काठमाडौं । पछिल्लो समय सेयर बजारमा नयाँ कम्पनीहरू थपिनेक्रम जारी छ । कम्पनीहरूले थप पूँजी जुटाउन, पब्लिक कम्पनीहरूले सर्वसाधारणका लागि प्राथमिक साधारण सेयर (आइपीओ) निष्काशन गर्नैपर्ने प्रावधान लगायतले पूँजी बजारमा नयाँ कम्पनी थपिने क्रम बढ्दै गएको हो ।
अर्थतन्त्रको ऐना मानिने पूँजी बजारमा कम्पनीको संख्यासँगै सर्वसाधारणको सक्रियता पनि बढ्दो छ । विशेषगरी अनलाइन मार्फत कारोबार गर्न सकिने भएसँगै कोरोना महामारीपछि यस्तो संख्या निकै बढेको हो । हाल नेपालमा डिम्याट खाता खोल्नेहरूको संख्या ५० लाख नाघेको छ भने ४० लाख बढी सेयर प्रयोगकर्ताको संख्या पुगेको छ ।
हाल नेपालको सेयर मार्केटमा बैंक तथा वित्तीय संस्थाहरूको मात्र बाहुल्यता रहेको छ । अर्थतन्त्रको रियल सेक्टर मानिएका अनौपचारिक क्षेत्रहरू भने धितोपत्र बजार बाहिर छन् । यस्ता क्षेत्रहरूलाई सेयरको दायरामा ल्याउनका साथै सर्वसाधारणको सक्रियता बढाउन सरकारले विभिन्न नीतिगत सुधारहरू गर्ने प्रयास गरेको छ ।
सरकारले १५ जेठमा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट मार्फत वार्षिक ५ अर्ब बढीको कारोबार गर्ने, १ अर्ब रुपैयाँ बढी चुक्ता पूँजी भएको, प्राकृतिक स्रोतहरूको उपयोग गर्ने कम्पनी र राज्यबाट अनुदान, सहुलियत तथा कर छुट प्राप्त गर्ने पब्लिक लिमिटेड कम्पनीहरूले आइपीओ निष्काशन गर्नुपर्ने व्यवस्था गरेको छ ।
यी ४ शर्तमध्ये एउटा जुनसुकै शर्त पुगेका कम्म्पनीहरू अब पूँजीबजारमा आउनु पर्नेछ । यस्तो व्यवस्थाले अर्थतन्त्रको रियल सेक्टर पूँजी बजारको दायरामा आउने र सर्वसाधारणको सक्रियता बढ्ने अपेक्षा गरिएको छ ।
५ अर्ब बढीको आइपीओ पाइपलाइनमा
प्राथमिक निष्काशनका लागि नियामक धितोपत्र बोर्डमा विभिन्न कम्पनीहरूले आवेदन दिएका छन । बोर्डले आवेदन स्वीकृत गरेर अनुमति दिएपछि कम्पनीहरूले आइपीओ निष्काशन गर्छन ।
नेपाल धितोपत्र बोर्डका अनुसार हाल २५ कम्पनीको ५ अर्ब रुपैयाँ बढीको आइपीओ पाइपलाइनमा छ । ती कम्पनीले ५ अर्ब १६ करोड ३२ लाख ४५ हजार ४०० रुपैयाँ बराबरको ४ करोड ६३ लाख ७४ हजार ९५४ कित्ता सेयर निष्काशनका लागि बोर्डमा आवेदन दिएका हुन । आवेदन दिएका अधिकांश कम्पनीहरू हाइड्रोपावर क्षेत्रका छन ।
बोर्डमा आवेदन दिएका २५ मध्ये १६ कम्पनीको आइपीओ प्रक्रिया प्रारम्भिक समीक्षाको चरणमा रहेको बोर्डले जनाएको छ । यस्तै, ६ कम्पनीको बोर्डले समीक्षा गरेर टिप्पणी पठाएको छ भने ३ कम्पनी स्वीकृतिको अन्तिम चरणमा रहेका छन् ।
आइपीओ निष्काशनको पाइपलाइनमा रहेका कम्पनीमध्ये १३ वटा हाइड्रोपावर सेक्टर, बीमा र होटल २/२, माइक्रोफाइनान्स ५, इन्भेष्टमेन्ट १ र अन्यमा २ कम्पनी रहेको बोर्डले जनाएको छ ।
कुन कम्पनीले कत्तिको आइपीओ आउँदै ?
पहिलो चरणको अध्ययनमा रहेका १६ कम्पनी मध्ये रिलायबल लाइृफ इन्स्योरेन्स कम्पनीले ६० लाख कित्ता आइपीओ निष्काशन गर्न बोर्डमा प्रस्ताव गरेको छ । कम्पनीले ११२ रुपैयाँ प्रिमियम थपेर प्रतिकित्ता २१२ रुपैयाँमा कुल १ अर्ब ७ करोड रुपैयाँको आइपीओ जारी गर्ने भएको हो ।
कुथेली बुखारी सानो जलविद्युत् लिमिटेडले २ करोड ४३ लाख रुपैयाँ बराबरको २ लाख ४३ हजार कित्ता आइपीओ निष्काशन गर्न आवेदन दिएको छ ।
एसियन हाइड्रोपावर ११ करोड ८० लाख रुपैयाँ बराबरको ११ लाख ८० हजार कित्ता, मुक्तिनाथ कृषि कम्पनी ४ करोड बराबरको ४ लाख कित्ता, कालिन्चोक दर्शन लिमिटेड १२ करोड बराबरको १२ लाख कित्ता, बाराही हाइड्रोपावर पब्लिक लिमिटेड ७ करोडको ७ लाख कित्ता,आत्मनिर्भर लघुवित्त बित्तीय संस्था २ करोड रुपैयाँ बराबरको २ लाख कित्ता आइपीओ निष्काशन गर्ने भएको छ ।
त्यस्तै, ह्याथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले १४ करोड ६२ लाख बराबरको २९ लाख २५ कित्ता, सिटि होटल १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता, अभियान लघुवित्त वित्तीय संस्थाले ९ करोड ७५ लाख बराबरको ९ लाख ७५ हजार कित्ता,खप्तड लघुवित्त वित्तीय संस्थाले १ करोड ३२ लाख रुपैयाँ बराबर १ लाख ३२ हजार कित्ता, सृर्जनशिल लघुवित्त वित्तीय संस्था ३ करोड ९३ लाख बराबर ३ लाख ९३ हजार कित्ता आइपीओ जाररी गर्नेछन् ।
त्यसैगरी, पिपुल्स हाइड्रोपावर कम्पनीले ८० करोडको ८० लाख कित्ता, माया खोला हाइड्रोपावरले ३४ करोड बराबरको ३४ लाख कित्ता, भूगोल उर्जा विकास कम्पनीले १६ करोड ३२ लाखको १६ लाख ३२ हजार र मकर जितुमाया हाइड्रोपावरले २२ करोड ८० लाख रुपैयाँ बराबरको २२ लाख ८० हजार कित्ता आइपीओ जारी गर्न आवेदन दिएको बोर्डले जनाएको छ ।
त्यसैगरी, दिशा मिडिया नेटवर्कले २३ करोड ८५ लाखको २३ लाख ८५ हजार, आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ६० करोडको ६ लाख, मोलुङ हाइड्रोपावर कम्पनीले ३५ करोड ३१ लाखको ३५ लाख ३१ हजार,धौलागिरी लघुवत्त वित्तीय संस्थाले ३ करोड ३१ लाखको ३ लाख ३१ हजार कित्ता, थ्रिस्टा हाइड्रोपावरले १२ करोड ३१ लाखको १२ लाख ३१ हजार कित्ता, इष्टर्न हाइड्रोपावर कम्पनीले १२ करोड ४० लाखको १२ लाख ४० हजार कित्ता आइपीओ जारी गर्न गरेको प्रस्ताव बोर्डले रिभ्यू गरिरहेको छ ।
बोर्डका अनुसार सिक्लेस हाइड्रोपावर लिमिटेडले २० करोड रुपैयाँ बराबरको २ लाख कित्ता सेयर, सुपरमाई हाइड्रोपावरले १० करोडको १० लाख कित्ता र सान्जेन जलविद्युत् कम्पनी लिमिटेडले ३६ करोड ५० लाख रुपैयाँ बराबरको ३६ लाख ५० हजार कित्ता आइपीओ निष्काशनका लागि बोर्ड अनुमति दिने तयारीमा छ ।
