आँबुखैरेनी-मुग्लिन खण्डमा ठूला सवारी नचल्ने

दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी–मुग्लिन खण्डमा ठूला सवारी साधन नचल्ने भएका छन् । आँबुखैरेनी गाउँपालिका–४ पावर हाउस नजिक सडक भासिएकाले केही दिन ठूला सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

 

उक्त सडकखण्डबाट साना सवारी साधनलाई एकतर्फी रुपमा सञ्चालन गरिएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । सडक भासिएको ठाउँबाट माइक्रो, साना कार, मोटरसाइकल मात्रै वारपार गराइएको उनले बताए ।

 

सडक भासिएको ठाउँमा सडक डिभिजन कार्यालयले शुक्रबारदेखि नै भित्ता काट्न थालेको छ । ठूला सवारी साधन सञ्चालन गर्दा जोखिम हुने भएकाले केही दिन ठूला सवारी साधन सञ्चालन गर्न नसकिने सडक डिभिजन कार्यालयले जनाएको छ ।

 

जिल्ला प्रशासन कार्यालयले उक्त खण्डमा शुक्रबार राति ७ बजेदेखि बिहान ६ बजेसम्म अर्को सूचना नभएसम्मका लागि यातायात सञ्चालन पूर्णरुपमा बन्द गरेको छ । रातिको समयमा जोखिम हुने भएकाले यातायात सञ्चालनमा पूर्ण रोक लगाइएको सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले बताए।

 

सडक भासिएर एउटा कार र एउटा मोटरसाइकल खस्दा दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा हेटौँडाका ३५ वर्षीय हेमबहादुर भुजेल र गोरखा घर भई आँबुखैरेनी–२ बस्ने ३३ वर्षीय केशव घिमिरे रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । रासस

बैंकिङ क्षेत्रमा फेरि अर्को बिग मर्जर : इन्भेष्टमेन्ट र मेगा बीच सम्झौता, यस्तो बन्नेछ नेपालकै ठूलो बैंक Read Previous

बैंकिङ क्षेत्रमा फेरि अर्को बिग मर्जर : इन्भेष्टमेन्ट र मेगा बीच सम्झौता, यस्तो बन्नेछ नेपालकै ठूलो बैंक

कृषिमा रुपान्तरण गर्न सामूहिक प्रयास, ९ जनाको लगानीमा व्यवसायिक बाख्रापालन Read Next

कृषिमा रुपान्तरण गर्न सामूहिक प्रयास, ९ जनाको लगानीमा व्यवसायिक बाख्रापालन