विकास बजेट सक्न अब दैनिक ८.८१ अर्ब खर्च गर्नुपर्ने

काठमाडौं । चालु आर्थिक वर्षमा विकास (पूँजीगत) बजेट आधा पनि खर्च नहुने देखिएको छ । सरकारको अक्षमता र निर्माण व्यवसायीको कन्स्ट्रक्शन होलिडेको कारण पूँजीगत बजेट खर्च एक दशक यताकै कम हुने देखिएको हो ।

 

चालु आर्थिक वर्ष सकिन अब २७ दिन मात्र बाँकी रहँदा आजसम्म कुल विनियोजित विकास बजेटको ३७.०७ प्रतिशत मात्रै खर्च भएको छ । सरकारले चालु आवमा कुल ३ खर्ब ७८ अर्ब ९ करोड ७७ लाख बराबरको पुँजीगत खर्च गर्ने लक्ष्य राखे पनि हालसम्म १ खर्ब ४० अर्ब १६ करोड ४५ लाख रुपैयाँ मात्रै खर्च भएको छ ।

 

यो विनियोजित बजेटको एकतिहाई मात्र हो । अहिलेसम्मको पूँजीगत खर्चको अवस्था हेर्दा चालु आवमा पछिल्लो एक दशक यताकै कम खर्च हुने देखिन्छ । पछिल्ले एक दशकमा औसतमा ६० प्रतिशतभन्दा बढी खर्च हुँदै आएकोमा यस वर्ष करिब ५० प्रतिशत अर्थात् आधा पनि नहुने देखिन्छ ।

 

अर्थमन्त्री जनार्दन शर्माले मासिक १० प्रतिशत बराबरको विकास बजेट खर्च गर्ने बताए पनि त्यो कागजमै सीमित भएको छ । सरकारको खर्च गर्ने क्षमताबिनै हचुवामा मासिक १० प्रतिशत पूँजीगत खर्च गर्ने अर्थमन्त्रीको घोषणा हावादारी भाषणमै सीमित भएको छ ।

 

सरकारको असक्षमताका साथै निर्माण व्यवसायीको अवसरवादी प्रवृत्तिले पूँजीगत खर्च हुनै नसकेको हो । निर्माणको सिजन चैत वैशाखमै निर्माण व्यवसायीले कन्स्ट्रक्शन होलिडे गर्दा विकास आयोजनाको काम ठप्प भएको थियो । जसकारण बजेट खर्चमा ठूलो असर परेको हो ।

 

लक्ष्य भेट्टाउन दैनिक पौने ९ अर्ब खर्च गर्नुपर्ने

 

चालु वर्षमा सरकारले राखेको लक्ष्य भेट्टाउने हो भने अब दैनिक झन्डै ९ अर्ब विकास खर्च गर्नुपर्नेछ । महालेखा नियन्त्रक कार्यालयका अनुसार हालसम्म १ खर्ब ४० अर्ब मात्र पूँजीगत खर्च भएको छ भने अझै २ खर्ब ३८ अर्ब खर्च गर्न बाँकी छ ।

 

चालु आव सकिन अब २७ दिन मात्र बाँकी रहेकाले लक्ष्य अनुसार पूँजीगत खर्च गर्ने हो भने अब दैनिक ८.८१ अर्ब रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । जुन असम्भव रहेको छ । यद्यपि, विगतका वर्षहमा जस्तै असारे विकासका नाममा बजेट बगाउने हो भने अब खर्चको गति थोरै बढ्ने देखिन्छ । तर, विनियोजित सबै बजेट खर्च गर्न भने सम्भव देखिँदैन ।

 

सरकारले विकास निर्माणको काममा हुने खर्च बढाउने र त्यसका लागि सबै उपाय अवलम्बन गर्ने भने पनि त्यसअनुसार हुन सकेको छैन ।

 

विकास बजेट खर्च गर्न नसकेको सरकारले चालु बजेट भने झन्डै लक्ष्य अनुसार नै गरेको छ । हालसम्म चालु खर्च ७७.२ प्रतिशत बराबर भएको छ । त्यो भनेको ८ खर्ब २२ अर्ब ४५ करोड ६५ लाख बराबर हो । सरकारले चालु आवमा चालुतर्फ कुल रु १० खर्ब ६५ अर्ब २९ करोड ३९ लाख बराबर खर्च गर्ने लक्ष्य राखेको थियो ।

सेयर बजारमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी Read Previous

सेयर बजारमा उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी

एनएमबी बैंकले ल्यायोे दुई नयाँ मुद्दती योजना, ७० महिनामै डब्बल हुने Read Next

एनएमबी बैंकले ल्यायोे दुई नयाँ मुद्दती योजना, ७० महिनामै डब्बल हुने