काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले थप ५ कम्पनीलाई योग्य संस्थागत लगानीकर्ता (क्यूआइआइ)को रूपमा काम गर्न अनुमति दिएको छ । सेबोनको नियमन तथा व्यवस्थापन विभागले जेठ १० गते थप ५ संस्थाहरूलाई योग्य संस्थागत लगानीकर्ताको मान्यता दिएको हो ।
बोर्डबाट क्यूआइआइको मान्यता पाउने संस्थाहरूमा सिभिल बैंक, आइएमई जनरल इन्स्योरेन्स, अजोड इन्स्योरेन्स, आरबीबी म्युचुअल फन्ड–१ र एनआइबीएल समृद्धि फन्ड–२ छन्।
बोर्डबाट अनुमति पाएसँगै अब यी कम्पनीहरूले बुक बिल्डिङ विधिबाट जारी हुने कुनै पनि कम्पनीको प्राथमिक सेयर निष्काशनमा मूल्य निर्धारण प्रक्रियामा भाग लिन पाउने छन् । साथै, संस्थागत लगानीकर्ताका रूपमा समेत सेयर किनबेच गर्न पाउने छन्।
यी ५ सहित बोर्डबाट योग्य संस्थागत लगानीकर्ताको स्वीकृति पाउने कम्पनीको संख्या १०० पुगेको छ । यसअघि ९५ कम्पनीले विभिन्न मितिमा योग्य संस्थागत लगानीकर्ताको मान्यता पाएका थिए ।