काठमाडौं । सेयर बजारमा करेक्शन आएको छ । अघिल्ला तीन कारोबार दिनमा झन्डै ४० अंकले बढेको नेप्सेमा आज दोहोरो अंकले घटेको हो ।
सूचकमा गिरावट आए पनि आज कारोबार रकममा भने सुधार आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४१ करोडले बढेर सवा १ अर्ब नाघेको छ ।
शुक्रबार नेप्से १५.८२ अंकले घटेर २२२३.७८ विन्दुमा आइपुगेको छ । यसदिन २२३ कम्पनीको १ अर्ब २९ करोड ८९ लाख ५ हजार ५९० रुपैयाँ बराबरको ४१ लाख ४० हजार ६६५ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये होटल बाहेक अरु सबै समूहको परिसूचक घटेको छ । अन्य समूह सबैभन्दा धेरै १.७८ प्रतिशतले घटेको छ ।
आज प्रभु बैंकको प्रमोटर सेयर सर्वाधिक कारोबार भएको छ । यसको झन्डै साढे १७ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, मेगा बैंक पौने १० करोड र अरुण भ्याली हाइड्रोपावर साढे ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले बढेको बजारमा आज दिव्यश्वरी हाइड्रोपावरका सेयरधनीले सबैभन्दा धेरै ३.७५ प्रतिशत गुमाएका छन् । त्यसैगरी, हिमाल दोलखा, कर्णाली डेभलपमेन्ट बैंक, अपर तामाकोशी, लिबर्टी इनर्जी, युनाइटेड मोदी हाइड्रोपावर र सामलिङ पावरको सेयर मूल्य ३ प्रतिशतले घटेको छ ।
त्यसैगरी, नारायणी विकास बैंक ६।२०, कुमारी इक्वीटी फण्ड ५।२६, ग्रीन लाइफ हाइड्रो ४।०३, कुमारी बैंक, एनआइबीएल समृद्ध फण्ड–२ र सेञ्चुरी कमर्शियल बैंकको मूल्य ३ प्रतिशतले बढेको छ । त्यस्तै, नबिल ब्यालेन्स फण्ड ३, एनसीसी बैंक र गणपति माइक्रोफाइनान्सका सेयरधनीले साढे २ प्रतिशत कमाएका छन् ।