काठमाडौं । जेठदेखि शुक्रबार पनि सेयर बजार खुल्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको पूँजी बजारसम्बन्धी छलफलमा नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सेयर बजार हप्ताको पाँचै दिन खुल्ने बताएका हुन् ।
अहिले आइतबारदेखि बिहीबरसम्म साताको ५ दिन बजार खुल्दै आएको छ भने शुक्रबार कारोबार हुँदैन । सरकारले इन्धनको खपत घटाउन भन्दै जेठ १ गतेदेखि साताको दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिएकाले आइतबारको सट्टा शुक्रबार बजार खुल्ने भएको उनले बताए ।
सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय सेयर कारोबार प्रभावित हुने देखिएपछि धितोपत्र बोर्डले अध्ययन अघि बढाएको थियो ।
अध्ययनले शुक्रबार पनि बजार खोली कारोबार गर्नुपर्ने भनेको थियो । सोही अनुसार बोर्डले नेप्सेलाई शुक्रबार पनि कारोबार गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको बताइएको छ ।