रुस र चीन जोड्ने पुल संचालनमा, पश्चिमाको नाकाबन्दी खेपिरहेको रुसलाई राहत

काठमाडौं । रुस र चीनले सुदूर पूर्वी क्षेत्रमा पहिलो अन्तर सिमाना पुल सुचारु गरेका छन् । यसले दुई देशबिचको व्यापार बढ्ने र रुसले युक्रेनमाथि आक्रमण गरेपछि पश्चिमा देशहरूले उमाथि लगाएका प्रतिबन्धहरूबाट पुगेको क्षतिबाट बच्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

 

अमुर नदी (चिनियाँ भाषामा हेइलङजियाङ)मा बनेको दुई लेनको १ किलोमिटर लामो पुलले रुसी सहर ब्लागोभेस्चेन्स्क र चिनियाँ सहर हेईहेलाई जोड्छ । शुक्रबार उद्घाटन गरिएको उक्त पुल १९ बिलियन रुबल (३४.२ करोड डलर) लागतमा निर्माण गरिएको हो ।

 

रुसी समाचार संस्था आरआईएले जनाए अनुसार रुसी अधिकारीहरूले यो पुलले व्यापार बढाएर मस्को र बेइजिङलाई नजिक ल्याउने बताएका छन् । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आफ्नो फौज पठाउनु अघि फेब्रुअरीमा उनीहरूले ‘सीमाहीन’ साझेदारीको घोषणा गरेका थिए ।

 

चिनियाँ उपप्रधानमन्त्री हु चुन्वाले उद्घाटन समारोहमा चीनले रुससँग सबै क्षेत्रमा व्यावहारिक सहयोग प्रगाढ बनाउन चाहेको बताए । रुसका यातायातमन्त्री भिटाली साभेलिएभले पुलले द्विपक्षीय वार्षिक व्यापारलाई १० लाख टनभन्दा बढी सामान ढुवानी गर्न मद्दत गर्ने बताए ।

 

सन् २०१६ मा निर्माण सुरु गरी २०२० को मेमा सम्पन्न गरिएको सीमापार पुल कोभिड–१९ प्रतिबन्धका कारण ढिलो सञ्चालन गरिएको बताइएको छ । यस पुलले पश्चिमी रुससँगको दुरी १५०० किलोमिटर कम गर्ने निर्माण पक्षले बताएको छ । यो पुल पार गर्न सवारी साधनहरूले ८ हजार ७०० रुबल (१५० डलर) तिर्नुपर्छ ।

 

रुसले अप्रिलमा चीनसँग कारोबार बढ्ने र सन् २०२४ सम्म बेइजिङसँगको व्यापार २०० अर्ब डलर पुग्ने अपेक्षा गरेको थियो । चीन रुसी प्राकृतिक स्रोत र कृषि उत्पादनको प्रमुख खरिदकर्ता हो । चीनले युक्रेनमा रुसी कदमको निन्दा गर्न अस्वीकार गरेको छ र मस्कोमाथि पश्चिमी प्रतिबन्धको आलोचना गरेको छ । रोयटर्स

आँबुखैरेनी-मुग्लिन सडकमा अब राति पनि सवारीसाधन सञ्चालन गर्न पाइने Read Previous

आँबुखैरेनी-मुग्लिन सडकमा अब राति पनि सवारीसाधन सञ्चालन गर्न पाइने

इन्भेष्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का Read Next

इन्भेष्टमेन्ट र मेगा बैंकको सेयर कारोबार रोक्का