काठमाडौं । नारायणी नदी माथि चार लेनको ‘सिग्नेचर पुल’ बन्ने भएको छ । चितवन र नवलपरासीलाई जोड्ने यो पुलको निर्माण चाँडै सुरू गर्ने सडक विभागले जनाएको छ ।
नारायणीको अहिलेको ४० वर्ष पुरानो पुल जीर्ण बन्दै गएका कारण नयाँ पुल बनाउन ठेक्का खोल्ने तयारी गरिरहेको विभागले जनाएको छ ।
सडक विभागका महानिर्देशक अर्जुनजंग थापाले अहिले भएको पुल स्थानभन्दा केही तल पुल निर्माण गर्ने योजना रहेको बताए । उनले अहिले भएको स्थानमा वस्ती बढेको भन्दै नयाँ पुल डिजाइन एण्ड विल्डका आधारमा बनाइने बताए ।
पुलको कुल लम्बाइ ४०० मिटर र चौडाइ चार लेनको हुनेछ । यसको लागत भने अझै तय भइसकेको छैन । विसं २०३६ सालमा बनेको २ लेनको नारायणी पुलको दुवैतर्फ होचो रेलिङसहितको फुटपाथसमेत छ ।
करिब ४०२ मिटर लम्बाइको पक्की पुलको आयु करिब ७० वर्ष हुने प्राविधिकहरूले बताए पनि यसमा हुने ट्राफिक चाप र सवारीको ओजनलाई हेर्दा पुल जीर्ण बन्दै गएको देखिन्छ ।