काठमाडौं । सेयर बजारमा उछाल आएको छ । यस साता आइतबारदेखि उकालो लागेको नेप्सेमा आज पनि उच्च अंकले वृद्धि भएको हो । पछिल्ला ३ दिनमा नेप्से ७५ अंकले बढेको छ ।
सूचकमा उछाल आए पनि कारोबार रकम भने बढ्न सकेन । अघिल्लो दिनको तुलनामा कारोबार रकम ४ करोडले बढेर १ अर्ब ३५ करोड रुपैयाँमा सीमित भएको छ ।
मंगलबार नेप्से ४४.१६ अंकले बढेर २३१३ विन्दुमा पुगेको छ । यसदिन २२६ कम्पनीको १ अर्ब ३५ करोड ६६ लाख ८७ हजार ४६९ रुपैयाँ बराबरको ३३ लाख ३० हजार १५० कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचकमा हरियाली छाएको छ । हाइड्रोपावर समूह सबैभन्दा धेरै ३.८ प्रतिशतले बढेको छ । त्यस्तै, फाइनान्स समूह पनि ३ प्रतिशतले बढको छ ।
आज करोबारमा आएको २२६ कम्पनीमध्ये १९६ कम्पनीको सेयर मूल्य बढेको छ भने २० कम्पनीको मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज ङादी ग्रुपको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै १० करोड रुपैयाँकोे सेयर किनबेच भएको छ । त्यसैगरी, अरुण भ्याली हाइड्रोपावर ४ करोड र नेपाल टेलिकम पौने ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
उच्च अंकले बढेको बजारमा आज ४ कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । जाल्पा लघुवित्त, वरुण हाइड्रोपावर र ङादी ग्रुप पावरको सेयर मूल्य ठ्याक्कै १० प्रतिशत बढेको छ भने युनिभर्सल पावरको मूल्य पनि करिब १० प्रतिशत बढेको छ ।
त्यसैगरी, दिव्यश्वरी हाइड्र ९.१७, नेशनल हाइड्रो ९.०८, राधि विद्युत् ८.८९, आँखुखोला ८.२१, लिबर्टी इनर्जी, युनाइटेड इदीमर्दी, सेन्टर फाइनान्सको सेयर मूल्य साढे ७ प्रतिशतले बढेको छ । त्यस्तै, जोशी, सिंगटी, घलेम्दी र मैलुङ खोला हाइड्रोपावरको मूल्य ६ प्रतिशतभन्दा धेरैले बढेको छ ।