रक्सौल-काठमाडौं रेलमार्ग प्राथमिकतामा, आगामी वर्षभित्रै सर्भे सकिने

काठमाडौं । रक्सौल–काठमाडौं विद्युतीय रेलमार्गको सर्भे आगामी वर्ष सक्ने लक्ष्य राखिएको छ । अहिले उक्त रेलमार्गको फाइनल लोकेसन सर्भेको काम भइरहेकाले आगामी वर्षसम्म सर्भेको सबै काम सकिने भएको हो ।

 

भारत सरकारसँग भएको एमओयू अनुसार १८ महिनाभित्र उक्त सर्भे सकेपछि मात्र यस आयोजनाको कुल लागत अनुमान गर्न सकिने छ । भारतले यो सर्भे सुरू गरेको ८ महिना भएको छ । आगामी आर्थिक वर्षभित्र मात्र उक्त सर्भे सम्पन्न हुने रेल विभागका महानिर्देशक दीपककुमार भट्टराईले बताए ।

 

उनले फाइनल सर्भे नसकेसम्म यसको लागत कति लाग्ने, जमिन कति आवश्यक पर्छ र कसले लगानी गर्ने भन्ने कुरो टुंगो लाग्ने बताए । ‘अहिलेसम्म भारतले अध्ययन गरिरहेको छ । यो सर्भेको रिपोर्ट नआएसम्म यसको निर्माण कसरी गर्ने, कस्ले लगानी गर्ने त्यो सब रिपोर्ट पछि गर्ने कुरा हुन,’ भट्टराईले चाणक्य पोष्टसँग भने ।

 

भारतले आफैं रेल निर्माण गर्ने भयो भने पनि नेपाल सरकारले जग्गा उपलब्ध गराउनु पर्नेछ । रक्सौल-काठमाडौं रेलमार्गको लम्बाइ १३५ किलोमिटर हुने छ । भारतले गरेको प्रारम्भिक इन्जिनियरिङ तथा ट्राफिक सर्वेक्षणको रिपोर्टले यो लम्बाइ उपयुक्त हुने आकलन गरेको हो ।

 

भारतीय कम्पनी कोंकण रेलवे कर्पोरेसन लिमिटेड (केआरसीएल)ले तयार पारेको प्रारम्भिक रिपोर्टमा यो रेलमार्ग निजगढ हुँदै बनाउन प्रस्ताव गरेको छ । रक्सौल–काठमाडौं रेलमार्गका लागि पीईटी सर्भे (प्रिमिलरी इन्जीनेरिङ कमट्राफिक सर्भे) सम्पन्न भइसकेको छ । भारतसँग जोडिने अन्तरदेशीय यो रेलमार्ग ब्रोडगेजमा नै बनाउने गरी प्रारम्भिक रिपोर्ट आएको रेल विभागमा प्रवक्ता अमन चित्रकारले जानकारी दिए ।

 

यो प्रस्ताव प्रारम्भिक मात्रै भएकाले रेलमार्गको अनुमानित लागतको विषय यसमा समावेश नभएको छैन । प्रस्तावित रेलमार्गमा ४५ किलोमिटर खण्डमा सुरूङ रहने भएको छ । ४५ किलोमिटर सुरूङभित्रै रेलमार्ग बनाउनुपर्ने छ । विभिन्न स्थानमा साना ठूला गरी करिब ३५ वटा पुल पनि बनाउनुपर्ने देखिएको चित्रकारले बताए ।

 

यो प्रतिवेदन तयार हुनुअघि भारतीय कम्पनीले नेपाललाई दुई रुटको विकल्प दिएको थियो । १९० किलोमिटर र १३५ किलोमिटरको रेलमार्गमध्ये एक विकल्पमा यो रेलमार्ग तयार गर्न सकिने भन्दै भारतीय पक्षले एउटा छनोट गर्न भनेको थियो ।

 

१३५ किलोमिटरमा छोट्याएर निर्माण गर्दा भविष्यमा केही समस्या आउन सक्ने जानकारी भारतीय प्राविधिकले दिएका थिए । १९० मिलोमिटर र १४० किलोटिरमा बनेको रेलमार्गमा गुड्ने रेल लगभग एउटै समयमा काठमाडौं ओहोर–दोहोर गर्न सक्ने भरतीय पक्षको भनाइ थियो । नेपालले भने रेलमार्गको लम्बाइ पनि छोटो हुनुपर्ने र प्राविधिक हिसाबले लाभदायी पनि हुनुपर्ने बताएको थियो ।

 

नेपालले भविष्यमा मर्मत सम्भार र सञ्चालन गर्न सबैभन्दा सजिलो हुने विकल्पमा नै रेलमार्गको नक्सांकन गर्न भारतलाई भनेको थियो । त्यसकै आधारमा १३५ किलोमिटरमै रेलमार्ग बनाउने गरी भारतीय कम्पनीले प्रतिवेदन दिएको हो ।

 

ब्रोडगेजमै अध्ययन

 

यो रेलमार्गको प्रारम्भिक अध्ययन नै ब्रोडगेजमा गर्ने गरी समझदारी भएको थियो । तर, अध्ययन सुरू भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले यसलाई स्ट्यान्डर्ड गेजमा बनाउन प्रस्ताव ग¥यो । तर, भारतले समझदारी अनुरुप ब्रोडगेजमै बनाउने गरी रिपोर्ट दिएको छ ।

 

नेपाल र भारतबीच रक्सौल–काठमाडौं रेलमार्गको प्रारम्भिक सम्भाब्यता अध्ययनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको थियो । तर, त्यसअघि नै भारतले यो रेलमार्गको प्रारम्भिक सम्भाव्यता अध्ययनका लागि फिल्ड वर्क सकिसकेको थियो । भारतीय रेल्वे प्राविधिकले २०७५ को जेठ २५ गतेबाट प्रारम्भिक सम्भाव्यता अध्ययन सुरू गरेका थिए । अध्ययनका लागि भारतीय रेल्वेका कन्सल्टेन्टहरू नेपाल आएका थिए ।

 

वीरगञ्जबाट आउने रेल चोभारसम्म ल्यााउने योजना छ । सरकारले त्यसअघि नै वीरगञ्ज–काठमाडौं रेलमार्गका लागि अध्ययन प्रक्रिया अघि बढाइसकेको थियो । तर, भारतले नै आफ्नै खर्चमा अध्ययन गर्ने भएपछि विभागले अन्तिम चरणमा पुर्याएको कम्पनी छनोट प्रक्रिया पनि स्थगित गरेको थियो ।

 

चीनकोभन्दा बनाउन सजिलो

 

रक्सौलबाट निजगढ हुँदै काठमाडौंसम्म आइपुग्ने रेलमार्ग केरुङ हुँदै काठमाडौंसम्म आउने रेलमार्ग भन्दा केही सहज तरिकाले निर्माण गर्न सकिने अध्ययनले देखाएको छ । यो क्षेत्रको भूगर्भ चीनसँगको प्रस्तावित रुटको भन्दा केही सजिलो छ । तर, चुरे क्षेत्रजस्तो संवेदनशील भूभाग पनि यही खण्डमा पर्ने भएकाले त्यसले जटिलता ल्याउन सक्ने अनुमान गरिएको छ ।

 

अब प्रारम्भिक सम्भाव्यता अध्ययनको रिपोर्टको अध्ययनपछि डीपीआर निर्माणका लागि भारतसँग छलफल सुरू हुने यातायात मन्त्रालयका अधिकारीहरू बताउँछन् ।हाल रक्सौलदेखि विरगञ्जसम्म खण्डमा रेलमार्ग बनिसकेको छ । यो रेलमार्ग यात्रु ओसारपसारका लागि नभई कोलकाता हुँदै रक्सौल आएको मालसामान वीरगञ्जको ड्राइपोर्टसम्म ल्याउनका लागि प्रयोग हुन्छ ।

 

नेपाल–भारत दुई देशका प्रधानमन्त्रीका वीचमा यो खण्डमा रेलमार्ग निर्माणका लागि डीपीआर र फन्डिङ मोडालिटी तयार गर्ने पनि सहमति भइसकेको छ ।

 

नेप्सेमा लगातार तेस्रो दिन बढोत्तरी, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Previous

नेप्सेमा लगातार तेस्रो दिन बढोत्तरी, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

नीति तथा कार्यक्रममाथि दुवै सदनमा ९१ बुँदामा संशोधन प्रस्ताव Read Next

नीति तथा कार्यक्रममाथि दुवै सदनमा ९१ बुँदामा संशोधन प्रस्ताव