काठमाडौं । सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्थाको प्राथमिक साधरण सेयर (आइपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ ।
लघुवित्तले वैशाख २ गतेदेखि विक्रीमा ल्याएको प्रतिकित्ता १०० रुपैयाँ दरले ३ करोड ९५ लाख ३३ हजार ६०० रुपैयाँ बराबरको ३ लाख ९५ हजार ३३६ कित्ता आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
निष्काशित कुल सेयरमध्ये ६ हजार ८२ कित्ता लघुवित्तका कर्मचारीहरुका लागि र १९ हजार ७६६ कित्ता सामूहिक लगानी कोषहरुलाई छुट्याइएको छ । बाँकी ३ लाख ६९ हजार ४८८ कित्ता सेयरका लागि सर्वसाधरणले आवेदन दिन पाउनेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन्। लघुवित्तको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट सीआस्वा अनुमति प्राप्त सम्पूर्ण बैंक तथा वित्तीय संस्था, तिनका शाखा कार्यालयका साथै मेरोसेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन्।
लघुवित्तको आइपीओ निष्काशन तथा विक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आइपीओलाई क्रेडिट रेटिङ्ग एजेन्सी केयर रेटिङ्गस नेपालले ‘केयर एनपी डबल बी माइनस इस्युअर’ रेटिङ्ग दिएको छ । यसले कम्पनीको समयमै वित्तीय दायित्व पूरा गर्न सक्ने क्षमता मध्यम जोखिम रहेको जनाउँदछ ।
हाल ८ करोड २१ लाख ८ हजार २४० रुपैयाँ चुक्ता पूँजी रहेको लघुवित्तको आइपीओ बाँडफाँटपछि १२ करोड १६ लाख ४१ हजार ८४० रुपैयाँ पुग्नेछ ।