काठमाडौं । विश्वमा देखिएको उर्जा संकटका बाबजुद नेपाल सरकारले पेट्रोल र डिजेलबाट अघिल्लो वर्षको तुलनामा २० अर्व रुपैयाँ बढीले राजश्व संकलन गरेको छ । अन्तर्राष्ट्रिय बजारमा चर्को मूल्यमा किनेर ल्याउँदा पनि करका दरमा परिवर्तन नगर्दा धेरै राजश्व संकलन भएको हो ।
भन्सार विन्दुमा संकलन हुने राजश्वमा अघिल्लो वर्ष पेट्रोलमा २५ अर्व ५० करोड रुपैयाँ संकलन भएकोमा यो वर्ष बढेर ३५ अर्व ५२ करोड रुपैयाँ राजश्व संकलन भएको छ । त्यसैगरी डिजेलमा अघिल्लो वर्ष ४७ अर्व राजश्व संकलन भएकोमा यो वर्ष बढेर ५७ अर्व रुपैयाँ पुगेको छ ।
चालु आर्थिक वर्षको ११ महिनामा आयल निगमले २ खर्ब ६७ अर्ब २९ करोड ९८ लाख रुपैयाँ बराबरको पेट्रोलीयम पदार्थ आयात गरेको छ । नेपालमा वार्षिक पेट्रोलियम पदार्थको खपत १० देखि १५ प्रतिशतले बढ्ने गरेको नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका अध्यक्ष लिलेन्द्रप्रसाद प्रधानले बताए ।
‘प्रत्येक वर्ष १० देखि १५ प्रतिशतले खपत बढ्ने गरेको छ, तर यो वर्ष धेरै बढेको छैन,’ उनले चाणक्य पोष्टसँग भने ।
चालु आवमा कुल ६२ अर्ब ९१ करोड ९८ लाख रुपैयाँ बराबरको पेट्रोल आयात भएको छ । उक्त रकममा ६ लाख ७८ हजार ६७२ लिटर पेट्रोल आयात भएको भन्सार विभागको तथ्यांकले देखाएको छ । उक्त पेट्रोल आयातका क्रममा ३५ अर्ब ५२ करोड ७४ लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।
यस्तै चालु आर्थिक बर्षको ११ महिनामा डिजेल १ खर्ब ४५ अर्ब २१ करोड ९३ लाख रुपैयाँ बराबरको आयात भएको छ । उक्त मूल्य बराबरको १६ लाख २ हजार ४०८ किलोलिटर डिजेल आयात भएको थियो । उक्त डिजेल आयातको क्रममा ५७ अर्ब ९० करोड ६० लाख रुपैयाँ राजश्व संकलन भएको थियो ।
अघिल्लो आर्थिक वर्ष २०७७/७८को ११ महिनामा नेपाल आयल निगमले २८ अर्व ८० करोड मूल्य बराबरको ५ लाख ३९ हजार ९२० किलोलिटर पेट्रोल आयात गरेको थियो । जुन चालु आवको तुलनमा १ लाख ३९ हजार किलोलिटर कम हो । आयात यूनिटमा १ लाख ३९ हजार किलोलिटर मात्रै भएपनि मूल्यको हिसाबले चालु आवमा ३२ अर्व रुपैयाँ धेरै गएको छ ।
अघिल्लो वर्ष १५ लाख ३० हजार १७७ किलोलिटर डिजेल आयात भएको थियो । जुन चालु आवको तुलनामा ७२ हजार किलोलिटर मात्रै बढी हो । चालु आवको ११ महिनामा १६ लाख २ हजार ४०८ किलोलिटर डिजेल आयात भएको छ । अघिल्लो वर्ष ७९ अर्व ४५ करोड मूल्य बराबरको डिजेल आयात भएकोमा यस वर्ष बढेर १ खर्ब ४५ अर्ब २१ करोड रुपैयाँ बाहिर गएको छ ।
सरकारको आम्दानी बढेको बढ्यै
सरकारले अघिल्लो वर्षको तुलनामा पेट्रोलमा १० अर्व र डिजेलमा पनि १० अर्व बढी राजस्व आम्दानी गरेको देखिन्छ । अन्तर्राष्ट्रि बजारमा बढ्दो मूल्यसँगै नेपालमा करमा कुनै किसिमको छुट घोषणा नहुँदा नागरिकले चर्को मूल्य वृद्धिको समना गरिरहनु परेको छ भने सरकार गरिब नागरिकबाट धेरै कर उठाएर दंग छ ।