काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आर्थिक वर्ष २०७९/८० का लागि १ खर्ब २० अर्ब रूपैयाँको बजेट सिलिङ पाएको छ । मन्त्रालयले १ खर्ब ५३ अर्ब रूपैयाँ बजेट अर्थ मन्त्रालयसँग माग गरेको भए पनि मागभन्दा ३३ अर्ब रूपैयाँ कम बजेट सिलिङ पाएको हो ।
मन्त्रालयले आफ्ना मातहतका सम्पूर्ण आयोजनाका लागि उक्त बजेट सिलिङ पाएको हो । कुल बजेट सिलिङमध्ये राष्ट्रिय गौरवका सडक आयोजनाले झन्डै आधा बजेट पाएका छन् ।
आगामी आवका लागि राष्ट्रिय गौरव आयोजना अन्तर्गतका सडक आयोजनाले कुल ५४ अर्ब ७४ करोड रुपैयाँ बजेट सिलिङ पाएका छन् । यो मन्त्रालयले पाएको कुल बजेट सिलिङको ४६ प्रतिशत हो ।
आयोजनाहरु मध्ये सबैभन्दा बढी रकम काठमाडौं–तराई–मधेस द्रुत मार्ग (फास्ट ट्रयाक)का लागि सिलिङ आएको छ । आगामी आर्थिक वर्षका लागि फास्ट ट्रयाकका लागि ३० अर्ब रुपैयाँ सिलिङ आएको हो ।
राष्ट्रिय गौरवका सडक आयोजना अन्तर्गत हुलाकी लोकमार्ग, पुष्पलाल लोकमार्ग, मदन भण्डारी राजमार्ग, उत्तर दक्षिण लोकमार्ग (कोशी करिडोर), उत्तर दक्षिण (कालिगण्डकी करिडोर), उत्तर दक्षिण (कर्णाली करिडोर), काठमाडौं–तराई द्रुतमार्ग निर्माण भइरहेका छन् ।
कुन आयोजनामा कति सिलिङ ?
काठमाडौं तराई/मधेस द्रुर्त मार्गः आगामी आर्थिक वर्षका लागि राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई÷मधेश द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणका लागि ३० अर्ब रुपैयाँ बजेट सिलिङ आएको छ ।
नेपाली सेनाले निर्माण गरिरहेको ७२ किलोमिटर लामो फास्ट ट्रयाकमा चालु आर्थिक वर्षभित्र सबै ठेक्का लगाउने लक्ष्य रहेको छ । आयोजनालाई तीव्र गतिमा अघि बढाइ तोकिएकै समयमै सक्ने लक्ष्यका साथ काम भइरहेको आयोजनाले जनाएको छ ।

फास्ट ट्रयाकमा ३ वटा सुरूङमार्ग ६.४१ किलोमिटर, ८७ वटा पुल १०.५९ किलोमिटर र ५५.५ किलोमिटर सडकखण्ड निर्माण गर्नुपर्ने हुन्छ । सोमध्ये सुरूङमार्ग र पुल निर्माणका लागि ठेक्का लागेर काम भइरहेको छ । चिनियाँ कम्पनीले २ वटा प्याकेजमा सुरूङमार्ग बनाइरहेका छन् ।
आयोजनालाई हाल ११ प्याकेजमा विभाजन गरी काम भइरहेको छ । हाल खोकना खण्ड बाहेक अन्य सबै क्षेत्रमा काम भइरहेको नेपाल सेनाले जनाएको छ । नेपाल सेनाका प्राविधिक प्रमुख सेनानी तथा फास्ट ट्रयाक निर्माणका कार्यान्वयन तथा अप्रेशन प्रमुख विश्वबन्धु पहाडीले चालु आर्थिक वर्षभित्र सबै ठेक्का लगाउन झण्डै ३० अर्ब रुपैयाँ बजेट आवश्यक पर्ने बताएका छन् ।चालु आर्थिक वर्षका लागि सरकारले ८ अर्ब ८४ करोड ४ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो ।
पुष्पलाल (मध्यपहाडी राजमार्ग) : आव २०६४/६५ देखि सुरू भएको पुष्पलाल राजमार्ग (मध्यपहाडी राजमार्ग) को लम्बाई १ हजार ८७९ किलो मिटर रहेको छ । मध्यपहाडी राजमार्र्गमा आगामी आवका लागि ९ अर्ब ३५ करोड बजेट सिलिङ पाएकोे छ ।
उक्त खण्ड अन्तर्गत १२९ पुलहरु रहेका छन् । पूर्वको पाँचथरको चियोभञ्ज्याङदेखि पश्चिमको बैतडी जिल्लाको झुलाघाटसम्म डबल लेन कालोपत्रको सडक तथा पुल निर्माण सम्पन्न गर्ने आयोजनाको लक्ष्य रहेको छ ।
चालु आवका लागि आयोजनामा १ अर्ब १५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । चालु आवभित्र आयोजना अन्तगैत ३४० किलोमिटर सडक कालोपत्रे गर्ने लक्ष्य रहेको छ । चालु आवमा २४ वटा पुल निर्माण गर्ने लक्ष्य रहेको विभागले जनाएको छ।
आयोजनाको प्रारम्भिक लागत ३३ अर्ब ३६ करोड रुपैयाँ मात्रै थियो । संशोधित लागत भने तीन गुणा बढेको छ । संशोधित लागत अनुमान १ खर्ब १ अर्ब ५० करोड रहेको छ ।यस्तै, मदन भण्डारी राजमार्गका लागि २ अर्ब ९२ करोड बजेट सिलिङ तोकिएको छ ।
हुलाकी राजमार्ग : हुलाकी राजमार्गमा आगामी आर्थिक वर्षका लागि ६ अर्ब रुपैयाँ बजेट सिलिङ आएको छ । आर्थिक वर्ष २०६६/६७ देखि सुरू भएको हुलाकी राजमार्ग आयोजना २०७९/८० मासम्म सक्ने लक्ष्य रहेको छ ।

आयोजनाको कुल लम्बाइ १ हजार ७९२.४२ किलोमिटर रहेको छ भने आयोजना अन्तर्गत २१९ वटा पुलहरु निर्माण गर्नुपर्ने छ । आयोजनाका लागि प्रारम्भिक लागत ४७ अर्ब २२ करोड रुपैयाँ अनुमान गरिएकोमा संशोधित लागत अनुमान करिब १८ अर्ब रुपैयाँ बढेर ६५ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।
उत्तरदक्षिण लोकमार्ग : उत्तर दक्षिण लोकमार्ग अन्तर्गत कर्णाली, कालिगण्डकी र कोशी करिडोर पर्दछ । उक्त करिडोरको निर्माणका लागि आगामी आवमा सरकारले ४ अर्ब ७० करोड रुपैयाँ बजेट सिलिङ छुट्याएको छ।
कोशी करिडोर अन्तर्गत खाँदबारीदेखि किमाथांकासम्मको १६२ किलोमिटर ट्रयाक खोल्ने काम हुँदैछ । २०६५/६६ मा सुरू भएको उक्त आयोजना २०८०/८१ मा सक्ने लक्ष्य रहेको छ । यस आयोजनाका लागि १३ अर्ब २० करोड लागत अनुमान गरिएको थियो ।
कालिगण्डकी करिडोरअन्तर्गत गैडाकोट–राम्दी–मालढुंगासम्म २४५ किलोमिटर सडकको ट्रयाक निर्माण तथा स्तरोन्नती गर्ने लक्ष्य रहेको छ । २०६६/६७ सालमा सुरू भएको यस आयोजना २०८०/८१ मा सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजनाको लागत अनुमान २० अर्ब २२ करोड रुपैयाँ रहेको छ ।
कर्णाली करिडोर अन्तर्गत हिल्सा–सिमिकोट सडक खण्डको ९५ किलोमिटर र सिमिकोट–सलिसल्लास सडक खण्डको ५० किलोमिटर सडक ट्रयाक निर्माण तथा पुल निर्माण काम भइरहेको छ । उक्त आयोजना अन्तर्गत ४ वटा पुल निर्माण हुनेछ । २०६९/७० मा सुरू भएको यस आयोजना २०७९/८० मा सम्पन्न गर्ने लक्ष्य रहेको छ । आयोजनाको कुल लागत ८ अर्ब ९० करोड रुपैयाँ अनुमान गरिएको थियो ।
मदन भण्डारी राजमार्ग : यस सडकले आगामी वर्षाका लागि २ अर्ब ९२ करोड रूपैयाँ बजेट सिलिङ पाएकाे छ । कुल १२५० किलोमिटर लामो यस सडक २०७५ जेठ ६ गते मन्त्रिपरिषद्बाट निर्णय भएसँगै निर्माण सुरू गरिएको थियो । आर्थिक वर्ष २०८१–८२ सम्म काम सम्पन्न गर्ने लक्ष्य रहेको यस आयोजनाको हालसम्म करिब ३८ प्रतिशत काम पूरा भएको छ ।
१२५० किलोमिटर मध्ये २८८ किलोमिटर कालोपत्र भएको छ भने ७४ वटा पुल निर्माण सकिएको छ । हालसम्म यस आयोजना अन्तर्गत १९ अर्ब बजेट खर्च भएको छ ।
नागढुंगा-नौबिसे सुरूङमार्ग : यस सुरूङमार्ग निर्माण तीव्र गतिमा अघि बढेको छ । आयोजनामा आगामी आर्थिक वर्षका लागि ७ अर्ब ७१ करोड रुपैयाँ बजेट सिलिङ तोकिएको छ । यो सुरूङमार्ग करिब २.७ किलोमिटर रहेको छ । हालसम्म सुरुङ खन्ने काम ५० प्रतिशत सम्पन्न भइसकेको छ ।
काठमाडौंतिरको पोर्टल चन्द्रागिरि नगरपालिका–१ को टुटीपाखामा रहनेछ भने धादिङतिरको पोर्टल धुनिबेंसी नगरपालिकाको सिस्नेखोलामा रहने छ । टनेलमा मुख्य दुई वटा लेन हुनेछ । बीचमा थप एउटा सानो साइड लेन छ । सवारी साधन बिग्रिए साइड लगाउन उक्त लेन प्रयोग हुनेछ ।