काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । मंगलबार संघीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरेकी हुन् ।
नीति तथा कार्यक्रममा आयात प्रतिस्थापन, निर्यात प्रवद्र्धन, आन्तरिक उत्पादन वृद्धि, रोजगारी सिर्जना, ऊर्जा, उच्च आर्थिक वृद्धिलगायतको लक्ष्य लिइएको छ ।
सरकारले कृषि उत्पादन वृद्धि गर्न प्रोत्साहन गर्ने, कृषकलाई सहुलियत दिने, विभिन्न राजमार्ग ४ लेनका विस्तार तथा सुरुङ निर्माण, खानेपानीदेखि ग्यास विस्थापनसम्मका कार्यक्रमहरु ल्याएको छ ।
सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा भैरहवा सेज विस्तार गरिने उल्लेख छ । सरकारले अन्तदेशीय व्यापार सडक पूर्वाधार विकासलाई समेत नीति तथा कार्यक्रममा समावेस गरेको छ ।
यस्तै भैरहवा र नेपालगञ्जको आईसीपी निर्माणलाई प्राथमिकता दिने आगामी नीति तथा कार्यक्रममा उल्लेख छ ।यसैगरी सरकारले खाना पकाउने ग्यासको विस्थापनका लागि समेत कार्यक्रम ल्याएको छ । यसका लागि सरकारले आगामी वर्षमा विद्युतको महसुल दरमा समेत पुनरावलोकन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ । साथै विपन्न वर्गलाई निःशुल्क विद्युत मिटर वितरण गर्ने कार्यक्रम समेत घोषणा भएको छ ।
सरकारले सिमावर्ती व्यापारिक नाकामा सहरी पूर्वाधारको विकास गर्ने नीति तथा कार्याक्रममा उल्लेख गरेको छ । उक्त सहरलाई आर्थिक केन्द्रको रुपमा विकास गरीने घोषणा भएको हो ।
आगामी नीति तथा कार्यक्रममा कृषिमा यान्त्रिकीकरण र व्यवसायीकरणलाई समेत जोडिएको छ । आगामी वर्षको बजेटमार्फत कृषि उत्पादन बढाउनुका साथै बजारीकरण गर्दै आयात प्रतिस्थापन गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
कार्यक्रममा धान मकै, आलु, प्याज, ओखर जस्ता बालीको आयात विस्थापन गर्ने गरी स्वदेशमै उत्पादन बढाउन विशेष कार्यक्रम अघि बढाइने उल्लेख छ ।
यस्तो छ सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ :