काठमाडौं । यो साता सेयर बजारमा तीव्र उतरचडाव देखिएको छ । साताको सुरुका दुई दिनमा ३४ अंकले घटेको बजार पछिल्ला दुई दिनमा ४९ अंकले बढेको छ ।
मंगलबार करिब २७ अंकले बढेको बजार आजपनि दोहोरो अंकले नै बढेको छ । कारोबार रकममा पनि करिब ९ करोडले बढोत्तरी आएको छ ।
आज सेयर बजार मापक सूचक नेप्से २२.६८ अंकले बढेर ११७३.४२ अंकमा पुगेको छ । आज १७१ कम्पनीको ४७ करोड ६८ लाख ३३ हजार ८४७ रुपैयाँको कारोबार भएको छ । १६ लाख ४५ हजार ८७७ कित्ता सेयर खरिदबिक्री भएका छन् ।
आज कारोबार भएका १७१ कम्पनीमध्येमा १३८ कम्पनीको सेयर मूल्य बढेको छ । मंगलबार २२ वटा कम्पनीको मात्र सेयर मूल्य घटेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ ।
कारोबार भएका १२ वटा समूहमध्येमा व्यापार समूह बाहेक अरु सबै समूहको सूचक बढेका छन् । व्यापार समूहको सूचक स्थिर रहेको छ भने जीवन बीमा समूहको सूचक सबैभन्दा धेरै १७१.९ अंकले बढेको छ । निर्जीवन बीमा समूहको सूचक १४३.०८ अंकले बढेको छ भने वाणिज्य बैंक समूह पनि १८.७ अंकले उकालो लागेको छ ।
कारोबार रकमको आधारमा शिबम् सिमेन्टको सेयर शीर्ष स्थानमा रह्यो । यसको ६ करोड २४ लाख २७ हजार ७९३ रुपैयाँको कारोबार भएको छ ।
कारोबारकै आधारमा सिद्धार्थ बैंक र नेपाल बैंकको सेयर क्रमशः दोस्रो र तेस्रोमा रहेका छन् । सिद्धार्थको ४ करोड ४८ लाख र नेपाल बैंकको २ करोड ६० लाख रुपैयाँभन्दा बढीको सेयर खरिद–बिक्री भएको छ ।
आज तीन कम्पनीको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ। सिन्धु विकास बैंकको ठ्याक्कै १० प्रतिशतले बढेको छ भने समता माइक्रोफाइनान्स, र रिडि हाइड्रोपावरको सेयरमूल्य करिब १० प्रतिशतले बढेको छ । यता कर्णली डेभलपमेन्ट बैंकको सेयर मूल्य भने सबैभन्दा धेरै ४.५४ प्रतिशतले घटेको छ ।