काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आइतबार १७ अंकले बढेको नेप्से आज पनि दोहोरो अंकले बढेको हो । पछिल्ला दुई दिनमा नेप्से ३० अंकले बढेको छ ।
सूचकसँगै आज कारोबार रकममा पनि झिनो बढोत्तरी आएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम ७ करोडले बढेर १ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ ।
सोमबार नेप्से १२.२७ अंकले बढेर २२६८.८४ विन्दुमा पुगेको छ । यसदिन २२२ कम्पनीको १ अर्ब ३९ करोड ६ लाख ७ हजार ७०२ रुपैयाँ बराबरको ३३ लाख २४ हजार ८२२ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटा समूहमध्ये ९ समूहको परिसूचकमा हरियाली छाएको छ भने ४ समूहको परिसूचक राताम्मे भएको छ । व्यापार समूह सबैभन्दा धेरै १.७४ प्रतिशतले बढेको छ भने होटल समूह ०.८८ प्रतिशतले घटेको छ ।
आज करोबारमा आएको २२२ कम्पनीमध्ये १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने ७५ कम्पनीको मूल्य घटेको छ । १५ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको साढे ७ करोड रुपैयाँकोे सेयर किनबेच भएको छ । त्यसैगरी, एनआइसी एशिया बैंक ५ करोड र हिमालयन डिस्ट्रीलरीक पौने ५ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
दोहोरो अंकले बढेको बजारमा आज जाल्पा लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत कमाएका छन् ।
यसैगरी, महुली लघुवित्त ७.७७, उन्नति सहकार्य ६.२७, सानिमा लार्ज क्याप ५.७७, आएरएसडीसी लघुवित्त, मैलुङ खोला जलविद्युत् र तारागाँउ रिजेन्सीको सेयर मूल्य ५ प्रतिशतले बढेको छ । त्यस्तै, तेह्रथुम पावर, इन्फिनिटी लघुवित्त र विजया लघुवित्तको सेयर मूल्य ४ प्रतिशतले बढेको छ ।