काठमाडौं । सेयर बजारमा दोहोरो अंकको कमब्याक भएको छ । गत साता लगातार दोहोरो अंकले घटेको नेप्से आज दोहोरो अंकले लयमा फर्केको हो ।
सूचकमा सुधार आए पनि आज कारोबार रकममा भने गिरावट आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम २८ करोडले घटेर १ अर्बमा सीमित भएको छ ।
मंगलबार नेप्से १६.३२ अंकले बढेर २२१७.२० विन्दुमा पुगेको छ । यसदिन २२४ कम्पनीको १ अर्ब ८ करोड ८८ लाख ३३ हजार ५४२ रुपैयाँ बराबरको ३१ लाख ७३० कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये म्युचुअल फण्ड र व्यापार बाहेक बाँकी सबै समूहको परिसूचकमा हरियाली छाएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै २.०६ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक र फाइनान्स समूह पनि १ प्रतिशतभन्दा धेरैले बढेको छ ।
आज एनआइसी एशिया लघुवित्तको प्रमोटर सेयरको सर्वाधिक कारोबार भएको छ । यसको पौने ५ करोड रुपैयाँ बढीकोे सेयर किनबेच भएको छ । त्यसैगरी, माथिल्लो तामाकोशी साढे ४ अर्ब र र अरुण काबेली ४ अर्ब बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले बढेको बजारमा आज लक्ष्मी लघुवित्तको सेयर मूल्य सबैभन्दा धेरै ५.५९ प्रतिशतले बढेको छ । त्यस्तै, अपर तामाकोशी ५.५८, विजया लघुवित्त, हिमालयन ऊर्जा र नारायणी विकास बैंकको मूल्य ४ प्रतिशतभन्दा धेरैले बढेको छ ।
त्यस्तै, सिद्धार्थ इन्स्योरेन्स, किसान लघुवित्त, कालिका पावरका सेयरधनीले साढे ३ प्रतिशत कमाएका छन् भने शिवश्री हाइड्रोपावर, शिवम् सिमेन्ट, रुरु जलविद्युत्, घलेम्दी हाइड्रोपावर लगायत आधा दर्जन कम्पनीको मूल्य ३ प्रतिशतले बढेको छ ।
बढ्दो बजारमा आज कर्पोरेड डेभलपमेन्ट बैंकको सेयर मूल्यमा भने नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।