काठमाडौं ।नयाँ वर्ष २०७९ को पहिलो कारोबार दिन सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । वर्ष २०७८ को अन्तिम कारोबार दिन ३० अंकले बढेको नेप्से आज उच्च अंकले घटेको हो ।
गत वर्षलाई सुखद बिदाइ गरेको सेयर बजारले नयाँ वर्षलाईरातो झण्डा देखाएको हो । सूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । गत साता औसतमा दैनिक २ अर्ब कारोबार भएकोमा आज डेढ अर्बभन्दा कममा सीमित भएको छ ।
आइतबार नेप्से २९.६० अंकले घटेर २३८५.६४ विन्दुमा आइपुगेको छ । यसदिन २३३ कम्पनीको १ अर्ब ४४ करोड ७ लाख २३ हजार १८२ रुपैयाँ बराबरको ३४ लाख ७ हजार २७२ कित्ता सेयर किनबेच भएको छ ।
आज कारोबारमा आएका १३ वटै समूहको परिसूचक राताम्मे भएको छ । फाइनान्स समूह सबैभन्दा धेरै २.३२ प्रतिशतले घटेको छ । त्यस्तै, होटल र हाइड्रोपावर समूह पनि २ प्रतिशतले घटेको छ ।
आज करोबारमा आएको २३३ कम्पनीमध्ये जम्मा ३४ कम्पनीको सेयर मूल्य बढेको छ भने १८६ कम्पनीको घटेको छ । १३ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
आज नेपाल टेलिकमको सर्वाधिक कारोबार भएको छ । यसको झन्डै ५ करोड रुपैयाँकोे सेयर किनबेच भएको छ । त्यसैगरी, अरुण भ्याली हाइड्रोपावर साढे ४ करोड र ग्लोबल आइएमई बैंकको डिबेञ्चर ४ करोड बढीको कारोबार हुँदै शीर्ष तीनमा रहे ।
उच्च अंकले घटेको बजारमा नेष्डो समृद्ध लघुवित्तको सेयर मूल्यमा पोजेटिभ सर्किट लागेको छ । यसको मूल्य ठ्याक्कै १० प्रतिशतले बढेको छ ।
घट्दो बजारमा आज हिमालयन ऊर्जा कम्पनीको सेयर मूल्यमा नेगेटिभ सर्किट लागेको छ । यसका सेयरधनीले ठ्याक्कै १० प्रतिशत गुमाएका छन् ।
त्यसैगरी, इमर्जिङ नेपाल ७.५८, राष्ट्र उत्थान लघुवित्त ६.०७, सामलिङ पावर ५.६९, नयाँ सारथी लघुवित्त ५.४१, बुद्ध भूमि नेपाल ५.१९, हिमाल दोलखा र युनियन लाइफको सेयर मूल्य ५ प्रतिशतले घटेको छ । त्यस्तै, युनाइटेड इदीमर्दी, कर्णाली डेभलपमेन्ट बैंक लगायत आधा दर्जन कम्पनीको सेयरमूल्य साढे ४ प्रतिशतले घटेको छ ।