३ विद्यार्थीले जन्माएको ‘सम्सरा क्रिएसन’, जसले पुराना कपडाबाट बनाउँछ नयाँ झोला र कपडा

Advertisement Section

काठमाडौं । हामी पुराना कपडा त्यत्तिकै फोहोरका रुपमा फ्लादिन्छौं । पछिल्लो समय कपडा किन्न नसक्नेहरुले लगाउन भनेर विभिन्न ठाउँमा ‘क्लोथ बैंक’ स्थापन गरिए पनि त्यो प्रभावकारी हुन सकेन ।

 

तर, ३ विद्यार्थी भने त्यत्तिकै खेर जाने कपडालाई प्रयोग गर्दै आम्दानीको स्रोत समेत बनाउन सफल भएका छन् । यी ३ विद्यार्थीले अहिले फोहोरका रूपमा निस्कने पुराना कपडाबाट नयाँ कपडा, झोला लगायत वस्तु उत्पादन गर्दै आएका छन् । जसले व्यवसायको रूप लिन थालेको छ ।

 

वातावरणलाई कसरी स्वच्छ राख्ने भन्ने विषयमा अध्ययन गर्न रुची राख्ने कुशल अछामी, अजित भट्ट र विजय केसीको भेट काठमाडौं यूनिभर्सिटिमा भयो । र, सोही भेट अहिले एउटा सार्थक योजनाका रुपमा सफल हुँदै गएको छ ।

‘मास्टर्स इन डेभलपमेन्ट स्टडिज’ का लागि २०१८ मा युनिभर्सिटी पुगेका उनीहरू रिसर्च मेथोलोजि पढाइका क्रममा के विषयमा रिसर्च गर्नेभन्दा फोहोर व्यवस्थापनलाई रोजेका थिए । उक्त समयमा ओपन डम्पिङ साइटको धेरै चर्चा चलेका कारण उक्त विषयलाई रिसर्चमा राखेका थिए ।

 

पोजेक्ट वर्कबाट सुरू भयो यात्रा

 

रिसर्चका लागि कलेजमा १२ जनाको टिम बनेको थियो । उक्त समयमा सबै जना क्यान्टिनमै बसेर छलफल गर्ने गरेको कुशलले सुनाए । ‘त्यस बेला क्यान्टिनमा बसेर कुरा गरिन्थ्यो, यसरी गरिने कुराकानीका बीच ‘वेष्ट टु आर्ट’ भनेर हामीले कन्सेप्ट डेभलप गर्यौं,’ उनले चाणक्य पोष्टसँग भने ।

 

उक्त कन्सेप्ट राम्रो भए पनि एनजीओ जस्तै जाने देखेपछि इनकम समेत कसरी गर्न सकिन्छ भनेर अध्ययन सुरू गरिएको उनले बताए । तेस्रो सेमेस्टरमा आन्ट्रप्रेनरसिप भन्ने कोर्षमा बिजनेश आइडिया देखाउने क्रममा उनीहरूले ‘वेष्ट टु आर्ट’ लाई सम्सरा अफसाइग्लर्स तर्फ मोडेका थिए । अफसाइलर्सका क्रममा पाइटको झोला, खाली बोतलको ल्याम्प, पुरानो कपडाको कुसन लगायतका विभिन्न सामग्री उनीहरूले बनाएर कलेजमा प्रस्तुत गरेका थिए ।

 

सम्सरा अफसाइग्लर्सको नाममा फोहोरलाई ‘क्रियटिभिटी’ बाट केही बनाउने लाग्ने क्रममा साथीहरू छुट्दै गए । १२ जनाको साथी ६ जनामा घट्यो । क्यान्टिनमा काम गर्दै कुरा गर्नेगरेका उनीहरू फोहोरबाट बनाइने सामग्रीका बारेमा छलफल गर्ने गर्थे ।

सुरूमा टेक्स्टाइलका फोहोरबाट के के गर्न सकिन्छ भनेर पेलेका कपडाबाट कुसन बनाउन थालेका उनीहरूले त्यसबाट खासै नाफा कमाउन भने सकेका थिएनन् । सामान्य पारिवारबाट रहेका उनीहरूले समाज सेवा जस्तै गर्न सम्भव थिएन त्यसपछि त्यसलाई बजारसम्म पुर्याउन के गर्नुपर्छ भनेर अध्ययनतर्फ लागेका थिए ।

 

आफ्नै घरमा पुराना सामान थुपार्दै काम सुरू

 

कलेज सकिएपछि सबै अन्यत्र लागे ३ जना मात्र बाँकी रहे । कलेज पछिको ७/८ महिना उनीहरूले फोहोरबाट क्रियटिभ सामान बनाउनतर्फ अनुसन्धान सुरू गरेका थिए । त्यसपछि कोरोना सुरू भयो । कोरोनाले कार्यालय खोलेर चलाउने भनेको योजना २ वर्ष पछि सर्यो । कुशलकै घरमा सामान थुपार्दै अनुसन्धानलाई अघि बढाइयो ।

 

कोभिडको बीचमा लकडाउन खुल्ना साथ ३ जना साथी कच्चापदार्थका लागि ठाउँठाउँमा भौतारिने गर्थे । कोभिडका बीचमा उनीहरूले स्टार्टअपलाई ग्रुमिङ गर्ने कार्यक्रमहरूमा सहभागिता जनाउन थालेका थिए । ‘इन्टिगेसन’ नामक कार्यक्रममा उनीहरूले भाग लिएका थिए ।

 

४० वटा व्यवसायका विषयलाई लिएर प्रतिस्पर्धा गर्दै अध्ययन गरेका उनीहरूले पछि बिल्ंक भेन्चरले प्रदान गरको उद्यमी युवा च्यालेन्जमा समेत सहभागिता जनाएका थिए । उक्त कार्यक्रममा सहभागि भएका २०० बिजनेसर्सहरू मध्ये १५ जनाको सर्टलिस्टमा पर्न सफल भएका थिए ।

 

उक्त कार्यक्रममा ३ जनाले प्रतियोगिता जितेका थिए । सो मध्ये एक सम्सराका ३ जना यी साथीहरू समेत रहेका थिए । भारतीय कम्पनी गराएको इनोप्रेनर्स आइडिया कार्यक्रममा दक्षिण एसियाको ५ सय जना छनोट भएका थिए । उनीहरू यस कार्यक्रममा पनि सहभागी भएका थिए ।

 

लेवन आइडियाज भन्ने कार्यक्रममा उनीहरू टप ५ मा परेका थिए । ब्रिटिस काउन्सिल र काठमाडौं यूनिभर्सिटीले गरेको ‘कप २६ इनोभेसन आइडिया’ नामक कार्यक्रममा उनीहरूको काम टप ३० मा परेका थियो ।

२०२१ नोभेम्बर मा औपचारिक रूपमा ललितपुरको पुलचोकमा कार्यालय सुरू गरिएको थियो । कार्यालय सुरू गर्दा पुरानो कपडालाई ’अपसाइकल’ (पुरानो कपडालाई पेलेर नयाँ कपडाको रूपमा विकास गर्ने) गर्ने योजना बनाए । सोही अनुसार उनीहरुले उत्पादन सुरू गरे ।

 

सुरूआती समयमा उपभोक्तले उनीहरूले उत्पादन गरेका कपडा किन्न समेत रुचाएका थिएनन् । क्रमशः उत्पादित वस्तु विक्री हुन थालेपछि उनीहरूलाई हौसला मिल्दै गयो ।

 

‘यस्तो क्रिएटिभ कुरा मान्छेले देख्ना साथ किन्छन् जस्तो लागेको थियो, तर सोचे जस्तो भएन, बिकाउनै गाह्रो भएको थियो,’ अछामीले भने । त्यसपछि प्लास्टिकको फोहोरबाट बट्टा, अल्लो, हेम, कटनहरू जम्मा गर्दै त्यसबाट झोला बनाउँदै अघि बढेका उनीहरूले सुरूमा ५२ हजार रकम लगानी गरेका थिए ।

 

पढाइका क्रममा सुरू गरेको हुँदा खाजा खर्चबाट बचाएर २/३ हजार रुपैयाँ गर्दै लगानी गर्नुपरेको अनुभव अजित भट्टले सुनाए । ५४ हजार लगानीबाट सुरू भएको सम्सरा क्रिएसन जेरो लगानीमा चल्दै गरेको उनी बताउँछन् । ६ महिनादेखि संचालनमा आएको सम्सरा क्रिएसनको दर्ता भने २ वर्ष अघि नै भएको थियो ।

 

कोभिडमै घुम्दै अध्ययन

 

घुम्दै फिल्डमा जान्न थालेपछि कस्ता सामान कहाँ पाउछ, कसरी गर्ने भनेर सिक्दै गरेको उनीहरूको फिल्ड रिसर्च भने पाल्पा हुँदै सुरू भएर ककनी, कीर्तिपुर, भक्तपुरमा आएर निश्चित भएको थियो ।

ढाका कपडाको विषयमा अध्ययन गर्न उनीहरू पाल्पा पुगेका थिए । नेचुरल डाइङ गर्ने विषयमा अध्ययन गर्न उनीहरू ककनी पुगेका थिए । पछि उपत्यका भित्रै भक्तपुरमा मेड इन नेपाल फ्याब्रिक पाइने थाहा भएपछि उनीहरू सिलाइ बुनाइका लागि मान्छे खोज्न थालेका थिए । सिलाइका लागि कुर्था सिलाउने मान्छे मात्र पाउने भए पनि उक्त व्यक्तिले झोला बनाउन नसक्ने हुँदा अन्तिममा थानकोटको दिदी भेटिएको थियो । थानकोटसम्म सामान आफैं पुर्याउन जानुपर्ने र लिन पनि आफैं जानुपर्ने हुँदा झनजटिलो भएको उनले बताए ।

 

उक्त समयमा समय धेरै खर्चिनु परेको उनले बताए । ‘सुरूमा एकै छिनमा बिक्छ जस्तो लाग्थ्यो, इको फ्रेन्डली, नयाँ सामान देखेपछि मान्छेले किन्छ भन्ने थियो । आफूले गरेको डिजाइन पनि खत्रा लाग्ने रहेछ तर, उपभोक्ताको सोच महत्वपूर्ण हुन्छ भन्ने पछि मात्र थाहा पायौँ ।’

 

पुरानो कपडाबाट नयाँ कपडा बनाउन प्रक्रिया धेरै लामो र झन्झटिलो भएको थियो । धुने, काट्ने, सेनिटाइज गर्ने पेल्ने अनि थान्का बनाउने, डिजाइन गर्ने र कपडा सिलाउने धेरै प्रक्रिया हुँदा समय धेरै खर्चिनुपर्ने भएको थियो ।

 

सुरूमा ५०/६० वटा झोला बनाएर बेच्दा खासै राम्रो प्रतिक्रिया नआएको अनुभव गरेका उनीहरूले कपडामा गुणस्तर ल्याउन अझै अध्ययन बढाएका थिए । घरघरबाट पुराना जिन्सका पाइट संकलन गरेका उनीहरूले आफूले बनाएको पहिलो उत्पादन ‘फेष्ट’ भन्ने गुगलको कार्यक्रमाबाट प्रस्तुत गरेका थिए । डीएबी कलेजमा भएको उक्त फेष्ट कार्यक्रममा १०० जनालाइ स्टल राख्ने मौका दिइएको थियो । उक्त क्रममा उनीहरूले आफ्नो जिन्सका झोलाहरू प्रदर्शनी गरेका थिए । उक्त प्रदर्शनीमै पुराना पाइटहरू संकलन समेत गरेका थिए ।

हाल उनीहरूले मुख्य रूपमा पुराना कपडाबाट बनेका ब्यागलाई अघि बढाउने सोचेका छन् । उनीहरूले पुराना कपडाका मात्र नभई हेम र
अर्ग्यानिक  कटनबाट पनि झोला बनाउने गरेका छन् । प्लास्टिकबा बन्ने बकेट लगायतका सामग्री उनीहरूले इन्द्रचोकका दिदीहरूलाई बनाउन दिने गरेका छन् । प्लास्टिकका बकेट बिकाउन निकै हम्मे परेको खल्लो अनुभव छँदैछ ।

 

झोलामा २० प्रतिशत मार्जिन राखेर बेच्ने गरेको सम्सरामा ७५० देखि १ हजार ८५० रुपैयाँसम्मको झोला पाइन्छ । हालै मात्र सम्सराले गिफ्ट प्याकेज समेत ल्याएको छ । नेपाली कागजबाट बनेका उक्त गिफ्ट प्याकेजमा उनीहरूले नेपालमै बनेका कागज तथा प्लास्टिकका सामग्रीहरूलाई आकर्षित ढंगले समावेश गरेका छन् । यसका साथै उनीहरू ह्याण्डमेड बिजनेसमा लागेका अन्य साना संस्थाहरूसँग समेत सहकार्य गरेर अघि बढिरहेका छन् ।

 

पोखरामा व्यापार विस्तारदेखि निर्यातसम्मको योजना

 

पुराना कपडाबाट बनाइने यस्ता झोलालाई यी ३ साथीले पोखरामा समेत व्यापार विस्तार गर्ने सोचेका छन् । पोखरामा उत्पादन पठाउने कोशिसमा रहेका उनीहरूले अहिलेसम्म ५०० बढी झोला उत्पादन गरेका छन् । २०० बढी विक्री गरिसकेका छन् । जसमा ३० प्रतिशत रिपिट बाएर पनि रहेको उनले बताए ।

 

सम्सरामा उत्पादित वस्तु इन्ष्टाग्रामबाट अनलाइन विक्री भइरहेको छ । पछिल्लो समय उपभोक्ताबाट प्रतिक्रिया राम्रो आउन थालेको कुशल बताउँछन् । यस्तै उत्पादित वस्तुलाई निर्यातको पनि योजना बनाइरहेका उनीहरू फन्डको खोजीमा छन् ।

फन्ड पाए देशमै वस्तु उत्पादन गरी निर्यात गर्ने तयारीमा रहेको अजितले बताए । ‘वातावरण मैत्री मानिसहरू यस्तो सामानमा चासो देखाउने रहेछन्, तर, पुरानो कपडाबाट बनेको भन्नासाथ अलि आनाकानी गर्छन्,’ उनले भने ‘डिजाइन राम्रो भयो भने अहिले खोजीखोजी पनि आउनुहुन्छ ।’

 

यस्तै, उनीहरू घरेलु उद्यमीहरूको उत्पादन किनेर विक्री गर्ने गरेका छन् । हाल सम्सराले झोला, टोपी, गिफ्ट ह्याम्पर लगायतका वस्तु उत्पादन गरिरहेको छ । मानिसहरूले आफ्नै जिन्सका कपडा ल्याएर यस्तो खालको झोला बनाइदिनु भन्दै डिजाइन लिएर आउने पनि गरेको उनले बताए ।

 

६५ जनालाई रोजगार, ३०० बढीलाई तालिम

 

कीर्तिपुर र भक्तपुरमा तानमा कपडा बुन्ने धेरै धरेलु कामदार भएकाले सोही स्थानबाट कपडा बनाउन दिएर ल्याउने गरिएको छ । उक्त तानबाट कपडा बनेपछि त्यसमा डिजाइन हाल्नका लागि छुट्टै डिजाइनरहरू पार्टटाइम जबको रूपमा राखिएको छ ।

तानबाट बन्ने कपडाको स्याम्पल टेष्ट भएपछि सिधै उ्त्पादन गर्ने गरिन्छ । उक्त कपडालाई पछि सिलाएर झोला, टोपि बनाइन्छ । हाल सम्सराले प्रत्यक्ष अप्रत्यक्षरूपमा ५० जना महिला उद्यमीलाई रोजगार प्रदान गरेको छ । थप १५ जना डिजाइनरलाई पनि छुट्टै पार्टटाइम रोजगार दिएको छ ।

 

यस्तै सम्सराले विभिन्न कार्यक्रम आयोजना गरी तालिम पनि दिने गरेको छ । हालसम्म सम्सराले विभिन्न कम्पनी तथा आयोजनासँग सहकार्य गरी ३०० जनालाई शिपको तालिम दिइसकेको छ । लम्जुङ, कास्कीमा समेत तालिम दिन पुगेका उनीहरूले कोभिडका समयमा भर्चुअल मिटिङबाट समेत तालिम दिएका थिए ।

 

Advertisement Section
जेठ २ देखि कुवेत-भैरहवा सिधा उडान, साताको ३ उडान हुने Read Previous

जेठ २ देखि कुवेत-भैरहवा सिधा उडान, साताको ३ उडान हुने

मेरोअटो 'मोटर र्‍याली २' सम्पन्न, ५० वटा कार र १३० जना सहभागी Read Next

मेरोअटो 'मोटर र्‍याली २' सम्पन्न, ५० वटा कार र १३० जना सहभागी