काठमाडौं । स्थानीय तहको चुनाव नजिकिएसँगै हवाई यात्रु बढेका छन् । चुनावी सरगर्मी बढेसँगै मानिसहरूको आवतजावत बढ्दा हवाई यात्रु बढेका हुन् ।
साथै, पछिल्लो समय कोरोना प्रभाव नगन्य हुँदा आन्तरिक तथा विदेशी पर्यटक बढ्दा पनि हवाई यात्रु बढेका हुन् । यात्रु बढेसँगै हवाई कम्पनीहरूले जहाज पूर्ण क्षमतामा चलाउन थालेका छन् । अहिले अधिकांश गन्तव्यको अकुपेन्सी झन्डै शतप्रतिशत रहेको एयरलाइन्स कम्पनीहरू बताउँछन् ।
यात्रुको चाप बढेसँगै हवाई भाडादर पनि वृद्धि भएको छ । हवाई भाडा सार्वजनिक यातायात (बस, माइक्रो)को जस्तो निश्चित नहुने र यात्रुको चापको आधारमा तय हुने भएकाले यात्रु बढ्दा भाडा पनि बढेको हो ।
हवाई कम्पनीहरुले न्यूनतम भाडा तोके पनि अहिले सो भाडादरमा टिकट पाउने अवस्था नै छैन । अग्रिम बुकिङ गर्दा समेत न्यूनतम भाडादरमा टिकट पाइँदैन । नयाँ वर्षको सुरुदेखि यात्रुको चाप बढ्दा भाडादर पनि सोही अनुसार उच्च भएको छ । छोटो समयमा गन्तव्यमा पुग्नका साथै सडक यातायात भरपर्दो र व्यवस्थित नहुँदा मानिसहरूको रोजाइमा हवाई यात्रा पर्ने गरेको छ ।
यात्रुको चापले आन्तरीक उडानमा समयमै न्यूनतम भाडामा सिट नपाइने अवस्था भएको एयरलायन्स कम्पनीहरूले बताएका छन् ।
जहाज पूर्ण क्षमतामा चलेका छन्
हाल एयरलाइन्स कम्पनीहरूले उडान थप्न पाएका छैनन । नेपाल नागरिक उड्डयन प्राधिकरणले एयरलाइन्सहरूलाई सर्ट सिष्टममा उडानको अनुमति दिएका कारण हवाई कम्पनीहरूले थप उडान थप गर्न नपाएका हुन् ।
बुद्ध एयरका प्रवक्ता अधिकारी दीपेन्द्र कर्ण यात्रुहरूको संख्या बढेकोले विमान पूर्ण क्षमतामा उडिरहेको बताउँछन् । ‘यात्रुहरूको आवतजावत राम्रो छ । अहिले बुद्ध एयरलेले मात्रै दैनिक ८ हजार बढी यात्रुहरू ओहोरदोहोर गराइरहेको छ,’ उनले भने, ‘हामीले ७३ वटा स्लर्ट पाएका छौँ, त्यही अनुसार उडान गरिरहेका छौँ ।’
हाल बुद्ध एयरलाइन्सले १६ वटा जहाँज मार्फत आन्तरिक उडान गरिरहेको छ । यती एयरलाइन्सका सुरक्षा प्रमुख सुदर्शन बर्तोला एयरलाइन्समा अकुपेन्सी बढे पनि इन्धनको मूल्य वृद्धिले असर गरेको बताउँछन् ।
‘अकुपेन्सीको अवस्था ठीकै छ, तर इन्धनको मूल्य वृद्धिले भाडा बढेको छ । भाडा बढेपछि यात्रुहरू चढ्न मान्दैनन,’ उनले भने । हाल यति एयरलाइन्सले दैनिक ५ वटा जहाज मार्फत २५ वटा उडान गरीरहेको उनले बताए ।
पछिल्लो समय आन्तरिक पर्यटकहरू बढ्दा कोरोना महामारीले ठप्प बनेको पर्यटन तथा होटल व्यवसाय पुरानै अवस्थामा फर्किन थालेका छन् । अन्तर्राष्ट्रिय रूपमा बढेको इन्धनको मूल्य वृद्धिले सवारी साधनदेखि सबैको दैनिकीसम्म असर परेको छ ।
रुस र युक्रेन युद्धका कारण आगामी दिनहरूमा पेट्रोलियम पदार्थ लगायत हवार्ई इन्धनको मूल्य अझै बढ्ने आकलन गरीएको छ । जसको प्रत्यक्ष असर भाडा वृद्धि भएर सर्वसाधारण तथा उपभोक्तामा पर्ने देखिन्छ ।
१५ हजारसम्म पुग्यो भाडा
यात्रुहरूकोे चाप बढेसँगै अधिकांश गन्तव्यको भाडा दुईदेखि चार गुणासम्म बढेको छ । हवाई कम्पनीहरूले न्यूनतम भाडादर तोके पनि सो मूल्यमा टिकट पाइने अवस्था छैन । अधिकांश गन्तव्यको टिकट अधिकतम मूल्यमा किन्नु पर्ने अवस्था छ ।
सामान्य अवस्थामा २ देखि २ हजार ५०० रुपैयाँसम्म पाइने काठमाडौं पोखराको भाडा अहिले ४ हजार २४५ देखि ६ हजार १४५ रुपैयाँसम्म पुगेको छ ।
त्यसैगरी, सामान्य अवस्थामा ६ हजारदेखि ८ हजारसम्म पाइने काठमाडौँ–धनगढीको भाडादर अहिले ७ हजारदेखि १५ हजार २२० रुपैयाँसम्म पुगेको छ ।
त्यस्तै, काठमाडौँ– भरतपुरको न्यूनतम भाडा ३७२५ रुपैयाँदेखि अधिकतम ४३२५ पुगेको छ ।यसैगरी, ३ हजार ५०० हाराहारी रहेको काठमाडौं–नेपालगञ्जको भाडा ५ हजार ३०० देखि १२ हजार ५७० रुपैयाँ पुगेको छ ।
यस्तै, काठमाडौं–भैरहवा ३ हजार ७५० देखि ७ हजार ६७५ सम्म, विराटनगर ४ हजार ३०० देखि ९ हजार ८५ सम्म, काठमाडौं–लुक्ला ५ हजार ८७० देखि ९ हजार ४१०, पोखरा–जोमसोम ५ हजार ५४ देखि ७ हजार ५४ रुपैयाँसम्म पुगेको छ ।
त्यस्तै, नेपालगञ्ज–ताल्चाको भाडा ७ हजार ३४० देखि ९ हजार ८९५ सम्म, नेपालगञ्ज–जुफाल ६ हजार६६५ देखि ९ हजार ८१५ रुपैयाँसम्म पुगेको एयरलाइन्स कम्पनीहरूले जनाएका छन् ।