काठमाडौं । मधेश सरकारले आगामी आर्थिक बर्ष २०७९/८० का लागि झन्डै ४७ अर्बको बजेट ल्याएको छ ।
बुधबार प्रदेश सभामा अर्थमन्त्री शैलेन्द्र साहले ४६ अर्ब ८८ करोड ९ लाख ४६ हजार रुपैयाँको बजेट प्रस्तुत गरेका हुन् ।
कुल बजेटमध्ये चालु खर्चतर्फ २१ अर्ब ७६ करोड ६७ लाख ९५ हजार, पूँजीगततर्फ २५ अर्ब ८२ करोड २० लाख ९५ हजार र वित्तीय व्यवस्थापनतर्फ १६ करोड २४ लाख ५६ हजार २०० रुपैयाँ विनियोजन गरिएको छ ।
सरकारले खर्च स्रोत जुटाउन राजस्वबाट ४ अर्ब १८ करोड ९३ लाख, कोषहरुमा रहेको संचित रकम ३८ करोड, राजस्व बाँडफँटबाट प्राप्त हुने ११ अर्ब ६१ करोड ५८ लाख, संघ सरकारबाट समानीकरण अनुदानबाट प्राप्त हुने ७ अर्ब ८१ करोड ५८ लाख प्राप्त हुने जनाइएको छ ।
त्यस्तै, चालु आर्थिक वर्षको मौज्दात ९ अर्ब ६६ करोड, विशेष अनुदान ४९ करोड, समपूरक अनुदान ७८ करोड, केन्द्र सरकारबाट प्राप्त हुने सशर्त अनुदान १० अर्ब ६ करोड, युनिसेफबाट ४ करोड ३३ लाख ४७ हजार प्राप्त हुने र नपुग १ अर्ब ८२ करोड आन्तरिक ऋण परिचालन गरिने बजेटमा उल्लेख छ ।