काठमाडौं । सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षको बजेटमा मध्यपहाडी क्षेत्रमा पर्ने १० नयाँ सहरलाई प्राथमिकतामा राखेको छ । मन्त्रालयले सबै आयोजनालाई एकै साथ अघि बढाउँदा बजेट कम भएको र कुनै पनि आयोजनामा खर्च नपुगेको भन्दै १० नयाँ सहरलाई प्राथमिकताका साथ अघि बढाउन लागेको हो ।
नयाँ सहर आयोजनाका प्रमुख रोशन श्रेष्ठले आगामी आर्थिक वर्षका लागि नयाँ सहर निर्माणमा ३ अर्ब रुपैयाँ बजेट सिलिङ आएको बताए । उनले उक्त बजेटको ७० प्रतिशत रकम मध्यपहाडी क्षेत्रका १० नयाँ सहरहरूमा खर्च गरिने योजना रहेको बताए । साथै बाँकी ३० प्रतिशत बजेट भने अन्य आयोजनाका लागि खर्च हुनेछन् ।
‘बजेटकै कारणले नयाँ सहर निर्माणले लिन सकेको थिएन, त्यसैले आउने बजेटको ७० प्रतिशत मध्यपहाडीको १० वटा सहरलाई मुख्य प्राथमिकता दिएर अघि बढाउने भनेका छौं,’ श्रेष्ठले भने ।
विगतमा नयाँ सहर निर्माणमा २० लाखका दरले लगानी भइरहेको थियो । उक्त रकमले नयाँ सहर निर्माण गर्न धेरै समस्या भएको उनले बताए मध्यपहाडी क्षेत्रमा कुल १० वटा शहरको भौतिक पूर्वाधार निर्माणको कामलाई सहरी विकास मन्त्रालयले उच्च प्राथमिकताका साथ अगाडि बढाइरहेको छ ।
सरकारले मध्यपहाडी लोकमार्ग अन्तर्गत पाँचथरको फिदिम, तेह्रथुमको वसन्तपुर, सिन्धुलीको खुर्कोट, धादिङको बैरेणी–गल्छी, तनहुँको डुम्रे भन्सार, बागलुङको बुर्तिवाङ, रुकुमको चौरजहारी, दैलेखको राकम कर्णाली, अछामको साँफेबगर र बैतडीको पाटनमा आधुनिक सुविधासम्पन्न सहर निर्माण गर्न लागेको हो ।
मध्यपहाडी लोकमार्ग भित्र पर्ने वसन्तपुरमा नयाँ सहर निर्माण अन्तर्गत चालु आर्थिक वर्षको त्रैमासिक (साउन–असोज) मा १०.६४ प्रतिशत भौतिक प्रगति भएको विभागले जनाएको छ । हालसम्म यस आयोजनामा कुल ५.६३ प्रतिशत काम सम्पन्न भएको विभागको भनाइ छ ।
नयाँ सहर निर्माणका क्रममा सडक, ढल, खानेपानी, सोलार बिजुली पोल राख्ने लगायतका कामहरू भइरहेको सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत नयाँ सहर विकास शाखाका सूचना अधिकारी रमिता ताछमोले बताइन् । उक्त नयाँ सहर निर्माणका क्रममा ३१.७० प्रतिशत वित्तिय खर्च पनि भएको छ ।
कुन नयाँ सहरको प्रगति कति ?
फिदिममा चालु आर्थिक वर्षमा मात्र २.१७ प्रतिशत भौतिक प्रगति भएको छ । उक्त भौतिक पूर्वाधार निर्माणका क्रममा ५.५६ प्रतिशत वित्तिय खर्च भएको नयाँ सहर विकास शाखाले जनाएको छ । नयाँ सहर निर्माणका क्रममा सडक, ढल, खानेपानी, सोलार बिजुली पोल राख्ने लगायतका कामहरू भइरहेको छ ।
त्यस्तै, साफेबगरनयाँ सहर निर्माणका क्रममा चालु आर्थिक वर्षमा कुल १.२५ प्रतिशत भौतिक प्रगति भएको छ । नयाँ सहर निर्माणका क्रममा सडक, ढल, खानेपानी, सोलार बिजुली पोल राख्ने लगायतका कामहरू भइरहेको छ । उक्त सहर निर्माणका क्रममा चालु आव भित्र १२.५२ प्रतिशत वित्तीय खर्च भएको विभागले जनाएको छ ।
साथै, यही राजमार्गमा पर्ने राकम नयाँ सहर निर्माणको काम चालु आवमा २.०८ प्रतिशत भौतिक प्रगति भएको छ । नयाँ सहर निर्माणका क्रममा सडक, ढल, खानेपानी, सोलार बिजुली पोल राख्ने लगायतका कामहरू भइरहेको छ । यस आयोजनामा भौतिक निर्माणका क्रममा ३० प्रतिशत वित्तीय प्रगती भएको छ ।
चौरझारी नयाँ सहर निर्माणका क्रममा चालु आर्थिक वर्षमा ४४.५७ प्रतिशत भौतिक प्रगति भएको छ । भौतिक संरचना निर्माणका क्रममा उक्त सहरमा ६१.४५ प्रतिशत वित्तीय खर्च भइसकेको छ । नयाँ सहर निर्माणका क्रममा सडक, ढल, खानेपानी, सोलार बिजुली पोल राख्ने लगायतका कामहरूले तीव्रता पाएको छ ।
त्यसैगरी डुम्रेमा बन्ने नयाँ सहर निर्माणका क्रममा चालु आवमा ५.५१ प्रतिशत मात्रै भौतिक प्रगति भएको छ । उक्त सहर निर्माणका क्रममा ७४.४५ प्रतिशत वित्तीय खर्च भइसकेको विभागले जनाएको छ ।
बैरेनी, पाटन, खुरकोट, भुर्तीबांङ लगायतका क्षेत्रको प्रगति विवरण आउन अझै बाँकी रहेको विभागले जनाएको छ । विभागका अनुसार हाल सबै सहरका योजना प्रमुखहरूसँग त्रैमासिकको प्रगति विवरण माग गरिएको छ ।
प्रत्येक शहरमा बस पार्क, मनोरञ्जन पार्क, तरकारी बजार, सडक, खानेपानी, खेलकुद मैदान, बसपार्क, मनोरञ्जन पार्क, आधुनिक बस्ती, विद्यालय, कलेज, अस्पताल, तरकारी बजार, औद्योगिक क्षेत्रलगायत पूर्वाधारको विकास गरिने योजना रहेको छ ।
सेवा सुविधा र अवसरको खोजीमा हिमाल र पहाडबाट कोही पनि शहर वा तराई पस्न नपरोस् भन्ने उद्देश्यसाथ सरकारले आर्थिक वर्ष २०६७/ ६८ को नीति तथा कार्यक्रममा मध्यपहाडी लोकमार्गको छेउछाउमा १० वटा नयाँ शहर विकास गर्ने घोषणा गरेको थियो ।
हालसम्म आइपुग्दा सरकारले देशभर ५४ नयाँ सहरहरू निर्माण गरिरहेको छ । केही अध्ययनका क्रममा रहेका छन् भने केही कार्यान्वयनका चरण पुगिसकेका छन् । कम बजेटका बावजुद विभिन्न सहरहरूमा पूर्वाधार निर्माणका कामहरू भइरहेका छन् ।