काठमाडौं । सेयर बजारमा लगातार गिरावट आएको छ । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को बजेट ल्याए यता निरन्तर ओरालो लागेको नेप्सेमा लगातार सातौं दिन गिरावट आएको हो ।
पछिल्ला ७ कारोबार दिनमा मात्रै नेप्से २०५ अंकले घटेको छ । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर बजारलाई झनै कडाइ गर्ने हल्लाका कारण लगानीकर्ता निराश हुँदा नेप्सेमा लगातार गिरावट आएको छ ।
मंगलबार नेप्से ४७.५८ अंकले घटेर २०१८.२४ विन्दुमा आइपुगेको छ । यसदिन २३३ कम्पनीको १ अर्ब २८ करोड ७९ लाख १६ हजार ३२१ रुपैयाँ बराबरको ३८ लाख १६ हजार ९५० कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । बैंकिङ समूह सबैभन्दा धेरै २.७४ प्रतिशतले घटेको छ । त्यस्तै, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, उत्पादनमूलक र अन्य समूह पनि २ प्रतिशतलेभन्दा धेरै घटेको छ ।
आज एनआइसी एशिया बैंकको सर्वाधिक कारोबार भएको छ । यसको ६ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, कुमारी बैंक पौने ६ करोड र हिमालयन डिस्ट्रलरी साढे ३ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
उच्च अंकले घटेको बजारमा आज हिमालयन बैंकको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले करिब १० प्रतिशत गुमाएका छन् ।
त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट बैंकको प्रमोटर सेयर ९.४०, सपोर्ट माइक्रोफाइनान्स ५.९९, समता घरेलु लघुवित्त ५.६३, जनउत्थान लघुवित्त र एनएमबी ५० म्युचुअल फण्ड ५.५१, आइएमई जनरल, शिवम् सिमेन्ट र आरएसडीसी लघुवित्तको सेयर मूल्य ५ प्रतिशतले घटेको छ ।
त्यस्तै, युनाइटेड मोदी, किसन लघुवित्त, प्रिमियर इन्स्योरेन्स, गुह्येश्वरी मर्चेन्ट बैंक, माच्छापुच्छे बैंक, कालिका लघुवित्त, गोर्खा फाइनान्स र सनराइज बैंकको सेयर मूल्य साढे ४ प्रतिशतले घटेको छ ।
घट्दो बजारमा आज दुई कम्पनीको सेयर मूल्यमा भने पोजेटिभ सर्किट लागेको छ । उपकार लघुवित्तको सेयर मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ भने बलेफी हाइड्रोपावरकोयसका सेयरधनीले करिब १० प्रतिशत कमाएका छन् ।