काठमाडौं । रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको खुद नाफामा उछाल आएको छ । कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत वर्षको तुलनामा चालु आवमा खुद नाफा साढे २२ गुणाले बढेको छ ।
कम्पनीले चालु आवको चैत मसान्तसम्ममा ४८ करोड ३८ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत वर्षको सोही अवधिको तुलनामा २१५८.३४ प्रतिशत बढी हो । कम्पनीले गत वर्षको चैतसम्म २ करोड १४ लाख खुद नाफा कमाएको थियो ।
विद्युत् विक्री र लगानी तथा अन्य आम्दानीमा उल्लेख् वृद्धि हुँदा कम्पनीको नाफामा उछाल आएको हो । समीक्षा अवधिमा कम्पनीको लगानी तथा अन्य स्रोतबाट प्राप्त हुने आम्दानी १५२४.२२ प्रतिशत बढेर ६० करोड ५१ लाख रुपैयाँ पुगेको छ । त्यस्तै, विद्युत् विक्रीबाट प्राप्त हुने आम्दानी ४७.१४ प्रतिशतले बढेर १० करोड ८२ लाख रुपैयाँ पुगेको छ ।
हाल ५८ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको रिजर्भ कोषमा ४८ करोड ४१ लाख रुपैयाँ संचित छ । समीक्षा अवधिमा कम्पनीको रिजर्भ कोष २०५४.८६ प्रतिशतले बढेको हो ।
खुद नाफा बढेसँगै कम्पनीको प्रतिसेयर आम्दानी २१५८.३४ प्रतिशतले बढेको छ । गत वर्ष ४.८८ रुपैयाँ रहेको कम्पनीको प्रतिसेयर आम्दानी बढेर ११०.१७ रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १८२.६८ प्रतिशत रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात ७.६१ गुणा छ ।