जेठमा झन्डै १० हजार बढ्यो घरजग्गा कारोबार, यी ठाउँमा भए धेरै किनबेच

काठमाडौं । वैशाखको तुलनामा जेठमा घरजग्गा कारोबारमा वृद्धि भएको छ । बैंकिङ प्रणाली तरलता अभाव हुँदा बैंकहरुले ऋण नदिए पनि जेठमा वैशाखको तुलनामा झन्डै १० हजार बढी घरजग्गा किनबेच भएको हो ।

 

भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार जेठमा कुल ५४ हजार ५१४ घरजग्गा किनबेच (लिखत पारित) भएको छ । यो वैशाखकोभन्दा ९७११ ले बढी हो । वैशाखमा कुल ४४ हजार ८०३ घरजग्गा किनबेच भएको थियो ।

 

यस्तै, जेठमा, खितपारित, नामसारी, रोक्का, फुकुवा लगागत गरी कुल १ लाख २३ हजार घरजग्गा कारोबार भएको छ । चालु आर्थिक वर्षको ११ महिना (साउन–जेठ )सम्म आइपुग्दा ६ लाख ९८ हजार ९५ घरजग्गा किनबेच भएको छ भने १७ लाख कारोबार भएको छ ।

 

वैशखमा चालु वर्षकै सबैभन्दा कम घरजग्गा किनबेच भएको थियो । यद्यपि, तरलता अभावका बाबजुत फागुनमा चालु वर्षकै दोस्रो धेरै ७४ हजार ३६ घरजग्गा लिखत पारित भएको थियो ।

 

बैंकिङ प्रणालीमा भएको तरलता अभाव, घरजग्गाका प्रवाह हुने ऋणमा राष्ट्र बैंकको कडाइ, कित्ताकाटमा गरिएको कडाइ लगायत कारणले घरजग्गा कारोबार प्रभावित हुन पुगेको हो ।

 

सरकारले कृषियोग्य जमिनको वर्गीकरण गरेपछि मात्र कारोबार गर्न निर्देशन दिएपछि अहिले घरजग्गा कारोबार ठप्प भएको छ । २७ जेठमा भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मातहतका निकायहरुलाई स्थानीय भूउपयोग परिषदको सिफारीसमा मात्र कारोबार गर्न दिने निर्देशन दिएको छ ।

 

कुन महिनामा कति भए घरजग्गा किनबेच

 

चालु आवमा घरजग्गा कारोबारमा उतरचढाव देखिएको छ । चालु आवको साउन र भदौमा फस्टाएको घरजग्गा कारोबार असोज र कात्तिकमा सुस्ताएको थियो । फेरि मंसिर र पुसमा बढेको घरजग्गा कारोबार माघमा ओरालो लागेको थियो भने फागुनमा बढेर फेरि चैतमा घटेको विभागको तथ्यांकले देखाएको छ ।

 

साउनमा सबैभन्दा धेरै ७५ हजार ४१७ घरजग्गा किनबेच भएको थियो भने फागुनमा दोस्रो धेरै ७४ हजार ३६ घरजग्गा लिखत पारित भएको थियो ।त्यसैगरी, भदौमा ७० हजार ९०, असोजमा ५९ हजार २२७, कात्तिकमा ५० हजार ८३, मंसिरमा ६९ हजार ४१२, पुसमा ७० हजार १६८,  माघमा ५९ हजार ५१६, फागुनमा  ७४ हजार ३६  र चैतमा ७० हजार ८३० घरजग्गा खरिद विक्री भएको थियो ।

 

राजस्व संकलन घट्यो

 

घरजग्गा किनबेच बढे पनि जेठमा राजस्व संकलन भने घटेको छ । जेठमा चालु वर्षकै सबैभन्दा कम राजस्व संकलन भएका विभागको तथ्यांक छ । जेठमा घरजग्गा कारोबारबाट ४ अर्ब २४ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।

 

विभागका अनुसार वैशाखको तुलनामा जेठमा करिब ५० करोड रुपैयाँ राजस्व संकलन घटेको छ । वैशाखमा ४४ हजार घरजग्गा किनबेच हुँदा पौने ५ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो ।

 

जेठमा संकलन भएको कुल राजस्व मध्ये सेवा करबापत १७ करोड ८२ लाख ३६ हजार, बागमतीवापत १२ करोड ४७ लाख ५९ हजार, रजिष्ट्रेशन दस्तुरबाट २ अर्ब ५९ करोड ६७ लाख ८९ हजार, पूँजीगत लाभ करवापत ९३ करोड २५ लाख १३ हजार अन्य विभिन्न विधा संकलन भएको विभागले जनाएको छ ।

 

विभागले देशभरका मालपोत कार्यालयहरुबाट ३७ करोड ६१ लाख ८९ हजार रुपैयाँ छुट दिएको छ । चालु आवको ११ महिनामा घरजग्गा कारोबारबाट सरकारले कुल ६९ अर्ब ५५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।

 

जेठमा यी ठाउँमा भएर धेरै घरजग्गा किनबेच

 

अघिल्ला महिनाहरूमा जस्तै जेठमा पनि तराईका जिल्लाहरूमा नै धेरै घरजग्गा किनबेच भएका छन् । धेरै कारोबार हुने १० जिल्लामध्ये शीर्ष ७ तराईका जिल्लाहरूनै रहेको विभागको तथ्यांकले देखाएको छ ।

 

जेठमा देशभर कुल ५४ हजार ५१४ घरजग्गाको किनबेच भएकोमा सबैभन्दा धेरै सुनसरीको भूमि सुधार तथा मालपात कार्यालय इनरुवाबाट २ हजार ६४५ घरजग्गा किनबेच भएको विभागले जनाएको छ ।

 

त्यसैगरी, जेठमामा धेरै जग्गा किनबेच हुने मालपोत कार्यालयहरू क्रमशः मोरङको बेलबारीबाट २ हजार २७४, झापाको भद्रपुरबाट २ हजार १५५, जनकपुरबाट १ हजार ९७९, नेपालगञ्जबाट १ हजार ७७६, लगनखेलबाट १ हजार ४४५, भक्तपुरबाट १ हजार ३१५, तौलिहवाबट १ हजार २२९, राजविराजबाट १ हजार २२०, विराटनगरबाट १ हजार १८९ घरजग्गा किनबेच भएका छन् ।

 

त्यस्तै, जेठमा मालपोत कार्यालय पर्साबाट १ हजार १७३, चितवनबाट १ हजार १७०, तुलसीपुरबाट १ हजार १२०, दमकबाट १ हजार १०९, मकवानपुरबाट १ हजार ९७, कलैयाबाट १ हजार ७८, काभ्रेबाट १ हजार ४८ घरजग्गाको लितपारित भएको छ ,

 

एनसीसी बैंकको २६ लाख ३४ हजार कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ? Read Previous

एनसीसी बैंकको २६ लाख ३४ हजार कित्ता सेयर लिलामीमा, न्यूनतम मूल्य कति ?

त्रिभुवन विमानस्थल आज आधा घण्टा बन्द हुने Read Next

त्रिभुवन विमानस्थल आज आधा घण्टा बन्द हुने