कृषिमा रुपान्तरण गर्न सामूहिक प्रयास, ९ जनाको लगानीमा व्यवसायिक बाख्रापालन

काभ्रे । पछिल्लो समय कृषिसँग सम्बन्धित उद्मम तथा व्यवसायको विस्तारमा किसानको आकर्षण बढ्दो छ । व्यवसायिक पशुपालन गरेर आम्दानी र रोजगारी सृजना गर्नसकिने लक्ष्यकासाथ युवा उद्यमीहरू एकल र सामूहिक रुपमा कृषिमा होमिएका हुन् ।

 

यसका साथै कृषि क्षेत्रको उत्पादकत्व वृद्धि गर्न सरकारले पनि यस्ता समूहहरूलाई सहुलियत कर्जा र अनुदान दिँदै आएको छ । जसले केहीहदसम्म कृषि उत्पादनको परनिर्भरता घटाउने प्रयास गरिरहेको छ ।

 

यसरी सामूहिक पशुपालन तथा कृषि व्यवसायको सुरूआत गरीरहेका उद्ममी समूह तथा संस्थाहरू मध्ये चुरूङ्गे कृषि तथा पशुपंन्छी कृषक समूह पनि एक हो । काभ्रेपलाञ्चोकको नमोबुद्व नगरपालिका ६ स्थित चुरूङ्गेफेदीमा यस संस्थाले नेपाल लाइभस्टक सेक्टर इनोभेसन आयोजनाको अनुदानमा सामूहिक बाख्रा पालनको तयारी गरीरहेको छ ।

जसले स्थानीय स्तरमा रोजगारी सिर्जना गरेर व्यवसायी आम्दानी गर्ने उद्देश्य लिएको छ । ९ जना सदस्यको लगानी रहेको यस व्यवसायबाट महिला ५० र पुरुष ३० गरी कुल ८० जना लाभान्वित हुने समूहका अध्यक्ष बच्चुराम केसीले बताए ।

 

शुद्ध मासुका लागि बाख्रा पालनको व्यवसायिक सुरूआतको गरिएको केसीले जानकारी दिए । ‘ धेरै साथिहरूलाई व्यवसाय सम्बन्धि ज्ञान भएको र केही विभिन्न ठाउँबाट तालिम लिइरहेकाले सबै मिलेर बाख्रापालन गर्ने निर्णय गरियो,’ उनले भने, ‘सुरूमा १४ जना थियौं, पछि केहीले हामीसँग लगानी छैन भनेर गए । अहिले ९ जनाको लगानी छ ।’

 

१ करोड बढी लगानी

 

कुल १ करोड ५ लाख रूपैयाँ लागत रहेको यस आयोजनामा प्राविधिक परीक्षण गरेर आधुनिक तरीकाको बाख्रा खोर निर्माण गरीएको छ । हाल भौतिक संरचनाको काम ९५ प्रतिशत सम्पन्न भइसकेको समूहका अध्यक्ष बच्चुराम केसीले बताए ।

‘प्रोजेक्टको काम लगभग ९५ प्रतिशत निर्माण गरिसकेका छौं । प्रपोजलमा समावेश गरिएको संरचना निर्माणको लागि कुल ६५ लाख रूपैयाँ खर्चभइसकेको छ,’ उनले भने । करिब २०५ बाख्रा अट्ने क्षमताको खोरमा पहिलो चरणमा १५० बाख्रा राख्ने तयारी रहेको उनले बताए ।

 

उनका अनुसार बाख्रा खरिदको लागि स्पेसिफिकेसन बनाएर टेन्डर आह्वान गरिनेछ । मौसम अनुकूल भएकाले स्थानीय जातकै बाख्रा राखिने उनको भनाइ छ । पाठा र ब्याएका बाख्राहरू राख्न छुट्टै संरचना निर्माण गरिएको छ भने त्यसको माथि घाँस राख्न फलामकै संरचना बनाइएको छ । ५० रोपनी क्षेत्रफलमा खोरको संरचना निर्माण गरिएको उनले बताए । उनका अनुसार बाख्राको लागि घाँस लगाउन १५० रोपनी जग्गा लिजमा लिइएको छ ।

 

व्यवसायको कुल लागतमध्ये लाइभइस्टक सेक्टर आयोजनाको अनुदान ५२ लाख ९५ हजार रहेको छ । बाँकी रकम ३० प्रतिशत अर्थात ३२ लाख रुपैयाँ बैंकबाट अनिवार्य ऋण लिनुपर्ने प्रावधान छ भने २० प्रतिशत अर्थात् २० लाख ९५ हजार उक्त समूहले लगानी गर्ने छ ।

लाइभस्टक सेक्टर आयोजनाले हालसम्म अनुदान बापतको रकम भुक्तानी गरेको भने छैन । अनुदानको गलत प्रयोग नहोस भनेर समूहहरूले पहिले आफ्नो लगानी गरेपश्चात मात्र अनुगमन गरेर भुक्तानी गर्ने व्यवस्था रहेको आयोजनाका कृषि विज्ञ सुशील खड्काले बताए ।

 

प्रतिवर्ष १२० खसीबोका उत्पादनको लक्ष्य

 

सरकारले मासुमा नेपाल आत्मनिर्भर बनेको भन्ने गरे पनि वर्षेनी अर्बौं रूपैयाँमा विदेशबाट समेत बाख्रा आयात गरिने गरेका छन् । माग अनुसार कृषकले मासु उत्पादन गर्न नसक्दा एकातिर ठूलो रकम बाहिरिएको छ भने अर्कोतर्फ बेरोजगारी समस्या बढ्दो छ । यस्तो समस्या समाधान गर्न आन्तरिक उत्पादन बढाएर निर्यात गर्न सक्ने अवस्थामा पुग्नु पर्ने आवश्यकता देखिन्छ ।

 

मासुका लागि गुणस्तरीय खसीबोका उत्पादन गर्ने मुख्य उद्देश्य रहेको समूहले संञ्चालनको तयारीमा रहेको यस व्यवसायले हरेक वर्ष १२० वटा खसीबोका उत्पादन गर्ने लक्ष्य लिएको छ ।

‘प्रती वर्ष ३५ केजी जीवित तौल भएका गुणस्तरीय मासुको लागि १२० वटा खसीर बोका उत्पादन गर्ने समूहको योजना छ,’ बच्चुराम भन्छन् । हरेक वर्ष १५ देखि २० केजी तौल भएका जीवित पाठापाठी र २० केजी तौल भएको अनुत्पादक बाख्रा उत्पादन गरीने आयोजनाले जनाएको छ ।

 

यसले आर्थिक रूपान्तरणका साथै बजारमा मासुको माग पूरा गर्नमा सहयोग गर्ने उनले बताए । बाख्रा राखेको १र२ वर्षपछि मात्र आम्दानी कति हुन्छ भनेर थाहा पाइने केसीको भनाइ छ ।

 

व्यावसायिक प्रेरणा

 

कृषिको विकास गरेमात्र जनताको आयस्तरमा सुधार आउने सरकारका हरेक बजेटले भन्छ । किसानका लागि केही योजना पनि ल्याउँछन् । तर, न कार्यान्वयन हुन्छन् न युवा व्यवसायीहरूलाई प्रोत्साहन नै गर्छन् ।

बढ्दो बेरोजगारी र कृषि तथा पशुपालनको आधुनिकीकरण आजको आवश्यकता बनेको छ । जसले यस्तो क्षेत्रमा प्रवेश गर्न चाहानेहरूका लागि प्रेरणादायी भूमिका निर्वाह गरोस् ।

 

सामूहिक र सहकारीमार्फत गरीएको यस्ता साना तथा मझौला व्यवसायले धेरै किसानहरूलाई हौसला दिएको छ । कृषि क्षेत्रमा केही नयाँ गर्न चाहानेहरूका लागि जतिपनि अवसर भएको बच्चुराम बताउँछन् ।

 

‘केही नयाँ काम गर्ने हो भने कृषिमा जति पनि हुन्छ भन्ने हाम्रो बुझाइ छ, सोही अनुसार व्यवसाय संञ्चालनको तयारी हरटिम बनाएरै गरिरहेका छौँ,’ उनले भने ।

 

कृषिमा आधारित व्यवसाय गर्न चाहानेहरूका लागि सरकारले बैंकबाट सहुलियतपूर्ण ऋण दिएपनि त्यो सामान्य किसानको पहुँचमा छैन् । राष्ट्र बैंकले कृषिमा लगानी गरेर यसको विकासका लागि हरेक वाणिाज्य बैंकहरूले कृषि क्षेत्रमा १५ प्रतिशत अनिवार्य कर्जा दिनुपर्ने व्यवस्था गरेको छ ।

 

यस्तो व्यवस्था गरिएपनि कृषिको नाममा घरजग्गा जस्तो अनुत्पादक क्षेत्रमा कर्जा लगानी गइरहेका थुप्रै उदाहरणहरू छन् । ‘सामान्य कृषकले बैंकबाट ऋण पाउनै नसक्ने स्थिति छ । उसले लिनै सक्दैन । व्यवस्थापक र प्राविधिक पक्षसहित टिम राम्रो भए मात्र बैंकबाट ऋण लिन सहज छ,’ उनी भन्छन् ।

 

आँबुखैरेनी-मुग्लिन खण्डमा ठूला सवारी नचल्ने Read Previous

आँबुखैरेनी-मुग्लिन खण्डमा ठूला सवारी नचल्ने

पृथ्वी राजमार्गको विकल्प ‘बुद्धसिं मार्ग’ कालोपत्र गरिँदै, २५ किमी दुरी छोट्याउने Read Next

पृथ्वी राजमार्गको विकल्प ‘बुद्धसिं मार्ग’ कालोपत्र गरिँदै, २५ किमी दुरी छोट्याउने