मुस्ताङ र डोल्पा जोड्ने सडक निर्माण तीव्र

म्याग्दी । गण्डकीको मुस्ताङ र कर्णाली प्रदेशको डोल्पा जोड्ने सडक निर्माणले तीव्रता पाएको छ ।

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मनाङ–मुस्ताङ–डोल्पा–जुम्ला सडक आयोजनाअन्तर्गत सडक डिभिजन कार्यालय बागलुङले मुस्ताङको बारागुङ मुक्तिक्षेत्र र डोल्पाको छार्का ताङसोङ गाउँपालिका जोड्ने सडक निर्माणलाई गति प्रदान गरेको हो ।

 

सडक डिभिजन कार्यालयका अनुसार मुस्ताङ र दुवैतर्फबाट क्रमागत योजनाको रुपमा पछिल्लो पाँच वर्षयता सडक निर्माण भइरहेको छ । डिभिजनका सवइञ्जिनियर टोपबहादुर थापाले चालु आर्थिक वर्ष २०७८/७९ मा पनि प्रतिस्पर्धाबाट छनोट भएको निर्माण कम्पनीले डोल्पा जोड्ने सडक निर्माण थालेका जानकारी दिए ।

 

‘एक्लेभट्टिदेखि मुस्ताङको अन्तिम मानवबस्ती साङ्ता हुँदै ४० किलोमिटर मार्ग खोलिसकेको छ,’ उनले भने, ‘यसपालि १ लाख ८७ हजार घनमिटर कटिङ र ३ हजार ५१० घनमिटर ग्याबियन पर्खाल लगाउने थालिएको छ ।’

 

विसं २०७८ चैत १७ गते रु ४ करोड ६४ लाख ८२ हजार २६७ मा जागृति–कुन्सालीङ जेभीसँग ठेक्का सम्झौता भएको थियो । विसं २०८० असोज २० गतेसम्म सम्झौताको म्याद छ । निर्माण कम्पनीका प्रतिनिधि जीवन रोकायाले भौगोलिक रुपमा विकट र दुर्गम तथा हिमपात हुने भएकाले यही बर्खायाममा सम्पन्न गर्ने लक्ष्यसहित तीव्रता दिएको बताए ।

 

दुई वटा एक्साभेटर (डोजर)ले अहिले सडकको मार्ग खन्ने काम गरिरहेका छन् । केही दिनमै ग्याबियन पर्खाल निर्माण गर्न थप मजदुर परिचालन गरिने प्रतिनिधि रोकायले बताए।

 

समुद्री सतहदेखि ४ हजार मिटरभन्दा बढीको उचाइमा सडक निर्माण भइरहेको छ । मुस्ताङतर्फबाट डोल्पाको सिमाना याकखर्कसम्म सडक पुर्याउन लागिएको हो । डोल्पातर्फबाट मुस्ताङको सिमाना नजिकसम्म सडक जोडिएको छ ।

 

११ मिटर फराकिलो सडक निर्माण गर्न लागिएको हो । यो सडकलाई आर्थिक वर्ष २०७६/७७ मा रु ११ करोड, २०७५/७६ मा रु चार करोड बजेट विनियोजन भएको थियो ।

 

मुस्ताङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले डोल्पा जोड्ने सडकले दुई प्रदेशको आन्तरिक व्यापार, पर्यटन विकास र स्थानीयवासीलाई आवतजावतमा सहज हुने बताए । हप्तौं लगाएर मुस्ताङ आउने उत्तरी डोल्पावासी एकै दिनमा आउन सक्नेछन् । घोडा, खच्चर, याक र चौरीमा बोकाएर सामान ढुवानी गर्नुपर्ने बाध्यता हट्ने जनाइएको छ । रासस

चरम आर्थिक संकट भोगिरहेको श्रीलंकाले रूससँग इन्धन किन्ने Read Previous

चरम आर्थिक संकट भोगिरहेको श्रीलंकाले रूससँग इन्धन किन्ने

दोबिल्ला-पामे सुरुङमार्ग अध्ययन गर्न स्वीकृति, ६० किमी सडक १० किमीमा छोटिने Read Next

दोबिल्ला-पामे सुरुङमार्ग अध्ययन गर्न स्वीकृति, ६० किमी सडक १० किमीमा छोटिने