चालित सहकारी संस्थाहरुसँग सहकार्य गरी उत्पादनमूलक क्षेत्रमा लगानी गर्न र युवा उद्यमशील ऋण तर्फ १ करोड बजेट विनियोजन गरेको छ ।

 

क्यान्सर, मुटु, मृगौला, मस्तिष्कघात तथा मेरुदण्ड पक्षघात (स्पाइनल कर्ड इन्ज्युरी) जस्ता कडा तथा दीर्घरोग भएका नगरवासी विरामीहरूलाई प्रतिव्यक्ति रु. १५ हजारका दरले सहयोग गर्दै आएको कार्यक्रमलाई निरन्तरता दिन ४० लाख रुपैयाँ विनियोजन गरेको छ भने क्यान्सर, मृगौला रोगी र मेरुदण्ड पक्षघातका बिरामीहरुलाई मासिक ५ हजार रुपैयाँको दरले उपचार खर्च भत्ता व्यवस्थाको लागि ९० लाख विनियोजन गरेको छ ।

 

बजेट वक्तव्यमा लिवालीमा चिस्यान केन्द्र निर्माण गर्न १ करोड, वडा नं. ५ मा तरकारी बजार निर्माण सम्पन्न गर्न ४० लाख रुपैयाँ, थंथु दरबार पुनःनिर्माण, सांस्कृतिक संग्रहालय निर्माण, कोसेली घरलगायत वडा वडाका सम्पदाहरु पुनःनिर्माण र संरक्षणको लागि ६ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

 

चिकित्साशास्त्र, इन्जिनियरिङ, व्यवस्थापन, मानविकी, शिक्षाशास्त्र लगायतका विषयहरूमा उच्च शिक्षा अध्ययन गर्न चाहने र अध्ययरत नगरवासी विद्यार्थीहरूका लागि नगरपालिकाले विगत वर्षदेखि शैक्षिक ऋण वितरण गर्दै आएकोमा यो वर्ष ऋणको सीमा वृद्धि गर्देै २ करोड रुपैयाँ विनियोजन गरिएको छ । शिक्षाशास्त्र संकायमा उच्च शिक्षा अध्ययन गरी शिक्षक बन्न चाहने नगरवासीहरुको लागि विशेष व्यवस्था गरेको छ ।

 

पर्ती जग्गा संरक्षण तथा सिमांकन, पार्किङ, कृषि उत्पादन वृद्धि गर्न माटो परीक्षण तथा सम्भाव्यता अध्ययन कार्य लगायतका लागि ७० लाख रुपैयाँ विनियोजन गरेको छ भने नगरभित्रका सामुदायिक विद्यालयहरुमा बालविकास सहजकर्ता (ईसीडी) शिक्षकहरुको कार्य मूल्यांकन गरी थप पारिश्रमिकको बन्दोबस्त गरेको छ ।

 

विनियोजित बजेटमा शिक्षा तथा संस्कृति क्षेत्रमा कूल बजेटको १९.४३ प्रतिशत छ्ट्याएको छ । त्यस्तै स्वास्थ्य क्षेत्रमा ४.९५ प्रतिशत, सम्पदा संरक्षण तथा विकास निर्माणमा ४.१२ प्रतिशत, भौतिक पूर्वाधार निर्माणका लागि १८.०७ प्रतिशत, फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा ६.१८ प्रतिशत, महिला–बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा २३.६६ प्रतिशत, वित्तीयतर्फ २.११ प्रतिशत विनियोजन गरेको छ ।

 

त्यस्तै युवा तथा खेलकुद क्षेत्रमा ६ करोड १ लाख ९९ हजार रुपैया, कृषि औजार एवम् बीऊ विजनका लागि कृषि क्षेत्रमा २ करोड ७ लाख रुपैया र प्रशासनिक व्यवस्थापनको लागि रु. ३८ करोड ८६ लाख ६३ हजार विनियोजन गरिएको छ ।

राप्ती हाइड्रोको आइपीओ भर्ने आज अन्तिम दिन Read Previous

राप्ती हाइड्रोको आइपीओ भर्ने आज अन्तिम दिन

नेप्सेमा हरियाली, यी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट Read Next

नेप्सेमा हरियाली, यी कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट