काठमाडौं । अब ५ सय रुपैयाँमै जहाज चढ्न पाइने भएको छ । निजी क्षेत्रको वायुसेवा कम्पनी श्री एयरलाइन्सले दशैं, तिहार र छड पर्वको अवसरमा ८५ वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई ५ सय रुपैयाँमै हवाइ सेवा दिने भएको छ ।
प्रतिउडान दुई जना जेष्ठ नागरिकले उक्त छूट मूल्यमा सेवा प्राप्त गर्ने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार यो भाडादर यही असोज १२ गतेदेखि लागू हुने छ ।
कम्पनीका अनुसार ७५ वर्षभन्दा माथिको उमेरका जेष्ठ नागरिकलाई भने इन्धनको मूल्य र करबाहेक भाडामा ५० प्रतिशत छूटको अफर ल्याइएको छ ।
छुट अफर लिनको लागि यात्रा गर्ने व्यक्तिको उमेर खुल्ने सक्कल नागरिकता वा आधिकारिक परिचयपत्र पेश गर्नुपर्ने कम्पनीले जनाएको छ ।
सहुलियत टिकट एयरलाइन्सका बिक्री काउन्टर वा श्री एयरलाइन्सको एप वा वेवसाइटबाट मात्र उपलब्ध हुने भएको छ । चेक इनका बखत उमेर खुल्न नसके छूट नपाइने कम्पनीले उल्लेख गरेको छ ।
टिकट रद्द वा परिवर्तन समेत गर्न नपाइने कम्पनीले उल्लेख गरेको छ । यो छुट श्री एयरलाइन्सले बेलाबेला सार्वजनिक गर्ने अफर फेयरमा भने लागू नहुने बताएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले ७० वर्षभन्दा माथिका नागरिकलाई ५० प्रतिशत छूटको घोषणा गरेपछि पहिलो पटक सरकारी स्वामित्वको नेपाल एयरलाइन्सले ५० प्रतिशत छूट घोषणा गरेको थियो ।
निजी हवाई सेवा प्रदायक कम्पनीहरुमा जेष्ठ नागरिकलाई छुट दिने श्री एयरलाइन्स पहिलो कम्पनी हो ।
