काठमाडौं । हिमालयन बैंकको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । झन्डै १३ महिनापछि आज (सोमबार)देखि कारोबारमा आएको बैंकको सेयर मूल्य करिब १० प्रतिशतले घटेको हो ।
३९०.८ रुपैयाँमा कारोबार खुलेको बैंकको सेयर मूल्य प्रतिकित्ता ३९.८५ रुपैयाँले घटेर ३५८.९ रुपैयाँमा आइपुगेको छ । लामो समय रोक्का भएर कारोबार खुलेको बैंकको सेयर बेच्नेको ओइरो लाग्दा खरिदकर्ता भने शून्यप्रायः छन् ।
आज दिउँसो १२ बजेसम्म बैंकको ४० हजार बढी कित्ता सेयर विक्रीमा राखिएको छ भने खरिदकर्ता शून्य रहेका छन् । १ घण्टामा बैंकको जम्मा ५४४ कित्ता सेयर किनबेच भएको छ ।सर्वसाधरण सेयर कारोबार खुले पनि अझै प्रमोटर सेयर भने कारोबार रोक्का राखिएको छ ।
२०७८ वैशाख ३० नेपाल इन्भेष्टमेन्टसँग मर्जरमा जाने सम्झौता गरेसँगै बैंकको सेयर कारोबार रोक्का भएको थियो । गत पुस ३० गते बसेको हिमालयनको साधरण सभाले इन्भेष्टमेन्टसँग मर्जरमा नजाने निर्णय गरेसँगै मर्जर भाँडिएको थियो ।
मर्जर भाँडिएपछि नेपाल राष्ट्र बैंकले दुवै बैंकको सेयर कारोबार रोक्का गरेको थियो । इन्भेष्टमेन्टको सेयर जेठ १६ गतेदेखि कारोबारमा आएको थियो ।