यस कारण मैले बालेनलाई रू. १०० दिएँ

काठमाडौं । स्थानीय तहको चुनाव आउन अब ३ दिन मात्र बाँकी छ । पूरै देश चुनावमय बनेको छ । गाउँदेखि सहरसम्म चुनावी सरगर्मीले तातेको छ । राजनीतिक दलका उमेदवारदेखि कार्यकर्ता, शीर्ष नेतासम्म चुनावी माहोल बनाउन होमिएका छन् ।

 

यतिबेला, दूरदराजका गाउँदेखि सहरका गल्लीगल्लीमा चुनावी नारा घन्किन थालेका छन् । ५ वर्षअघि चुनाव जितेर टाप भएका नेताहरू समेत अहिले मुख देखाउन जनताको घरदैलोमा टेक्न थालेका छन् । अघिपछि जनताको दुःख, पीडा, समस्या नदेख्ने नेताहरूलाई अहिले झुटा सपनाको व्यापार गर्न भ्याइनभ्याइ छ ।

 

पार्टीका उमेदवारहरू लाजै नमानी मलाई जिताउनुस्, तपाईंका सबै समस्या समाधान गरिदिन्छु भन्दैछन् । कार्यकर्ता उसैको बोलीमा गुटुटु.. ताली बजाइरहेका छन् । विगतमा गरेको प्रतिबद्धता कति पूरा भए त्यसको लेखाजोखा (अडिट) छैन, तर फेरि हावादारी उडन्ते सपना देखाइरहेका छन् । सोझासाझा जनतालाई विकास र समृद्धिका हावादारी सपना देखाइ रहेका छन् ।

 

मलाई राजनीतिमा पटक्कै चासो छैन र लाग्दैन पनि । किनभने नेपालका राजनीतिक दल र तिनका नेताले राजनीतिलाई ‘लाजनीति’ बनाएको देखेको छु भोगेको छु । नातावाद, कृपावादबाट गुज्रिएका दलहरूबाट जनताले होइन , आसेपासे र पहुँचमा भएकाले मात्रै लाभ पाएको टुलुटुलु हेरिरहेको छु । त्यसैले मलाई राजनीतिप्रति चासो होइन, घृणा र वितृष्णा जाग्छ ।

 

अहिले घर, टोल, अफिस जताततै चुनावको चर्चा छ । मलाई चासो नभए पनि अरुले गरेको कुराकानी सुन्छु, जताततै भोट माग्नेको ताँति देख्छु । दूरदराजका गाउँमा समेत चुनावी माहोलले तातेको बेला काठमाडौं नतात्ने कुरै भएन । यो त झन् देशकै राजधानी ।

 

जताततै चर्चा सुनेँ, अनि बालेन खोज्न थालेँ

 

काठमाडौं महानगरबाट कुन दलका कति उमेदवार मेयरका लागि उठेका छन् । तिनीहरूलाई म चिन्दिन । तर, स्वतन्त्र उमेदवार बालेन शाहको चर्चाले भने मलाई पनि महानगरको एक जना उमेदवार बारे जानकारी लिन बाध्य बनायो ।

 

बालेन को हुन त थाहा थिएन तर, उनी पनि यो पटक काठमाडौंबाट मेयरका लागि स्वतन्त्र उमेदवारीमा उठेका छन् रे । फेसबुक, ट्वीटर, टिकटक, युट्युब जताततै ‘भोट फर बालेन’को नारा छ, उनकै चर्चा छ । घर, अफिस, चियाचौतारा जता पनि उनकै चर्चा छ । सबैको कुरा सुन्दा मलाई पनि उनको बारेमा केही जान्ने बुझ्ने इच्छा लाग्यो ।

 

र, फेसबुकमा बालेन शाह भनेर सर्च गरेँ । हिपहप र्याप गायक पनि रहेछन् उनी । उनको नाउमा ‘भोट फर बालेन’ भन्दै र्याप गीतको पनि लस्कर भेटियो । खासै हिपहप गीत सुन्न नरुचाउने मैले आज भने बालेनका हिपहप गीत सुने । देशमा भएका घुस, कुराजनीति र व्यथितिका विषयकै उनले धेरै गीत गाएका रहेछन् । सुन्दै जाँदा मलाई उनी प्रति अझ चासो बढ्यो । मोबाइलमा फेसबुकका भित्ताहरू स्क्रोल गर्दै गए । स्क्रोल गर्दै जाँदा मैले एउटा गीत भेटे जसमा बालेन आफैंले गाएका रहेछन् ।

 

‘देशको रक्षा गर्ने सबै चुकिया छन्
नेता जति सबै चोर देश लुटी राछन्
आमाको सारीमा कट्टु सोची मुति राछन्
खाने बेला एक गर्ने बेला टुटी राछन्…’

 

हो, उनका यिनै शब्दले मेरो मन छोयो । अर्थात् विद्यमान देशको राजनीतिक यर्थाथ र प्रवृत्ति छर्लङ देखेँ । उनका शब्दमा सत्यता भेटेँ । उनको बारेमा जान्नलाई युट्यूब र फेसबुक पर्याप्त थियो । विभिन्न टीभीमा आएका आधादर्जन बढी अन्तर्वार्ता हेरेँ । महानगरको एउटा उमेदवार बालेनलाई चिँने ।

 

दलका हावादारी सपना भर्सेस बालेनका साधारण योजना

 

म काठमाडौं महानगरको स्थायी वासिन्दा नभए पनि २ दशकदेखि यहीँ बस्दै आएको छु । शिक्षा र रोजगार प्राप्तिका लागि लामो समयदेखि म धुलो खाँदै यहीँको खाल्डाखुल्डी सडकमा थुपारेको डुङडुङ गहनाउने फोहोर सुँग्धै हिँड्न बाध्य छु ।

 

मेरो डेरादेखि कार्यालयसम्म पुग्ने सडकमा विशेष गरी जेठ, असार, साउनमा फोहोर नै उठ्दैन । सिस्डोलमा फोहोर फाल्ने ठाउँ भरियोरे अर्को ठाउँको व्यवस्थापन भइनसक्दासम्म सिस्डोलमै फोहोर फाल्न गाडी पुग्न सकेन भन्ने कुराहरू हरेक समाचार पत्रमा ७/८ वर्षदेखि दोहोरिँदै आएको कुरा हो ।

 

मलाई याद छ । अघिल्लो चुनावको बेला विद्यासुन्दर मेयरका लागि उठ्दै गर्दा ‘काठमाडौंलाई धुलो मुक्ता बनाउँछु, नो मास्क’ भन्दै नारा लगाउँदै हिडेका थिए । उनले काठमाडौंको धुलो उठाउन करोडौं खर्चेर विदेशबाट ब्रुमर त ल्याए तर, धुलोको अवस्था उही छ । सुन्छु अहिले तिनै ब्रुमर मध्ये केही थन्केर बसेका छन् रे ।

 

बालेनका अन्तर्वार्ता सुन्दै/हेर्दै जाँदा उनका भावी कार्ययोजना, विद्यमान हरेक समस्या र चुनौतीको समाधानका उपाय बारे बुझेँ । मोनो, मेट्रो रेल, पानी जहाज लगायत हावादारी सपना देखाउनेभन्दा भएकै समस्याका समाधान गर्ने उनका योजना सयौं गुणा राम्रो लाग्यो ।

 

फोहोर व्यवस्थापन, ट्राफिक व्यवस्थापन, स्वास्थ्य, शिक्षा, रोजगारी, कला, संस्कृतिको जगेर्ना लयायतमा उनका ठोस योजना साँच्चिकै व्यवहारिक र सजिलै कार्यन्वयन गर्न सकिने खालका छन् । महानगरवासीलाई ठूला सपना र योजना चाहिएको छैन । चाहिएको छ त, सडकमा खाल्डा नहोस्, फोहोर नथुप्रियोस्, जाममा घण्टौं बस्न नपरोस् लगायत ।

 

बालेन शाहले भनेको मलाई सबैभन्दा बढी मन छोएको कुरा हो हरिवंश आचार्य र मदन कृष्ण श्रेष्ठको ‘ढलमती’ टेलिश्रृंखला । म र मेरा परिवारका सदस्य सबै बसेर त्यो नाटक हामीले ५ पटक भन्दा बढी युट्युबमा हेरेका छौं। उनले त्यो कार्यक्रमलाई महानगरकै स्पोन्सरमा बनेर पनि किन कार्यान्वयनमा आउन सकेन भन्ने कुरा उठाएका थिए । मलाई पनि त्यो सिरियल हेर्दा सधैं त्यस्तै लाग्थ्यो ।

 

र, आज लाग्दै छ बालेनको योजना कार्यन्वयन भए त्यो सम्भव छ । जुन ढल वाग्मती खोलामा गएर मिसेको छ, त्यसलाई प्यूरीफाइ गरेर खोलामा सफा पानी फ्याक्न मिल्ने भनेर जुन उनले आफ्नो इन्जिनीयरिङ कला देखाउँदै बुद्धिमानी कुरा गरेका छन् त्यो कुराले पनि मलाई उनी प्रति भर पर्न अझ उक्साइ रहेको छ । उनले जस्तै तर्कसहित अहिलेसम्म कोही नेता देखेको थिइँन् । जो अहिलेसम्म पदमा आए उनले गफ मात्र दिए ।

 

र अब मलाई काठमाडौंको मुहार फेर्न मेयरमा बालेन शाह नै आउनुपर्छ लागेको छ ।  यद्यपि, त्यो मेरो रहर मात्र हुन पनि सक्ला  ।

 

अर्को तर्फ उनी आफैं प्रोफेशनल इन्जिनीयर हुन । जसले इन्जिनीयरिङमा मास्टर्स डिग्री गरेका छन् । पढेलेखेका नेता आएनन् भन्ने सोचको म उनी सिभिल इन्जिनीयर हुन भन्ने थाहा पाउँदा उनलाई उपत्यकालाई कस्तो बनाउन सकिन्छ, कतिसम्म परिवर्तन गर्न सकिन्छ धेरै ज्ञान भएको मान्छु । कंक्रीटले भरिएको यो उपत्यकालाई व्यवस्थित बनाउन उनको सिभिल इन्जिनीयरिङको ज्ञान निकै उपयोगी हुने मैले बुझेको छु । त्यसैले गर्दा पनि म काठमाडौंको मेयरको रूपमा बालेन शाहलाई देख्न चाहन्छ, देख्ने सपना छ ।

 

उनले भनेको अर्को कुरा मलाई मन परेको कुरा काठमाडौंलाई स्वीजरल्याण्ड, सिङ्गापुर जस्तो हैन, भक्तपुर, पाटन जस्तो बनाउनु पर्छ । काठमाडैंमा म्यूजियन चाहिँदैन काठमाडौं आफै म्यूजियम हो । साँचै यो सत्य हो तर, यसलाई हाम्रा बोली विकासे नेताहरूले कंक्रिटका ठूला ठूला घर बनाएर धेरै कुरुप बनाएका छन् ।

 

उनले काठमाडौंको जामका व्यवस्थापन गर्ने विषयमा समेत राम्रो योजना ल्याएको देखियो । अफिस खुल्ने समय, पसल खोल्ने समय, स्कुल खोल्ने समय छुट्याइयो भने जाम कम गर्न सकिने बताएका छन् । उनको यो तर्क साँच्चिकै कार्यान्वयन योग्य मान्छु म । उपत्यकामा सीसीक्यामेरा राख्नेदेखि सिस्टम डिजिटलाइजका कुरा उनी बाहेक अर्को मेयरले आए भने गर्न सक्छन् भन्ने एक मनले पनि सोच्न सकेको छैन । किन भने यति राम्रो भिजन भएका मान्छेले गर्न सकेनन् भने एसएलसी पास र ८ पास भएकाले के नै गर्न सक्थे भन्ने प्रमाण हुनेछ ।

 

अनि बालेनको नाममा १०० रुपैयाँ दिएँ

 

मैले अहिलेसम्म कुनै पनि नेतालाई भोट हालेको छैन् । किन भने अहिलेसम्म मेरो विचार सोचसँग मिल्दो चित्त बुझ्दा कोही देखेकै थिइँन । बालेनको बारेमा बुझ्दै र सुन्दै गएपछि मलाई मैले खोजेको जस्तो नेतृत्व गर्न सक्ने एउटा नेता बालेन हुन भन्ने लागेको छ ।

 

उनले यो पटक मेयर जिते भने धेरै ठूलो परिवर्तनको कुरा सोच्न सक्दिन तर, साना साना परिवर्तन पक्कै गर्ने छन् भन्ने विश्वास जागेको छ । यद्यपि, त्यो कार्यान्वयनमा कतिको आउँछ भन्ने कुरा बालेनलाई जिताएपछि मात्र देखिने कुरा हो ।

 

सुनेको छु चुनावको बेला राजनीतिक दलका नेताहरूले करोडौं खर्च गर्छन् । उद्योगी, व्यापारी, ठेकेदार लगायतसँग करोडौं चन्दा असुल्छन् । अनि कार्यकर्ता किन्न, उनीहरूलाई मासुभात, बियर खुवाउन, गाडीघोडा चढ्न, ब्यानरमा आफ्ना फोटा खिचाउन लगायत खर्च गर्छन् । सुनेको छु पैसा खर्च गर्न सक्नेले मात्र चुनाव जित्छन् रे, केही हदसम्म सत्य पनि होला ।

 

बालेन राजनीतिक दलका उमेदवार होइनन् । तर, उनलाई पनि चुनावी अभियानका लागि केही रकम त पक्कै चाहिन्छ । उनलाई सहयोग गर्न धनाढ्य पार्टी छैन । त्यसैले उनले आफ्ना शुभेच्छुक, समर्थकसँग स्वेच्छिक चन्दा मागेका रहेछन् ।

 

उनले डिजिटल माध्यमको प्रयोग गर्दै वेबसाइट मार्फत डोनेसन माग गरेका रहेछन् । उनको भिजन र योजनाबाट प्रभावित मैले उनलाई कुनै ठूला आर्थिक सहयोग गर्न सक्छु न भोट हाल्न नै । तर, समर्थन स्वरूप उनको वेबसाइटमा राखिएको खातामा १०० रुपैयाँ सहयोग गरेँ । त्यसको स्क्रीन सर्ट मैले अझै आफ्नो मोबाइलमा राखेको छु । त्यो किन राखेको हुँ भने यदि मेयर जिते र उनले पनि अन्य नेताहरूले जस्तो धोका दिने काम गरे भने म अन्तैको भोटर भएर सहयोग गरेको थिएँ किन आफ्नो प्रतिबद्धता पूरा नगरेको भनेर प्रश्न गर्नेछु ।

 

बालेनको भिजन, योजना सबै मन परेको छ । यदि मेयर जिते भने पक्कै आफ्ना प्रतिबद्धता पनि पूरा गर्लान् । जितेर पनि काम गरेनन् भने उनी पनि उही ड्याङका मूला रहेछन् भनौंला ।

नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी Read Previous

नेप्सेमा दोहोरो अंकको वृद्धि, यी हुन् धेरै मूल्य बढ्ने १० कम्पनी

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा Read Next

श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा