काठमाडौं । कोरोना प्रभाव कम हुँदै गएसँगै पर्यटन व्यवसाय क्रमशः लयमा फर्किन थालेको छ । सन् २०१९ को अन्त्यदेखि झन्डै २ वर्ष ठप्पप्राय: भएको पर्यटन व्यवसाय चलायमान हुन थालेको हो ।
सन् २०२२ को पहिलो ५ महिनामा १ लाख ९० हजार बढी विदेशी नेपाल आएका छन् भने महिनैपिच्छे विदेशी आउने क्रम पनि बढ्दो छ । जनवरीमा १७ हजार विदेशी आएकोमा मेमा तीन गुणाले बढेर ५३ हजार नाघेको छ ।
पर्यटकको आवगमन बढेसँगै शिथिल भएको होटल व्यवसाय पनि तंग्रिन थालेको छ । महामारी मत्थर हुँदै जाँदा आन्तरिक गतिविधि चलायमान हुनुका साथै विदेशी पर्यटन आवागमन बढ्दै गएपछि होटल व्यवसाय पुरानै अवस्थामा फर्किएको हो ।
पर्यटन विभागका अनुसार नेपालमा पछिल्ला महिना यता विदेशी पर्यटकहरूको संख्या बढ्दै गएको छ । जसको प्रभाव होटल तथा रेष्टुरेन्ट क्षेत्रमा देखिएको छ । उपत्यकाका पाँच तारे होटलदेखि पर्यटकीय गन्तव्यका रिसोर्ट र रेष्टुरेन्टहरू अकुपेन्सी ८० प्रतिशत माथि हुन थालेको बताइनछ ।
हिमाल आरोहणका लागि उपयुक्त समय हुनुका साथै प्राकृतिक दृष्टिकोणले पनि घुमफिर गर्न उपयुक्त सिजन भएकाले विदेशीहरू आउनेक्रम बढ्दो छ । आन्तरिक पर्यटकहरू पनि घुमफिरमा रमाउन थालेका छन् ।
साथै सरकारले इन्धन खपत घटाउन जेठ १ गतेदेखि आइतबार पनि सार्वजनिक विदा दिने निर्णय गरेसँगै आन्तरिक पर्यटकहरूको चहलपहल अझै बढ्ने अपेक्षा गरिएको छ ।
कोभिड अघिको जस्तै चल्न थाले होटल
होटल व्यवसायी महासंघका उपाध्यक्ष दिनेशकुमार चुले विदेशी पर्यटक आगमनमा भएको वृद्धि, चुनावी गतिविधि र सरकारले दुईदिन विदा दिने निर्णयले होटल व्यवसायमा सकारात्मक प्रभाव परेको बताउँछन् ।
‘लामो समय कोरोना महामारीले ठप्प बनेको होटल र पर्यटन व्यवसायमा स्थानीय चुनाव र पछिल्लो समय विदेशीको संख्या बढ्दा सकारात्मक प्रभाव देखिएको छ,’ उनले भने, ‘साना होट व्यवसायहरू शतप्रतिशत पुरानै अवस्थामा फर्किन अझै केही समय लाग्ने देखिन्छ । विगको तुलनामा विदेशी पर्यटक लक्षित होटलहरूले राम्रो अकुपेन्सी पाइरहेका छन् ।’
सातामा दुईदिन सार्वजनिक विदा दिने निर्णय कायम रहे स्वदेशी पर्यटकहरू बढ्ने र त्यसले होटल व्यवसायमा समेत टेवा पुग्ने उनले बताए ।
महामारीमा कतिपय मझौला तथा साना होटलहरू सधैंको लागि बन्दसम्म भएका थिए भने धेरैले रोजगारी गुमाए । त्यस अवधिमा ठूलो लगानीमा संचालित तारे होटलहरू बन्दको अवस्थामा नपुगे पनि व्यवसाय भने केही प्रभावित भएको थियो ।
यस्तो छ विदेशी पर्यटक आवागमनको अवस्था
सन् २०२२ को पहिलो ५ महिनामा झन्डै २ लाख विदेशी पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्क अनुसार सन् २०२२ को मे महिनासम्म १ लाख ९० हजार ७३९ जना पर्यटक नेपाल आएका छन् ।
जबकी गत वर्ष सन् २०२१ को वर्षभरीमा जम्मा १ लाख ५० हजार ९६२ जना विदेशी पर्यटक नेपाल आएका थिए । २०२२ को जनवरीमा १६ हजार ९७५, फ्रेबुअरीमा १९ हजार ७६६ र मार्चमा ४१ हजार ९८४, अप्रिलमा ५८ हजार ३४८ र मे महिनामा ५३ हजार ६०८ पर्यटकहरू नेपाल आएको बोर्डको तथ्यांक छ ।
पर्यटकले गर्ने खर्च पनि बढ्यो
पछिल्लो समय विदेशी पर्यटककहरूको संख्या मात्र नभएर उनीहरूले खर्च गर्ने सीमा पनि बढेको छ । कोरोना अघि नेपालमा घुम्न आउने प्रतिपर्यटकहरूले ४४ डलर खर्च गर्ने गरेको पर्यटन विभागको तथ्यांक छ ।
त्यसपछिको अवधिमा खर्चगर्ने रकममा पनि वृद्धि भएको छ । हालप्रति पर्यटकहरूले ६५ डलर खर्च गर्ने गरेको अनुमान छ ।