काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले यही वैशाख २५ गतेदेखि प्राथमिक साधरण सेयर (आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र कास्कीको मादी गाउँपालिकाका स्थानीयका लागि आइपीओ निष्काशन गर्न लागेको हो।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरले ९ करोड रुपैयाँ बराबरको ९ लाख कित्ता सेयर जारी गर्ने भएको हो । यो कम्पनीको विद्यमान जारी पूँजी १ अर्ब ९ करोड ५० लाख रुपैयाँको ८.२२ प्रतिशत हो ।
कम्पनीको सेयरमा मादी गाउँपालिका वडा नं. १, २, ३, ४, ६ र ७ का स्थानीय बासिन्दाहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको आइपीओमा जेठ ८ गतेसम्म आवेदन दिन सक्नेछन् । सो अवधिमा सबै सेयर विक्री नभएमा ढिलोमा जेठ २३ गतेसम्म आवेदन दिन पाइने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्।
लगानीकर्ताले माछापुच्छ्रे बैंकको मादी, मुक्तिनाथ विकास बैंकको काहुँखोला, अमरसिंह, बुढीबजार, ग्लोबल आइएमई बैंकका लेखनाथ र न्यूरोड (कास्की), गरिमा विकास बैंकको सभागृह, महेन्द्रपुल, बाटुलेचौर, विरौटा, तल्लो गगनगौँडा, बुद्धचोक, तालचोक र हेम्जा शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सम्पूर्ण सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीको सेयर निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। कम्पनीको आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले इक्राएनपी आइआर बी प्लस रेटिङ दिएको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।