काठमाडौं । बिन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आज (जेठ २० गते)देखि प्राथमिक साधरण सेयर (आइपी)ओ निष्काशन गर्ने भएको छ।
कम्पनीले सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले १५ करोड रुपैयाँ बराबरको १५ लाख कित्ता साधारण सेयर विक्रीमा हो।
निष्काशन हुने कुल सेयरमध्ये ६० हजार कित्ता (४ प्रतिशत) सेयर कर्मचारी र ७५ हजार कित्ता (५ प्रतिशत) सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी १३ लाख ६५ हजार कित्ताका लागि सर्वसाधरणले आवेदन दिन पाउने छन् ।
कम्पनीको आइपीओमा जेठ २५ गतेसम्म आवेदन दिन पाइने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेड रहेको छ।
कम्पनीको आइपीओलाई केयर रेटिङ्ग नेपालले ‘केयर एनपी डबल बी प्लस आइएस’ रेटिङ्ग दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीले लमजुङको क्व्होलासोथार गाउँपालिका तथा कास्कीको मादी गाउँपालिका भएर बहने रुदी खोलामा रुदी ‘ए’ ८.८ मेगावाट र रुदी ‘बी’ ६.६ मेगावाट क्षमताका आयोजना निर्माण गरिरहेको छ ।
कति कित्ता भर्नु उपयुक्त ?
धितोपत्र निष्काशन तथा बाँडफाँड नियमावली अनुसार सबै योग्य आवेदकलाई कम्तीमा १० कित्ताका दरले समानुपातिक हिसाबले आइपीओ बाँडफाँट गर्नुपर्ने हुन्छ।
कम्पनीले सर्वसाधरणलाई १३ लाख ६५ हजार कित्ता छुट्याएको छ । सो आधाारमा प्रति आवेदकलाई १० कित्ताले बाँड्दा १ लाख ३६ हजार ५०० जनालाई मात्र सेयर दिन पुग्छ ।
यसअघि खुलेका आइपीओमा २६ लाख बढीले आवेदन दिँदै आएका छन् । सो आधारमा १० कित्ता पाउन पनि भाग्यकै भर पर्नुपर्ने देखिन्छ । त्यसअनुसार कम्पनीको आइपीओमा १ हजार रुपैयाँ अर्थात् १० कित्ताका लागि आवेदन दिनु उपयुक्त देखिन्छ ।