श्वेत गंगा हाइड्रोपावरको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको प्राथमिक साधरण सेयर (आइपीओ) भर्ने आज अन्तिम दिन रहेको छ ।

 

कम्पनीले जेठ २३ गतेदेखि आयोजना प्रभावित क्षेत्र रामेछाप र ओखलढुंगाका स्थानीयका लागि विक्रीमा ल्याएको आइपीओमा आवेदन दिने अन्तिम दिन हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँदरले १५ करोड ९३ लाख रुपैयाँ बराबरको १५ लाख ९३ हजार कित्ता सेयर विक्रीमा ल्याएको हो ।

 

निष्काशन भएको कुल सेयरमध्ये आयोजनाको संरचना रहेको रामेछापको (लिखु तामाकोशी गाउँपालिकाको वडा नं. २, ३ र ४) र ओखलढुंगा (लिखु गाउँपालिकाको वडा नं. ४, ५, ६, ७, ८ र ९) का बासिन्दाका लागि ७० प्रतिशत (११ लाख १५ हजार १०० कित्ता) सेयर छुट्याइएको छ ।

 

त्यसैगरी, आयोजनाको प्रसारणलाइन पर्ने रामेछापको लिखु तामाकोशी गाउँपालिकाको वडा नं. ५, ६ र ७ र मन्थली नगरपालिकाको वडा नं. ११, १२ र १३ र रामेछाप नगरपालिकाको वडा नं. १ र ३ का बासिन्दाका लागि २५ प्रतिशत (३ लाख ९८ हजार २५० कित्ता) र रामेछापको लिखु तामाकोशी गाउँपालिकाको वडा नं. १ र ओखलढुंगाको लिखु गाउँपालिकाको वडा नं. १, २ र ३ लाख ५ प्रतिशत (७९ हजार ६५० कित्ता) सेयर छुट्याइएको छ ।

 

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। कम्पनीको आइपीओमा सांग्रिला डेभलपमेन्ट बैंकको मन्थली शाखा, नेपाल एसबीआई बैंकको यसम शाखा र कम्पनीको आयोजनास्थलहरुबाट आवेदन दिन सकिनेछ। साथै, नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ।

 

कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘केयरएनपी डबल बी आइएस’ रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।

 

कम्पनीले रामेछापको लिखु तामाकोसी गाउँपालिका र ओखलढुङ्गाको लिखु गाउँपालिकाको सिमाना भएर बहने लिखु नदीमा २८.१ मेगावाट क्षमताको तल्लो लिखु जलविद्युत् आयोजना निर्माण गरिरहेको छ ।

पेट्रोलको भाउ एकैपटक २१ रुपैयाँ बढ्यो, लिटरको कति पुग्यो ? Read Previous

पेट्रोलको भाउ एकैपटक २१ रुपैयाँ बढ्यो, लिटरको कति पुग्यो ?

अब भीभीआइपी चढ्ने हेलिकप्टरमा अनिवार्य २ जना पाइलट हुनुपर्ने Read Next

अब भीभीआइपी चढ्ने हेलिकप्टरमा अनिवार्य २ जना पाइलट हुनुपर्ने