काठमाडौं । बैंकहरूको औसत कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) ९० प्रतिशतभन्दा तल झरेको छ ।
नेपाल राष्ट्र बैंकले जेठ २२ गते सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार बैंकहरूको औसत सीडी रेसियो ८९.९९ प्रतिशतमा झरेको छ ।
यद्यपि, औसत सीडी रेसियो ९० प्रतिशतभन्दा तल झरे पनि अझै केही बैंकको ९० प्रतिशतभन्दा माथि नै छ । नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकहरूलाई असार मसान्तसम्म सीडी रेसियो ९० प्रतिशतभन्दा तल कायम गर्न निर्देशन दिइसकेको छ ।
स्थानीय तहको चुनावपछि क्रमशः बैंकहरूको निक्षेप बढ्न थालेसँगै सीडी रेसियो रेसियो घट्न थालेको हो। जेठ यता वाणिज्य बैंकहरुमा १७ अर्ब रुपैयाँ निक्षेप थपिएको छ ।
राष्ट्र बैंकका अनुसार आइतबारसम्म बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेप ४९ खर्ब ६७ अर्ब रुपैयाँ र कुल कर्जा लगानी ४७ खर्ब २० अर्ब रुपैयाँ रहेको छ ।