स्टार्टअप्समा सहकार्य गर्न महासंघ र कोरियन एजेन्सी कोस्मे बीच सम्झौता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र कोरिया एसएमइज एण्ड स्टार्टअप्स एजेन्सी बीच साना तथा मझौला उद्यम व्यवसायमा सहकार्य गर्ने उद्देश्यले एक समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

 

समझदारीपत्रमा महासंघका अध्यक्ष शेखर गोल्छा र कोरिया एसएमइज एण्ड स्टार्टअप्स एजेन्सीका उपाध्यक्ष मुन ह्वान किमले शुक्रबार हस्ताक्षर गरे । समझदारीपत्र हस्ताक्षर कार्यक्रम भर्चुअल माध्यमबाट सम्पन्न भएको थियो ।

 

विशेषगरी अन्तराष्ट्रिय बजारमा दुवै देशका साना तथा मझौला व्यवसायको प्रतिस्पर्धी क्षमता विकासका लागि नीतिगत सुधारमा पहल, विज्ञता तथा सूचना आदान प्रदान र आर्थिक व्यवसायिक सहयोग अभिवृद्धि गर्ने समझदारीको मुख्य उद्देश्य रहेको छ ।

 

साना तथा मझौला व्यवसायलाई युग सुहाउंदो रूपमा विकास गरी त्यसमार्फत दुवै देशका जनताको आर्थिक सामाजिक विकासमा सहयोग पुग्ने विश्वास गरिएको छ । एसएमइज र स्टार्टअप्सको अवसर तथा सम्भाव्यता अध्ययन, अध्ययन भ्रमण, इन्कुवेशन सेन्टर स्थापना, प्रविधि तथा लगानी आकर्षण, साना तथा मझौला उद्यमीहरू र स्टार्टअप्सलाई नीतिगत सुधारमा काम गर्न सक्ने गरी क्षमता विकासमा जोड दिइने छ ।

 

समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई संवोधन गर्ने क्रममा महासंघका अध्यक्ष गोल्छाले एसएमईज र स्टार्टअप्सको विकासमा यो समझदारीले एउटा महत्वपूर्ण आधार तयार गर्ने विश्वास व्यक्त गर्नुभयो । साथै यसको अक्षरस कार्यान्वयनमा महासंघको प्रतिवद्धता पनि जनाए ।

 

अध्यक्ष गोल्छाले महासंघले ५० स्टार्टअप्स ५० लगानीकर्ता कार्यक्रम सुरुवात गरेको जानकारी दिँदै नेपालमा स्टार्टअप्स र एसएमइज क्षेत्रमा लगानी गर्न कोरियन लगानीकर्तालाई आग्रह समेत गरे ।

 

कोरिया एसएमइज एण्ड स्टार्टअप्स एजेन्सीका उपाध्यक्ष मुनले महासंघसंग सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गरे । कोरियाले एसएमइज र स्टार्टअप्समा हासिल गरेको अनुुभव आदान प्रदान गर्न र सहकार्यमा महासंघसंग नजिकमा रहेर कार्यगर्ने प्रतिबद्धता जनाए ।

 

बालेन शाहको २८ बुँदे घोषणापत्र : सडकको खाल्डा पुर्न एम्बुलेन्सदेखि बहुतले पार्किङसम्म (पूर्णपाठ) Read Previous

बालेन शाहको २८ बुँदे घोषणापत्र : सडकको खाल्डा पुर्न एम्बुलेन्सदेखि बहुतले पार्किङसम्म (पूर्णपाठ)

शिखर इन्स्योरेन्सको ७८ हजार कित्ता सेयर १०० रुपैयाँमै किन्ने अवसर ! Read Next

शिखर इन्स्योरेन्सको ७८ हजार कित्ता सेयर १०० रुपैयाँमै किन्ने अवसर !