काठमाडौं । सडक विभागले चाडवाडलाई लक्षित गर्दै धमाधम सडक पिच गर्न शुरु गरेको छ । केहि दिन पानीले रोके पनि राष्ट्रिय राजमार्गमा पिच गर्ने काम अहिले तीव्र गतिमा भइरहेको छ । महेन्द्र राजमार्गको काकडभित्तादेखि कान्तिनगर, पृथ्वी राजमार्गको पोखरा, बुटवल र भैरहवा र सगरमाथा राजमार्गमा खाल्डो पुर्ने काम भइरहेको सडक विभागले जानकारी दिएको छ ।
राष्ट्रिय राजमार्गमा दशैंका लागि ३३ वटा डिभिजनबाटै काम भइरहेको छ । यो आर्थिक वर्षमा सडक विभागलाई ८ अर्ब बजेट विनियोजन गरिएको छ । त्यसको ७० प्रतिशत रकम राष्ट्रिय राजमार्गका सडक मर्मतमा प्रयोग गरिने छ ।
अन्य पटके मर्मत (खाल्डा पुर्ने), आवाधिक मर्मत र आपतकालीन मर्मत गरि ४ भागमा काम छुट्याएर विभागले गरिरहेको छ । यो आर्थिक वर्षभित्र ३ सय किलोमिटर सडक पिच गर्ने सडक विभागको लक्ष्य रहेको छ ।
आर्थिक वर्ष २०७५/७६ मा कुल ४३.७२ किलोमिटर सडक ग्राभेल गर्ने लक्ष्य लिएको थियो, जसमध्ये ३५.४५ किलोमिटर सडक ग्राभेल भएको विभागले जनाएको छ ।
६८.९१ प्रतिशत भौतिक प्रगती
यस्तै १४.७४ किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य राखेको थियो भने ६ प्रतिशत मात्र सडक कालोपत्रे भएको विभागको तथ्यांकले देखाएको छ ।
सडक विभाग र त्यस अन्तर्गत विभिन्न विभागका लागि १ अर्ब सशोधित बजेट छुट्याइएको थियो । त्यस मध्ये ७४ करोड ६१ लाख रुपैयाँ खर्च भएको विभागले जानकारी दिएको छ ।
गत आवमा ६८.९१ प्रतिशत भौतिक प्रगती भएको विभागको तथ्यांकले लेखाएको छ । आर्थिक प्रगतिमा ८०.७४ प्रतिशतको हाराहारीमा भएको विभागले जनाएको छ ।
यो आवभित्र पूर्व पश्चिम राजमार्गलाई डेडिकेटेड ४ लेनको सुरक्षित गतियुक्त सडकको रुपमा बुटवल–नारायणगढ खण्ड र कमला कञ्चनपुर खण्डको निर्माणलाई तीब्रता दिइने बजेट वक्तव्यमा उल्लेख छ । पूर्व पश्चिम राजमार्गका लागि १३ अर्ब ६३ करोड रुपैयाँ विनियोजीत गरिएको छ ।
निर्माणाधीन मध्यपहाडी पुष्पलाल रजामार्गको ४ सय ३५ किलोमिटर कालोपत्रे गर्नका लागि १२ अर्ब २० करोड रुपैयाँ विनियोजन गरिएको छ भने तराईका जिल्ला जोड्ने हुलाकी राजमार्गको ३ सय ५० किलोमिटर कालोपत्रेका लागि १३ अर्ब ६३ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
रसुवागढी–गल्छी–ठोरी मार्ग निर्माणलाइ तीव्रता दिनुका साथै मेची कोरिडोर, कोशी कोरिडोर, कालीगण्डकी कोरिडोर र कर्णाली कोरिडोरका लागि ५ अर्ब ६ करोड विनियोजन गरिएको छ । मदनराज भण्डारी राजमार्ग निर्माणका लागि ४ अबै ८२ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
पूर्व पश्चिम राजमार्गसँग सबै प्रदेशको राजधानी जोड्न सडक सम्भाव्यक्ता आधारमा चार लेनको बनाउन गरी कोहलपुर–सुर्खेत राजमार्ग र सिद्धार्थ राजमार्गलाई स्तरउन्नती गर्न २ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
काठमाडौं निजगढ द्रुत मार्ग निर्माण कार्यलाई तीब्रता दिन १५ अर्ब १ करोड रुपैयाँ विनियोजन गरिएको छ । गल्छी–त्रिशुली–बेत्रावती–मैलुंग सडकलाई २ लेनको स्तरमा स्तरउन्नती गर्न मैलुंग–स्याफ्रुवेशी सडक खण्डको कालोपत्रे गर्न १ अर्ब ५८ करोड रुपैयाँ छुट्याइएको छ । वि.पि. राजमार्ग सुधार तथा विस्तारका लागि ९६ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
तमोर–करीडोरलाई २ लेनमा स्तरउन्नती गरिने र सगरमाथा वृहत चक्रपथ र सिमिकोट–हिल्सा निर्माण एवं स्तरोन्नतीको कामलाई यही आवमा अघि बढाइने छ ।