सी जिङपिङको प्रोजेक्ट बीआरआइ : नेपालको विकासको गोरेटो वा चिनियाँ पासो

बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआइ) राम्रो कि नराम्रो ? यसमा नेपाल सहभागी हुनु ठीक कि गलत ? भन्ने प्रश्नका जवाफ मानिसअनुसार फरक होलान् । यद्दपि, नेपालजस्ता गरीब देशमा धनी चीन (नेपालका लागि त अझ साँधसीमा जोडिएको)को सहयोगले देशको विकास होला भन्ने आशामा बीआरआइ प्रति आम मानिसमा ठूलो आशा र भरोसा छ ।

 

बीआरआइको विस्तृत व्याख्यामा यहाँ सम्भव छैन । तर, यसका मूल मन्त्र हेरौँ । यसले भन्छ संसारका गरीब देशमा सबैतिर चीनको जस्तो तीव्र विकास हुन नसकेको भौतिक पूर्वाधार, लगानी र प्रविधि नभएर हो । पूर्वाधार र लगानी हुनासाथ चिनियाँ प्रविधिको अनुकरणबाट विकासले सबैतिर गति लिइहाल्छ ।

 

विकासको यो ‘तयारी चाउचाउ’ टाइपको मोडेलको प्याकेजिङको चित्र र कम्पनीको लोगो फरक भए पनि यो पश्चिमा देशले निर्यात गरेको उही आधुनिकीकरण र आर्थिक वृद्धिको (पूरानो र असफल) मोडेल हो जसले प्रविधि, मानव संशाधन र लगानी भएपछि विकास हवाइजहाज उडेजस्तै सररर उड्छ भनेर दुनियाँलाई सिकायो ।

 

पश्चिमा पूँजीवादी देशले आधुनिकीकरण र आर्थिक वृद्धिका माध्यमले गरीब देशलाई धनी बनाउने अभियानबाट तीन फाइदा लिए ।

 

१. आफ्ना सामान गरीब देशमा बेच्न पाए ।

२. गरीब देशका प्राकृतिक सम्पदा आफ्ना बहुराष्ट्रिय कम्पनीमार्फत् उपयोग गर्न पाए ।

३. खुफिया सञ्जाल विस्तार गर्न पाए ।

 

तर, कुनै पनि गरीब देश पश्चिमा देशको आर्थिक विकासको मोडेल अपनाएर धनी भएनन् । बरू, पश्चिमा वहुराष्ट्रिय कम्पनीले उनीहरूका स्रोतसाधनको दोहन गरे । वातावरण विनासको गति तीव्र भयो । धनी र गरीबबीचको खाडल थप फराकिलो भयो । सामाजिक असुरक्षा र हिंसा बढ्यो । गरीब देश झनै परनिर्भर भए ।

 

चीनले चाहेको पनि त्यही हो । बजार विस्तार, प्राकृतिक स्रोतमाथि कब्जा र सुरक्षा चासोको विस्तार ! चीनको बीआरआइ पश्चिमा देशको ‘आधुनिकिकरण र आर्थिक बृद्धि’ को मोडेलभन्दा फरक छैन ।

 

‘चीनले गरीब देशलाई निस्वार्थरूपमा सहयोग गर्न चाहेको छ, यसबाट गरीब देशले फाइदा लिनसक्छन्, यो ऐतिहासिक अवसर खेर फाल्नुहुन्न’ भनेर तर्क गर्नेले कि गाँजा फुकेर बेहोसीमा यसो भनिरहेको छन्, कि त चीनको घुसपैठबाट आर्थिकरूपमा लाभान्वित भएका छन् । वा, पटमुर्ख पनि हुनसक्छन् ।

 

आर्थिक र भौतिक पूर्वाधारमा सम्पन्न हुँदै गएपछि यो समृद्धिलाई दिगो रुपमा टिकाउनका लागि एउटा देशलाई बजार, पूँजी र श्रम (वा युद्ध) चाहिन्छ । चीनको बीआरआइ भनेको यही हो । यो ‘कमनसेन्स’ हो । समृद्ध देशले अरू देशलाई निस्वार्थ रूपमा धनी बनाउन चाहाँदैनन् । चाहे पनि यसमा प्रशस्त जोखिम र कठिनाइ हुन्छन् ।

 

बीआरआई अति महत्वाकांक्षी, विवादित र हालसम्म असफल अभियान हो । पाँच वर्षअघि सुरु भएको यो अभियानअन्तर्गत् अहिलेसम्म सञ्चालनमा आएका २७ परियोजनालाई स्वतन्त्र मूल्याङ्कनकर्ताले ‘जङ्क’ (घाटामा गएका, लगानी अयोग्य) भनेर घोषणा गरेका छन् । बाँकी १४ परियोजनाको मूल्याङ्कन भएको छैन ।

 

संसारका अरू गरीब देशले बुझ्नुपर्ने के हो भने अर्को कुनै देशले अरूलाई धनी बनाइदिने होइन । अरूको बुइ चढेर समृद्ध बन्न सकिन्न । आफैं हिँड्न पर्छ । तर, गरीब देश धनी देशले बुनेको जालमा फसिहाल्छन् । सम्भ्रान्त वर्गले व्यक्तिगत फाइदाका लागि देशलाई विदेशीको जालमा फसाउँछन् ।

 

नेपालमा बीआरआई प्रतिको बढ्दो मोह दुःखद् र खतरनाक छ । दुःखद् यस अर्थमा कि यसमा लगभग सबैको सहमति छ । नेपालका नेता, बुद्धिजीवी बीआरआई बाट नेपाल धनी हुनसक्छ भन्ने विश्वास गर्छन् । नेपालजस्तो जटील भू–राजनीति र कमजोर सार्वभौमिकता भएको मुलुक बीआरआई बाट ठूलो भू–राजनीतिक द्वन्द्वमा फस्ने खतरा छ ।

 

बीआरआई अति महत्वाकांक्षी, विवादित र हालसम्म असफल अभियान हो । पाँच वर्षअघि सुरु भएको यो अभियानअन्तर्गत् अहिलेसम्म सञ्चालनमा आएका २७ परियोजनालाई स्वतन्त्र मूल्याङ्कनकर्ताले ‘जङ्क’ (घाटामा गएका, लगानी अयोग्य) भनेर घोषणा गरेका छन् । बाँकी १४ परियोजनाको मूल्याङ्कन भएको छैन ।

 

चीन कम्युनिस्ट पोलिटब्यूरोले चलाएको अतिगोप्य, अपारदर्शी र तानाशाही पद्दति हो । बीआरआई अहिलेका तानाशाह सी जिङ पिङको व्यक्तिगत ‘प्रोजेक्ट’ हो । चीनीयाँ कम्युनिस्ट पार्टीको आन्तरिक संरचनामा भविष्यमा परिवर्तन आउनासाथ यसको पहिलो प्रभाव बीआरआई मा पर्नेछ । यसको विघटन हुनेछ ।

 

यहाँ मैले बीआरआई प्रति नेपाल सतर्क रहनुपर्छ भन्नुको तात्पर्य भारत, अमेरिका वा बेलायतको विकासे मोडेल ठीक र नेपाल त्यसमा संलग्न हुनुपर्छ भन्न खोजेको होइन । नेपालले समृद्धि र सकारात्मक सामाजिक रूपान्तरणको आफ्नो मोडेल बनाउनुपर्छ भन्न खोजेको ।

 

दुःखको कुरा के छ भने खड्ग प्रसाद ओली र उनलाई विगतको निर्वाचनमा मत दिने मतदाताले चीनले नेपालको विकास गरिदिन्छ भन्ने अपेक्षा राखेका छन् । यो सतही अपेक्षामा विद्वता र आलोचनात्मक चेतका लागि चिनिएका घनश्याम भुषाल पनि फस्नु भनेको दुखद् संकेत हो ।

 

अन्त्यमा, नेपालजस्तो जटिल भू–राजनीतिक अवस्थामा भएको देशले एउटा कुनै देशका राष्ट्रपती (त्यसमाथि सीमा जोडिएको) को राजनीतिक–आर्थिक अभियानलाई आफ्नो अभियान बनाउनु देशलाई थप कमजोर बनाउनु हो । नेपालका कम्युनिस्टहरू अहिले दिनानुदिन जानेर वा नजानेर नेपाललाई थप कमजोर बनाउन लागि परेका छन् ।

 

‘सी विचारधारा’ले यसैगरी राज्यको वैधानकिता पाउने हो भने, चीनलाई ‘सफ्ट पावर’ भनेर सरकार र नेतृत्वले यसैगरी ‘लिभरेज’ दिँदै जाने हो भने नेपालको अस्तित्व थप सङ्कटमा पर्न जाने निश्चित छ । यसबाट देश नै असफल हुनसक्छ । म त नास्तिक हो, तैपनि श्री पशुपतिनाथले धार्मिकहरूको कल्याण गरुन् !

सञ्जीव पोखरेलको ट्वीटर ‘धागो’ बाट

मेगा बैंक र साउदीको नेशनल कमर्सियल बैंकबीच रेमिट्यान्स सम्झौता Read Previous

मेगा बैंक र साउदीको नेशनल कमर्सियल बैंकबीच रेमिट्यान्स सम्झौता

नेपाल इन्भेष्टमेन्ट बैंक र इसेवाबीच अनलाइन भुक्तानी सम्झौता Read Next

नेपाल इन्भेष्टमेन्ट बैंक र इसेवाबीच अनलाइन भुक्तानी सम्झौता