काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकका सेयरधनीले एक सातामै साढे २१ अर्ब रुपैयाँ गुमाएका छन् ।
झन्डै १३ महिनापछि जेठ १६ गतेदेखि कारोबारमा आएको बैंकको सेयर मूल्यमा लगातार गिरावट आएसँगै सेयरधनीले ५ दिनमै २१ अर्ब ६० करोड सम्पत्ति गुमाएका हुन् ।
गत सोमबार ४०५ रुपैयाँमा कारोबार खुलेको बैंकको सेयर मूल्य ५ कारोबार दिनमा प्रतिकित्ता ११८ रुपैयाँ घटेर २८७ रुपैयाँमा आएको छ । ५ दिन यता बैंकको सेयर मूल्य लगातार घट्दै आएको छ ।
जेठ १६ गते ७४ अर्ब १४ करोड रहेको बैंकको बजार पूँजीकरण ५ दिनमा घटेर ५२ अर्ब ५४ करोडमा आएको छ । एकसातामै बैंकका सेयरधनीले २१ अर्ब ६० करोड रुपैयाँ सम्पत्ति गुमाएका हुन् ।
२०७८ वैशाख ३० हिमालयन बैंकसँग मर्जरमा जाने सम्झौता गरेसँगै बैंकको सेयर कारोबार रोक्का भएको थियो । गत पुस ३० गते बसेको हिमालयन बैंकको साधरण सभाले इन्भेष्टमेन्टसँग मर्जरमा नजाने निर्णय गरेसँगै मर्जर भाँडिएको थियो ।
मर्जर भाँडिएपछि नेपाल राष्ट्र बैंकले दुवै बैंकको सेयर कारोबार रोक्का गरेको थियो । इन्भेष्टमेन्टको साधरण सेयर कारोबारमा आए पनि प्रमोटर सेयर भने रोक्का नै छ । यस्तै, हिमालयनको सेयर भने कहिलेदेखि कारोबारमा आउँछ अझै टुंगो लागेको छैन ।