फास्ट ट्रयाकको सुरुङ निर्माण रोकियो, अब रिभ्यूपछि मात्र सुरू हुने

सांकेतिक तस्वीर

काठमाडौं । काठमाडौं–तराई–मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) मा सुरुङ निर्माणको काम रोकिएको भएको छ । दुई वटा प्याकेजमा भइरहेको सुरुङ निर्माणको काम ठप्प भएको हो ।

 

नेपाल सेनाका प्रवक्ता नारायण सिलवालले निर्माण व्यवसायीले गरेको कामको गुणस्तर रिभ्यू तथा भविष्यमा यसको गतिका लागि छलफल गर्न काम रोकिएको बताए । उनले रिभ्यू सकिना साथ अर्को निर्माण व्यवसायीले काम सुरू गर्ने बताए ।

 

दुई वटा प्याकेजमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन र पोली च्याङ्दा इन्जिनियरिङ कर्पोरेसन काम गरिरहेका छन् । फास्ट ट्रयाकको परामर्शदाता योसिन इन्जिनियरिङ करर्पोरेसन–कोरिया एक्सप्रेस वे कर्पोरेसन एण्ड पियोङ्वा इन्जिनियरिङ कन्सल्टेन्ट जेभीले सुरुङको काम रिभ्यू गर्ने छन् ।

 

‘अहिले काम होल्ड गरेको हो, यो सधैं हुने प्रक्रिया हो, उनीहरूले गरेको कामलाई हेरेर छलफल गर्दै अघि बढ्ने कुरा हो, गुणस्तरीय भएन भनेर हैन, यो गलत बुझियो,’ सिलवालले चाणक्य पोष्टसँग भने ‘सुरुङको काम अर्को हप्तादेखि सुरू हुन्छ ।’

 

पहिलो प्याकेजमा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कम्पनीले छोक्रेडाँडादेखि धेद्रेसम्मको सुरुङ मार्ग निर्माणको ठेक्का लिएको छ । ३.३५५ किलोमिटर उक्त सुरुङ निर्माणको काम २१ अर्ब ६१ करोड रुपैयाँ लागतमा हुन लागेको हो  । दुवै प्याकेजका ३ वटै सुरुङको डिजाइन स्वीकृत भई खन्ने पूर्वतयारीको काम भइरहेको छ ।

 

दोस्रो प्याकेजमा धेद्रेदेखि लेनडाँडासम्मको सुरुङ मार्ग चाइनिज निर्माण कम्पनी पोली च्याङ्दाले गरिरहेको छ । ३.०३ किलोमिटर उक्त सुरुङ मार्गको निर्माण २८ अर्ब ५३ करोड रुपैयाँमा हुने गरी ठेक्का लागेको हो ।

 

३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी २०७८ वैशाख ३१ मा दुवै कम्पनीलाई ठेक्का दिइएको थियो । २०८०÷८१ सम्म निर्माण म्याद रहेको फास्ट ट्रयाकको निर्माण अवधि थप ३ वर्ष थपिएको छ । अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषणका क्रममा फास्ट ट्रयाकको निर्माण अवधि थप ३ वर्ष थपिने बताएका हुन् ।

 

फास्ट ट्रयाक अन्तर्गत हालसम्म ३२ अर्ब रुपैयाँ खर्च भइसकेको छ । यसको भौतिक प्रगति १९.८३ प्रतिशत मात्र रहेको छ । २०७१ साल वैशाख १ गते नेपाल सेनाले फास्ट ट्रयाक निर्माणको जिम्मा पाएको थियो । डीपीआर अनुसार फास्ट ट्रयाक निर्माणको अनुमानित लागत २ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ । चालु आर्थिक वर्षमा फास्ट ट्रयाक निर्माणका लागि ३० अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।

 

आयोजनाको विभिन्न पहुँचमार्ग सडक खण्डमा १४ वटा बेलीब्रिज जडान गर्ने योजना मुताबिक एबिउटमेन्ट निर्माण गरी बेलीब्रिज जडान गर्ने कार्य अगाडि बढाइएको सेनाले जनाएको छ । हालसम्म निजगढामा २ वटा, बागदेवमा ३ वटा, धेद्रेमा २ वटा र सिस्नेरीमा १, लेनडाँडामा २ वटा गरी १० वटा पुल जडान गर्ने योजना रहेको छ ।

 

आयोजनालाई हाल ११ प्याकेजमा विभाजन गरी काम भइरहेको छ । सोमध्ये ५ वटा प्याकेजका लागि ठेक्का आह्वान भइसकेको छ भने बाँकी ६ वटा प्याकेजका लागि बोलपत्र आह्वान गर्ने तयारी भइरहेको सेनले जनाएको छ । अब लेन डाँडादेखि खोकनासम्मका लागि करिब ४० किलोमिटर सडक र पुल निर्माणको ठेक्का लगाउन बाँकी रहेको सेनाले जनाएको छ । यद्यपि, खोकना जग्गा विवादमा हालसम्म कुनै ठोस निकास हुन सकेको छैन ।

 

वीरगञ्ज नाकाबाट निर्यात ९३ प्रतिशत वृद्धि, १ खर्ब ७० अर्ब राजस्व संकलन Read Previous

वीरगञ्ज नाकाबाट निर्यात ९३ प्रतिशत वृद्धि, १ खर्ब ७० अर्ब राजस्व संकलन

सगरमाथा जलविद्युतले ५५ करोडको आइपीओ निष्काशन गर्ने Read Next

सगरमाथा जलविद्युतले ५५ करोडको आइपीओ निष्काशन गर्ने