जुर्मुराउँदै पर्यटन व्यवसाय : बढ्दै विदेशी पर्यटक, उत्साही हुँदै व्यवसायी

"पर्यटकको खर्च बढ्यो"

काठमाडौं । कोरोना महामारीले ठप्पप्रायः बनेको पर्यटन व्यवसाय जुमुर्राउन थालेको छ । कोरोनाको प्रभाव कम भई विदेशी पर्यटकको आवागमन बढ्न थालेसँगै पर्यटन व्यवसाय लयमा फर्किन थालेको हो ।

 

साथै, आन्तरिक पर्यटकको चहलपहले पनि यस क्षेत्रलाई चलायमान बनाएको छ । सन् २०२० को सुरूदेखि महामारीको संक्रमण फैलिन थालेपछि विदेशी पर्यटकहरूको संख्या घट्न थालेको थियो ।

 

महामारी फैलिने जोखिमले अन्तर्राष्ट्रिय क्षेत्रमै लगाइएको प्रतिबन्ध र लकडाउनले करिब २ वर्ष शून्य बनेको पर्यटन व्यवसाय पछिल्लो समय चलायमान भएको छ । अध्यागमन विभागका अनुसार हाल दैनिक २ हजार बढी विदेशी पर्यटकहरू नेपाल आउन थालेका छन् । जसकारण होटल तथा रेष्टुरेन्ट व्यवसायीहरूले समेत केही राहत महसुस गर्न थालेका छन ।

 

दशैँदेखि आन्तरिक पर्यटकहरूको चहलपहल बढ्न थाले पनि विदेशीहरूको आवागमन भने बढ्न सकेको थिएन् । पर्यटन व्यवसाय नेपाली अर्थतन्त्रको मुख्य क्षेत्र मध्येको एक हो ।

 

विदेशी पर्यटकको संख्या बढ्न् नसक्दा विदेशी मुद्राको संचितिमा समेत दबाब पर्न थालेको थियो । पर्यटन आवागमनमा भएको वृद्धिले डलर संचिति बढ्नुका साथै समग्र होटल व्यवसायमा पनि सकारात्मक टेवा पुग्ने व्यवसायीहरू बताउँछन् ।

 

‘पर्यटकको चहलपहल बढ्दा राहत मिलेको छ’

 

झन्डै २ वर्ष ठप्प भएको पर्यटन क्षेत्र अहिले चलायमान हुँदा आफूहरूलाई ठूलो राहत मिलेको व्यवसायीहरू बताउँछन् । विदेशी पर्यटक बढ्न थालेसँगै होटल तथा रेष्टुरेन्ट, ट्राभल एजेन्सी, एयरलाइन्स कम्पनीहरू लगायतको व्यापार बढ्न थालेको छ ।व्यवसायले लय समातेसँगै व्यवसायी उत्साहित हुन थालेका छन् ।

 

नेपाल होटल व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार चुले पर्यटकहरूको आवागमन बढेसँगै होटल व्यवसाय पनि लयमा फर्किन थालेको बताउँछन् । ‘नयाँ वर्षले पर्यटकहरूको अवागमनम र आन्तरिक पर्यटकहरूको चहलपहल बढेको छ । जसले गर्दा होटल तथा रेष्टुरेन्टको व्यवसाय अहिले लयमा आएको छ,’ उनले भने ।

 

पर्यटकहरूको चहलपहल यही गतिमा रहे होटल तथा रेष्टुरेन्ट कोभिड अघिकै अवस्थामा पुग्ने उनले बताए ।अहिले होटलको अकुपेन्सी ८० प्रतिशतको हाराहारीमा रहेको उनको भनाइ छ ।

 

विदेशीले नेपालमा गर्ने खर्च पनि बढ्यो

 

महामारीपछि विदेशी पर्यटकहरूको आगमन मात्रै होइन उनीहरूले नेपालमा गर्ने दैनिक खर्चमा पनि वृद्धि भएको छ । नेपाल टुरीजम स्टाटिक्सको तथ्यांक अनुसार सन् २०१९ मा प्रतिव्यक्तिले दैनिक ४८ डलर खर्च गर्थे भने कोभिडपछि बढेर ६५ डलर पुगेको छ । यद्यपि, पछिल्लो समयको तथ्यांक भने आउन बाँकी रहेको पर्यटन बोर्डका अधिकारीहरू बताउँछन् ।

 

नेपालमा विदेशी पर्यटक आए पनि उनीहरूले यहाँ गर्ने खर्च अन्य देशको तुलनामा निकै कम रहँदै आएको छ । तर, पछिल्लो समय पर्यटकले गर्ने खर्च समेत बढ्दा नेपालको पर्यटन व्यवसायमा ठूलो राहत मिल्ने व्यवसायीहरू बताउँछन् ।

 

नेपाल पर्यटन बोर्डका अधिकृत कविन्द्र भट्ट कोभिडको समयमा खर्चको सीमा बढ्नुको कारण उनीहरूको बस्ने समय र खर्च गर्ने तरिकामा केही फरक भएको बताउँछन् । ‘कोभिडको समयमा पर्यटकहरूको खर्चगर्ने तरिकामा भएको केही पविर्तनले उनीहरूको खर्च गर्ने सीमा बढेको देखिन्छ । पछिल्लो समय सन २०२१ को तुलनामा २०२२ मा विदेशी पर्यटकहरू आउनेक्रम पनि बढेको छ,’ उनले भने ।

 

साढे ३ महिनामै १ लाख बढी विदेशी भित्रिए

 

सन् २०२२ को साढे तीन महिनामै नेपाल आउने विदेशी पर्यटकहरूको संख्या १ लाख १० हजार बढी पुगेको छ । जबकी सन् २०२१ को एक वर्षभरीमा नेपाल आउने कुल विदेशी पर्यटकहरूको संख्या १ लाख ५० हजार ९६२ थियो ।

 

अध्यागमन विभागका अनुसार २०२२ को जनवरीमा १० हजार ८१० पुरुष र ६ हजार १५७ महिलागरी कुल १६ हजार ९७५ विदेशी पर्यटकहरू आएका थिए । त्यस्तै, फेब्रुअरीमा १२ हजार २९८ पुरुष र ७ हजार ४६० महिला गरी कुल १९ हजार ७६६ पर्यटकहरू नेपाल भित्रिएको तथ्यांक छ ।

 

मार्च महिनामा २५ हजार ९८५ पुरुष र १५ हजार ९९९ महिलागरी कुल ४२ हजार विदेशी पर्यटकहरूले नेपाल आएको विभागले जनाएको छ । यसैगरी, अप्रिलमा दैनिक पर्यटक आवागमनको संख्या २ हजार बढी पुगेको अध्यागमनको भनाइ छ । यो सहित यस महिनाको १७ तारीखसम्ममात्रै ३६ हजारबढी पर्यटकहरूको आवागमन भइसकेको विभागको अनुमान छ ।

 

७३८ जनाले लिए हिमाल आरोहण अनुमति, ४० करोड रोयल्टी संकलन

 

हिमाल आरोहणका लागि आउने पर्यटकको संख्या समेत बढे्न थालेको छ । अङग्रेजी नयाँ वर्षको साढे तीन महिनामा हिमाल चढ्न ७३८ जना पर्यटकहरूले अनुमति लिएका छन् । त्यसबापत सरकारले ३२ लाख ५८ हजार अमेरिकी डलर (करिब ३९ करोड ५१ लाख)रुपैयाँ रोयल्टी प्राप्त गरेको छ ।

 

पर्यटन विभागका अनुसार यस अवधिमा सगरमाथा चढ्न २६२ जनाले अनुमति लिएका छन । त्यसवापत ३३ करोड २१ लाख रुपैयाँ रोयल्टी सरकारले प्र्राप्त गरेको छ । यसैगरी, अम्आदलम्ब हिमाल चढ्न ६५ जनाले अनुमति लिएका छन । त्यसबाट २६ हजार डलर रोयल्टी संकलन गरिएको छ । अन्नपुर्ण १ हिमाल चढ्न २६ जनाले अनुमति लिएका छन भने त्यसवापत ४६८०० डलर रोयल्टी सरकारले पाएको छ ।

 

अन्नपूर्ण ४ चढ्न ९ जना, धौलागिरी २७,कंञ्चनजंघा ६७, लोत्से ९४, र मकालु ३९ जनाले हिमाल चढ्न अनुमति लिएका छन् । अप्रिल १५ सम्म २१ हिमाल आरोहणका लागि ५८३ जना पुरुष, १५५ महिला र ९० जनाले संयुक्त गरी अनुमति लिएको विभागले जनाएको छ ।

 

नेप्सेमा लगातार उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी Read Previous

नेप्सेमा लगातार उच्च अंकको गिरावट, यी हुन् धेरै मूल्य घट्ने १२ कम्पनी

भारतले पठायो इन्धनको नयाँ मूल्यसूची, पेट्रोलको घट्यो, डिजेलको बढ्यो Read Next

भारतले पठायो इन्धनको नयाँ मूल्यसूची, पेट्रोलको घट्यो, डिजेलको बढ्यो