काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले आज (वैशाख २२ गते)देखि प्राथमिक साधरण सेयर (आइपीओ) विक्री खुला गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्र सोलुखुम्बुको सोलु दुधकुण्ड नगरपालिका (साविकको टाकसेन्दु, बेनी, तामाखानी, सल्लेरी, गार्मा, केरुङ्ग, गोराखानी, टाप्टिङ्ग र तिङ्ला गाविस)का स्थानीय बासिन्दाहरुका लागि आइपीओ निष्काशन गरेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले १३ करोड ५० लाख रुपैयाँ बराबरको १३ लाख ५० हजार कित्ता आइपीओ विक्रीमा ल्याएको हो ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । स्थानीयले कम्पनीको आइपीओमा जेठ ५ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर विक्री नभएमा जेठ २० गतेसम्म आवेदन दिन पाइने छ ।
लगानीकर्ताले एनएमबीबैंक, लक्ष्मी बैंक, ग्लोबल आइएमई बैंक र प्राइम कमर्सियल बैंकका सोलुखुम्बु शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट सी आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरुबाट पनि आवेदन दिन सक्नेछन्।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक एनएमबी क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ्ग एजेन्सी इक्रा नेपाले इक्राएनपी आइआर डबल बी प्लस रेटिङ्ग दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जनाउँदछ ।
कम्पनीले सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिका हुँदै बहने सोलुखोलामा २३.५ मेगावाट क्षमताको आयोजना निर्माण गरिरहेको छ ।