नयाँदिल्ली । भारत र बङ्गलादेशबीच तेस्रो रेल सेवा सुरु भएको छ । यो द्विदेशीय रेल सेवाको सुरुआत दुवै देशका अधिकारीहरूले झण्डा फहराएर गरेका हुन् ।
पश्चिम बङ्गालको न्यू जलपाइगुडीबाट बङ्गलादेशको राजधानी ढाका पुग्ने मिताली एक्सप्रेसलाई भारतका रेलमन्त्री अश्विनी वैष्णव र उनका बङ्गलादेशी समकक्षी मोहम्मद नुरुल इस्लाम सुजनले आ–आफ्नो देशका झण्डा फहराएर सेवा सुरु गरेका हुन् ।
भारत–बङ्गलादेश रेलसेवाबाट जनता–जनताबीचको सम्पर्कलाई अझ सुदृढ गर्न सहयोग पुग्ने भारतीय रेल मन्त्रालयका प्रवक्ताले बताएका छन् ।
रेल साताको दुई पटक आवतजावत हुनेछ । हरेक आइतबार र बुधबार नयाँ जलपाईगुडीबाट बिहान ११.४५ बजे प्रस्थान, सोही दिन राति १०ः३० बजे ढाका आइपुग्ने र सोमबार र बिहीबार राति ९ः५० मा ढाकाबाट प्रस्थान गर्ने र बिहान ७ः१५ मा नयाँ जलपाईगुडी आइपुग्ने छ। उक्त रेल ५९५ किलोमिटर गुड्नेछ ।
उक्त रेलमा सीटलाई ३ वर्गामा विभाजन गरिएको छ । रेलमा एसी फर्स्ट (क्याबिन) स्लीपर, एसी फर्स्ट (क्याबिन) सिट र एसी चेयर कार गरी तीनवटा क्लास छन् भने भाडा क्रमशः ४४ डलर, ३३ र २२ डलर हुनेछ।