कुनै अमुक व्यक्तिको बोलीकै भरमा मात्र बढ्ने/घट्ने कस्तो खालको हो नेपाली सेयर बजार

विश्वका अधिकांश विकसित देशका सेयर बजार माथिल्लो विन्दूमा पुग्नुको पछाडि धेरै कारणहरु रहेका हुन्छन् । सेयर बजार प्रति सरकारले हेर्ने नजर, अवलम्वलन गरेका बजारमुखी नीति, नियमन, बजारमा सेयरको माग र आपूर्ति , लगानीको वातावरण, लगानीकर्ताको सेयर सम्बन्धी ज्ञान र पहुँच, मनोविज्ञान, नविनतम सूचना तथा प्रविधिको प्रयोग लगायत बजार विकासका प्रमुख आधार हुन् ।

 

सेयर बजार सधैं बढी नै रहन्छ भन्नेपनि हुँदैन र कहिल्यै घट्नै हुन्न भन्ने पनि होइन । यसको आफ्नै नियम हुन्छ । बजारमा सेयरको आपूर्ति कम, बैंकको ब्याजदर न्यून, देशको समग्र आर्थिक अवस्था सकरात्मक रहेको बेला, लगानीकर्ताको मनोवल बलीयो भएको बेला बजार बढ्छ ।

 

यस्तै, बजारमा सेयरको आपूर्ति अत्याधिक, बैंकको ब्याजदर बढी, देशको राजनीतिक र आर्थिक अवस्था नकरात्मक, लगानीकर्ताको मनोबल गिरेको अवस्थामा घट्छ । बजार बढ्नु/घट्नुमा एउटैमात्र कारण रहेको हुँदैन । यसलाई विविध कारणले प्रभाव पारेको हुन्छ ।

 

तर, विश्वमा नेपाल मात्र एउटा यस्तो देश हो जहाँको पूँजी बजार आधारभूत तत्वको विकासको आधारमा भन्दा पनि नियामक निकाय र तिनको बागडोर सम्हाल्ने व्यक्तिको एउटा बोलिको भरमा घट्ने वा बढ्ने हुन्छ । सेयर बजार बढाउने/ घटाउने आधार भनेकै उनीहरुले बजारलाई हेर्ने नजर र बोल्ने बोली हो भन्दा युक्तिसंगत नहोला । यसकै एउटा उदाहरण हो अर्थमन्त्री डा. युवराज खतिवडाले दिएकोे सेयर बजार सम्बन्धी अभिव्यक्ति ।

 

खतिवडाले अर्थमन्त्रीको पदभार सम्हाल्ने बेलामा नेपालको पूँजी बजार सूचक करिब १५ सय अंकको हाराहारीमा थियो । पदभार सम्हाले लगत्तै उनले विभिन्न सार्वजनिक कार्यक्रममा सेयर बजार सम्बन्धी नकरात्मक दृष्टिकोण अभिव्यक्त गरे । अर्थशास्त्रको ज्ञाता मानिने खतिवडाले पूँजी बजारलाई अनुत्पादक क्षेत्रको संज्ञा दिए । अनि त्यसयता बजार लगातार घट्दोक्रममा रह्यो । र, गत फागुनमा न्यूनतम विन्दु ११ सयको हाराहारीमा आइपुग्यो ।

 

अर्थतन्त्रकै प्रमुख सूचक मानिने पूँजी बजार निरन्तर घट्दै गएपछि खतिवडाको चौतर्फी विरोध भयो । उनलाई लगानीकर्ताले सेयर बजार ध्वस्त पार्न लागेको जस्ता आरोप पनि लगाए । अर्थमन्त्रीले सेयर बजार विकास, विस्तारमा अवरोध मात्र खडा गरेका छन् भन्नु पनि त्यति न्याय संगत नहोला । तर, बजार विकासको लागि जुन ढंगले आधार खडा गर्नु पर्दथ्यो, त्यसमा चाँही उनी चुकेकै हुन् ।

 

जब विविध कारणले बजार घट्न थाल्छ अनी लगानीकर्ताहरु धारे हात लगाएर नियामक निकायका व्यक्तिलाइ सराप्न थाल्छन् । एकाध बाहेक नेपाली सेयर बजारमा रहेका अधिकांश लगानी कर्ताको सोचाइ कमजोर वित्तीय अवस्था भएको कम्पनीको सेयर  किनेपछि बढ्नैपर्छ भन्ने मानसिकता बाट ग्रस्त छन् ।

 

सायदै यीनै कुराको मनन गरेर हुनसक्छ, उनले पूँजी बजार सम्बन्धी आफ्नो हेर्ने दृष्टिकोण फेरे । सोमबार कर्मचारी संचय कोषको ५८ औं वर्षमा प्रवेश गरेको अवसरमा आयोजित कार्यक्रममा उनले नयाँ लगानीकर्तालाई लगानी गर्ने उपयुक्त अवसर रहेको बताएका थिए । उनको सो सकरात्मक अभिव्यक्तिले बजारमा एकाएक उछाल नै ल्यायो ।

 

लगातार दोहोरो अंकले घटिरहेको बजार एकै दिन करिब २७ अंकले बढ्यो । यसबाट पनि पुष्टि हुन्छ कि नेपाली सेयर बजार एक बोलिको भरमा कसरी बढ्छ अनी कसरी घट्छ । यसअघि पनि यस्ता दृष्टान्त नरहेका होइनन् । पूर्वप्रधानमन्त्री तथा अर्थमन्त्री बाबुराम भट्टराईले पूँजी बजारलाई ‘जुवाघर’ को संज्ञा दिँएपछि पनि बजार ध्वस्तै भएको थियो ।

 

यहाँ सम्पूर्ण दोष जिम्मेवार व्यक्तिको अभिव्यक्तिको मात्र छैन् । पूँजीबजारको सूचक घटाउने बढाउने सवालमा सबैभन्दा ठूलो दोषी त लगानीकर्ता हुन् । अधिकांश लगानी कर्ता बोलीकै लहैलहैका आधामा महँगोमा जस्तो पायो त्यस्तो कम्पनीको सेयर किन्छन् । न उनीहरु सेयर किन्ने बेला विज्ञहरुको राय सल्लाह लिन्छन् न कम्पनीको आधारभूत तथ्यहरुको अध्ययन, विश्लेषण, गरेरै सेयर किन्छन् ।

 

जब विविध कारणले बजार घट्न थाल्छ अनी लगानीकर्ताहरु धारे हात लगाएर नियामक निकायका व्यक्तिलाइ सराप्न थाल्छन् । एकाध बाहेक नेपाली सेयर बजारमा रहेका अधिकांश लगानी कर्ताको सोचाइ कमजोर वित्तीय अवस्था भएको कम्पनीको सेयर उनीहरुले किनेपछि बढ्नैपर्छ भन्ने मानसिकता बाट ग्रस्त छन् ।

 

लगानीकर्ताको दिमागमा मैले कस्तो कम्पनीको सेयर किनेको छु भन्दा पनि मैले किनेको कम्पनीको सेयर बढ्नै पर्छ र बढ्न नसकेमा यसको दोषी अर्थमन्त्री, धितोपत्र बोर्ड आदि हुन्न भन्ने अमिट छाप छ । यस्ता मनोवृत्ति भएका लगानीकर्ता बजार विकास र विस्ताको लागि कहिल्यै निको नहुने रोगका लक्षण जस्तै हुन् ।

 

२०७३ सालमा नेपालको पूँजी बजारले ऐतिहासिक बिन्दु १८८१ चुम्दा सेयर बजारको विकासका आवश्यक पूर्वाधार, नीति, नियम, प्रविधिको प्रयोग अहिले भन्दा निकै कम थियो । तर त्यसबेला बजारले किन छलाङ मार्यो अहिले किन बढ्नै सकेको छैन् ? यसबारेमा लगानी कर्ताले अध्ययन, अनुसन्धान नगरी नियामक निकायलाईमात्र दोष देखाएर आफूलाई डुबायो, सेयरको भाउ बढेन भन्नु कत्तिको युक्तिसंगत होला ।

वायुसेवा निगमद्धारा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने घोषणा Read Previous

वायुसेवा निगमद्धारा ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुट दिने घोषणा

दशैँअघि नै २५ मेगावाट केन्द्रीय प्रसारण लाइनमा जोडिने Read Next

दशैँअघि नै २५ मेगावाट केन्द्रीय प्रसारण लाइनमा जोडिने