पढाउन छाडेर कृषिमा होमिएका मित्रलाल, यसरी मार्दैछन् व्यवसायिक फड्को

काठमाडौं । मित्रलाल तिवारी कुनै परिचित नाम हैन । उनी एक किसानका छोरा हुन्, जो आफैं पनि कृषि गर्दै यस क्षेत्रलाई व्यवसायिक बनाउँदै छन् । २०१९ सालमा गण्डकीको स्याङजा वालेङमा जन्मेका उनीले कक्षा १२ सम्मको अध्ययन गरेका छन् ।

 

स्थायी जागिरमा नाम निकालेर काम गर्ने सपना देखेका उनले २०४४ सालमा शिक्षण पेसा थालेका थिए । उनले विद्यालयमा प्रावि हुँदै माविसम्मका विद्यार्थीलाई पढाउने गर्थे । ३१ वर्षसम्म विद्यालयमा शिक्षण पेसा गरेका उनले बुवा बितेपछि ५/६ वर्ष बाजो रहेको जमिनमा व्यवसायिक खेती सुरू गरेका हुन् ।

 

उनले नवलपरासी जिल्ला हुक्सीकोटको आफ्नै जग्गामा २०५२ सालदेखि केरा खेती सुरू गरेका हुन् । उन्ले सुरूमा १ विघाबाट केरा खेती सुरू गरेका थिए । सुरूआती समयमा केराको उत्पादन राम्रो भएपछि जोसजाँगरले भरिपूर्ण उनले थप २ विघा जमिनमा केरा लगाएको बताए । विस्तारै राम्रो बजार पाउन नसकेपछि ०६२ सालमा उनले केरा खेती गर्न छाडे ।

‘केरामा बजार पनि पाइएन, बजार पाउँदा भाउ पाइएन्, भारतबाट धेरै आउँछ प्रतिस्पर्धा बढ्यो, केरा लगेर सबै पैसा पनि दिएनन् अनि छोडियो,’ तिवारीले भने ।

 

केराखेतीमा सफलता हात नलागेपछि घिउकुमारीतर्फ

 

केरामा भने जस्तो बजार नपाएपछि उनले घिउ कुमारीको व्यवसायिक खेती गर्ने सोच बनाए । उनले १५ कठ्ठा जमिनमा १० हजार विरुवाबाट घिउ कुमारीको खेती सुरू गरेका थिए ।

 

घिउ कुमारी राम्रो उत्पादन भए पनि बीउ दिने कम्पनी ठगी प्रकरणमा कारबाही भएपछि बजार नपाएर घिउ कुमारीको खेती पनि त्यहाँ रोकेका तिवारीले घिउ कुमारीमा ६ लाख रुपैयाँ घाटा व्यहोर्नु परेको थियो ।

 

शिक्षण पेसा गर्दै खेती गरिरहेका उनले घिउ कुमारीमा असफल भएपछि भने केही समय कृषिबाट टाढै रहेर शिक्षण पेसालाई मात्र निरन्तरता दिएका थिए । २०७० सालमा विद्यालयबाट स्वइच्छा अवकास लिएर उनले फेरि तरकारी खेती गर्ने सोच बनाए ।

करिब ४/५ वर्ष कृषि गर्न छाडेर विद्यालयलाई निरन्तरता दिएका उनले त्यस अवधिमा भने आफ्नै विद्यालय खोलेका थिए । ‘मैले स्वइच्छा अवकास लिएर खेती गरेको हुँ, घिउ कुमारी १५ कठ्ठामा १० हजार विरुवा लगाएको थिए, विश्वास लागेर शिक्षक पेसा गर्दै घिउकुमारी उत्पादन गरेको थिए,’ तिवारीले भने ।

 

पछि मित्रवाटिका कृषि फर्म भन्ने विद्यालय सञ्चालन गरेका उनले उक्त स्थानमा बालिकाहरुलाई कृषि सिकाउने गर्छन् । उनी हाल त्यहाँ प्राध्यापक रहेका छन् । उक्त विद्यालयलाई बाटुली तिवारीले चलाउँदै आएकी छन् ।

 

४÷५ वर्ष कृषि जमिन खाली रहेपछि फेरि तरकारीको व्यवसायिक खेती गर्ने उनले सोच बनाए । उनले हाल ३ विघा जमिनमा काँक्रो, करेला, लौका, बोडी, खुर्सानी लगायतका तरकारी रोपेका छन् । १० जना बढीलाई दैनिक रोजगार दिएका उनले हालसम्म ३० लाख रुपैयाँ बढी लगानी गरिसकेको बताए ।

 

दुःख गरे पनि उत्पादनले राम्रो मूल्य पाउँदैनन्

 

कृषि गरे पनि बजारसम्म पुर्याउन धेरै सास्ती व्यहोर्नु परेको बताउने उनी बजार मूल्य सोचे जस्तो पाउने नगरेको बताउँछन् । काठमाडौंको कालिमाटीसम्म तरकारी पुर्याउने गरेका उनले थोरै मात्रामा मात्र तरकारी स्थानीय बजारमा बेच्ने गरेका छन् । कोभिडको समयमा तरकारी बजारसम्म पुर्याउन धेरै कष्ट व्यहोरेका उनले उचित बजार मूल्य पाउन गाह्रो परेको बताए ।

वर्तमान अवस्थामा भारतबाट ठूलो मात्रामा तरकारी आयात हुने गरेका कारण प्रतिस्पर्धा गर्न नसकिने उनको भनाइ छ । सरकारको तर्फबाट प्लास्टिक, ट्रयाक्टरमा केही राहत पाएका उनी सरकारले अझै राम्रो अनुदान तथा कृषि सामग्री उपलब्ध गराउन नसकेको बताउँछन् ।

 

‘बजार मूल्य पाउन गाह्रो छ, भारतबाट आउने तरकारीसँग प्रतिस्पर्धा गर्नुपर्छ, किसानले आम्दानीको रूपमा कृषि गरेर बस्न सक्ने अवस्था सरकारले अझै सृजना गर्न सकेको छैन,’ तिवारीले भने ।

 

उनले बीउ विजन र सिचाइँको अभावका कारण व्यवसायिक कृषिमा अघि बढ्न सक्ने अवस्था सरकारले अझै बनाउन नसकेको बताए । कृषिमा किसानले नाफा कमाउन सक्ने अवस्था सृजना गर्न सरकारले अनुदान, तथा कृषि सामग्रीमा सुलभता व्यवस्थापन गर्नुपर्ने उनी बताउँछन् ।

 

गत वर्ष काँक्रो लाउदा ५ लाख हाराहारीमा बेचेका उनले यो वर्ष भने हावा लागेर सबै ओइलाएको बताए । यो वर्ष उनले काँक्रोमा मात्र ४ लाख रुपैयाँ घाटा व्यहोर्नु परेको बताए ।


उनले तरकारी खेतीमा भने धान खेतीभन्दा राम्रो उत्पादन भएको बताए । मौसम अनुसार तरकारी उत्पादन गर्न सके राम्रै हुने भए पनि यो पटक भने भक्तपुरे काँक्रोको बीउ लगाउँदा लु लागेको बताए ।

 

बोडी नबिक्दा ३ रुपैयाँ किलोमा पनि बेच्नुपर्यो

 

उनको खेतमा १ दिन बिराएर ३ क्वीन्टलसम्म तरकारी उत्पादन हुने गरेको बताए । उत्पादन धेरै हुँदा ३ रुपैयाँ किलो बोडी बेचेका उनले थोरै उत्पादन हुँदा १२० रुपैयाँसम्ममा पनि तरकारी बेचेको बताए । ‘धेरै उत्पादन हुँदा ३ रुपैयाँ केजी बेचेको थिए, कहिलेकाहीँ १५ केजी मात्र उत्पादन हुँदा १२० रुपैयाँ केजी पनि बेच्नु परेको अवस्था छ,’ तिवारीले भने ।

 

उनले कृषि तथा शिक्षण पेसा बाटै आफ्नो ९ जनाको परिवार पालेका छन् । २ छोरा १ छोरी रहेका उनको एक ठाउँमा भएको जमिनमा छोराले कृषिमा सघाउँदै आएका छन् । उनी आफू पछिको पुस्ता कृषि पेसाबाट अन्तै पलायन हुने डरमा आफै लागेर कृषिलाई अग्रता दिँदै आएका छन् ।

 

हिमालयन हाइड्रोपावरको आइपीओ भर्ने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ? Read Previous

हिमालयन हाइड्रोपावरको आइपीओ भर्ने म्याद थप, अब कहिलेसम्म भर्न पाइन्छ ?

काठमाडौं महानगरले सार्वजनिक बिदाको दिनमा पनि सेवा दिने Read Next

काठमाडौं महानगरले सार्वजनिक बिदाको दिनमा पनि सेवा दिने