लमजुङ र तनहुँ जोड्ने सडक दुई लेन बनाउने काम तीव्र

सांकेतिक तस्वीर

लमजुङ । डुम्रे–बेँसीसहर सडक दुई लेन बनाउने कार्य तीव्र रुपमा अगाडि बढिरहेको छ ।

 

लमजुङ र तनहुँ जिल्लालाई जोड्ने मुख्य सो सडकको नाली बनाउने, चौडाइ पुर्याउन कटिङ गर्ने, टेवा (पर्खाल) उठाउनेलगायतका गरी हालसम्म ३५ प्रतिशत निर्माण सम्पन्न भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी तथा इन्जिनियर पुरुषोत्तम अधिकारीले जानकारी दिए ।

 

तनहुँको डुम्रे बजारदेखि लमजुङतर्फ निर्माण हुने यस सडक अहिले डुम्रे बजार नजिकैबाट दुई लेनको बनाउन थालिएको छ । डुम्रे बजारबाट २२० मिटर अघिदेखि ८.३ किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बन्ने कार्य तीव्ररुपमा भइरहेको छ ।

 

राजमार्गको यस सडकको मापदण्ड दायाँबायाँ ‘राइटअफ वे’ सहित १५/१५ मिटरको हुने उक्त योजना कार्यालयका सूचना अधिकारीले बताए । उनका अनुसार १०/१० मिटरको लगतकट्टा भइसकेको छ  भने, अधिग्रहण गरेकोमध्ये चौडाइ ११ मिटरमा सडक संरचना बन्ने भएको छ । यसअघि ३.७५ मिटरको क्यारिज वे (भारवाहन सडक) रहेकोमा अब सात मिटरको हुने उक्त योजना कार्यालयले जनाएको छ ।

 

त्यस्तै, दायाँबायाँ एक/एक मिटरको ‘सोल्जर’ तथा एक/एक मिटरको नाली निर्माण हुने भएको छ । उक्त कार्यालयका सूचना अधिकारी अधिकारीका अनुसार ८.३ किलोमिटर सडक विसं २०८० कात्तिक २२ गतेसम्म सक्ने गरी आशिष अनेस्ट जेभीले अघिल्लो वैशाख २२ गते सम्झौता गरेको थियो ।

 

सडकमा ‘अस्फाल्ट’ किसिमको कालोपत्र हुने भएको छ । त्यस्तै, कालोपत्र सकिएपछि रोड फर्निचर (पेन्टिङ) गर्ने र किलोमिटर पोस्ट राखिने उक्त योजना कार्यालयले जनाएको छ । डुम्रे बेँसीसहर सडक ४२ किलोमिटरको दूरी रहेको छ । यस सडकको तनहुँ डुम्रेदेखि लमजुङकोे सिमाना पाउँदी बजारसम्म २४ किलोमिटरको रहेको छ ।

 

सडकका लागि भ्याट र पीएसबाहेक रु ७५ करोड ९४ लाख ९७ हजारको लागत अनुमान गरिएकोमा उक्त जेभीले रु ३८ करोड ९ लाख ८६ हजारमा ठेक्का सम्झौता गरेको छ । यस पहिलो चरणको निर्माण कार्य सम्पन्न भएलगत्तै सडकको अन्य कामसमेत अघि बढ्ने बताइएको छ । छिमेकी जिल्ला तनहुँको डुम्रे बजारबाट विसं २०२९ मा खन्न सुरु गरिएको यस सडक बेँसीसहरसम्मको ४२ किलोमिटरसम्म पुर्याउन करिब साढे एक दशक लागेको थियो ।

 

विसं २०४६ मा ट्याक खुलेसँगै विसंं २०५२ देखि सिङ्गल लेनको कालोपत्र थालिएको थियो । सुरु गरेको चार वर्षको अवधिमा ४२ किलोमिटर सडकको कालोपत्र सम्पन्न भएको थियो । डुम्रे बेँसीसहरको यस सडक हुँदै हिमाली जिल्ला मनाङका स्थानीयसमेत आवतजावत गर्ने गर्दछन् ।

 

यी सडक दुई लेन भइ कालोपत्र सम्पन्न भएपश्चात् तीन जिल्लाका स्थानीय प्रत्यक्ष लाभान्वित हुने भएका छन् । यस सडक कालोपत्रे भएदेखि आवश्यकताअनुसार समय समयमा मर्मतसम्हार हुन नसक्दा जीर्ण बन्दै गएको स्थानीयको गुनासो छ । दुई लेनको सडक भएमा सडक दुर्घटनासमेत कम हुने स्थानीयको अपेक्षा रहेको छ ।रासस

१५ अर्बको विकास ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक Read Previous

१५ अर्बको विकास ऋणपत्र विक्री गर्दै राष्ट्र बैंक

ह्वात्तै बढ्यो सार्वजनिक गाडी भाडा, कहाँको कति पुग्यो ? (भाडादरसहित) Read Next

ह्वात्तै बढ्यो सार्वजनिक गाडी भाडा, कहाँको कति पुग्यो ? (भाडादरसहित)